२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सत्तारुढ दल रास्वपाका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष डेलिगेसन जान सुझाव दिएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद ओलीले प्रधानमन्त्रीसमक्ष डेलिगेसन गएर संसद्मा के भइरहेको छ भन्ने अवगत गराउन रास्वपा सांसदहरूलाई सुझाव दिएकी हुन् ।
‘सत्तापक्षलाई निवेदन गर्न चाहन्छु । हामीलाई यहाँ बसेर सरकारको विरोधमा समय खर्च गर्ने रहर छैन, यो हाम्रो बाध्यता हो,’ सांसद ओलीले भनिन्, ‘सरकार पक्षका सबै माननीय ज्यूहरू प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर प्रधानमन्त्रीज्यूलाई निवेदन गर्नुस् ।’
डेलिगेसन गएर रास्वपा सांसदहरूले प्रधानमन्त्री बालेनलाई के भन्ने हो भनेर पनि उनले सुझाएकी छन् ।
‘तपाईंले बोल्नुभयो, त्रुटि भयो । नेताको शक्ति भनेकै गल्ती स्वीकार गरेर उदारता देखाउने हो । त्यसमा क्षमा माग्नु परेन । त्रुटि सच्याइदिनुस् । नेपालले भारतको सीमा मिचेको छैन भनेको दिन संसद्को विरोध अन्त्य हुन्छ’, उनले भनिन् । यो कुरा प्रधानमन्त्रीलाई भेटेर भन्न रास्वपाका सांसदहरूलाई सुझाइन् ।
१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे बोलेका थिए ।
लिपुलेक–लिम्पियाधुरा सम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा भारत सरकारलाई नोट पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले जानकारी दिएका थिए ।
‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेका थिए, ‘उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
साथै, नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए ।
‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
यी विषयमा विपक्षी दलहरूले तथ्य खोजेका छन् । तर संसद्ले साढे दुई महिनासम्म प्रधानमन्त्री बालेनले यसबारे तथ्यसहितको संसद्मा स्पष्टीकरण दिएका छैनन् ।
विपक्षी दलहरूले यो विषय निरन्तर संसद्मा उठाउँदै आएका छन् । आज पनि यही विषय उठाएर विरोध जनाएका हुन् ।
सांसद ओली अगाडि बोल्ने विपक्षी दलका सांसदहरू चन्द्रमोहन अधिकारी, युवराज दुलाल, ध्रुबराज राईलगायतले पनि सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ माग गरेका थिए ।
प्रतिक्रिया 4