+
+
Shares

हिरोशिमा दिवसमा लुम्बिनीमा दीप प्रज्ज्वलन, वृक्षरोपण र शान्ति प्रार्थना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिरोशिमा दिवस–२०२६ को अवसरमा लुम्बिनी र सिद्धार्थनगरमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र आणविक निशस्त्रीकरणको सन्देश प्रवाह गरिएको छ ।
  • लुम्बिनी वर्ल्ड पिस फोरमले सिद्धार्थनगरको सडकको मध्यभागमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुई सयवटा फूलका बिरुवा रोपेको छ ।
  • लुम्बिनीस्थित विश्व शान्ति स्तूप परिसरमा आर्य अष्टाङ्गिक मार्गको प्रतीकका रूपमा कपुरका आठ वटा बिरुवा रोपिएको फोरमका संस्थापक अध्यक्ष बासु गौतमले बताए ।

२२ साउन, बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ ।

लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुई सय बिरुवा रोपेको छ ।

लुम्बिनीमा आयोजित ‘क्यान्डल लाइट भिजिल तथा विश्व शान्ति प्रार्थना’मा जापानको हिरोशिमा र नागासाकीमा भएको परमाणु बम विस्फोटका पीडितप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । गौतम बुद्धको जन्मस्थलबाट विश्व शान्ति, अहिंसा र आणविक निशस्त्रीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमले जनाएको छ ।

कार्यक्रम लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी–कपिलवस्तु विश्व अभियान (युरोप) र लुम्बिनी–कपिलवस्तु विश्व अभियान (अस्ट्रेलिया)को सहकार्यमा आयोजना गरिएको लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतमले जानकारी दिए ।

यस्तै लुम्बिनी वर्ल्ड पिस फोरमले सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा भैरहवास्थित सिद्धार्थ राजमार्गको सडक मध्यभागमा दुई सय वटा फूलका बिरुवा रोपेको छ ।

सिद्धार्थनगर नगरपालिका–७ अन्तर्गत बुद्ध चोकदेखि देवकोटा चोकसम्मको सडकको मिडियन आइसल्याण्डमा सयवटा असारे फूल र सयवटा बोगनभिल्लाका बिरुवा रोपिएका हुन् । सहरी क्षेत्रमा हरियाली विस्तार गर्दै सडकको सौन्दर्य बढाउने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको गौतमले बताए ।

यस्तै लुम्बिनीस्थित विश्व शान्ति स्तूप (वर्ल्ड पिस प्यागोडा) परिसरमा पनि कपुरका आठ वटा बिरुवा रोपिएका छन् । ती आठ बिरुवालाई गौतम बुद्धले प्रतिपादन गरेका आर्य अष्टाङ्गिक मार्गका आठ अंगको प्रतीकका रूपमा रोपिएको फोरमले जनाएको छ ।

हिरोशिमा दिवसका अवसरमा आयोजित यी कार्यक्रमले शान्ति र वातावरण संरक्षणलाई एउटै अभियानका रूपमा जोडेको गौतमले बताए ।

सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा पौडेल लगायतले परमाणु युद्धबाट भएको मानवीय क्षतिको स्मरण गर्दै हिंसा र युद्धको विरोध तथा शान्तिको प्रवर्द्धन र विश्व शान्तिको सन्देशसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई पनि शान्तिको आधारका रूपमा प्रस्तुत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?