News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सौगात मल्ल ‘द राइज अफ साम्राज्य’ नामक नयाँ फिल्ममा शीर्ष भूमिकाका लागि अनुबन्धित भएका छन् ।
- निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने यस फिल्ममा मल्लले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको भूमिका निर्वाह गर्नेछन् ।
- साहित्यकार बुद्धिसागरले पटकथा लेखेको यो चलचित्रको छायांकन भदौ पहिलो साताबाट पूर्वी नेपालमा ७० दिनसम्म हुनेछ ।
काठमाडौं । अभिनेता सौगात मल्ल आगामी कथानक फिल्म ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएका छन् । निर्माताले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई शीर्ष भूमिकामा कास्ट गरिएको जनाएको हो ।
यो फिल्मलाई ‘अगस्त्य’ फेम्ड सौरभ चौधरीले निर्देशन गर्दैछन् । निर्देशक चौधरी र अभिनेता मल्लले सोही फिल्ममा यसअघि सहकार्य गरिसकेका छन् ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मबारे निर्देशक चौधरी भन्छन्, ‘सौगातजी जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो । अन्य कलाकारको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौँ ।’
फिल्ममा मल्लले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई चित्रण गर्नेछन् । एउटै फिल्ममा उमेरको यति धेरै अन्तर देखाउनु निर्माण र अभिनयका हिसाबले चुनौतिपूर्ण हुने ठानिएको छ ।
साहित्यकार समेत रहेका बुद्धिसागरले यो फिल्मको पटकथा लेख्दैछन् । यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा देखिएको आगोको लप्का, घोडामा सवार मानिस र ऐतिहासिक राजर्सी कालखण्डका पात्रले चलचित्र एउटा ‘एपिक एक्सन ड्रामा’ हुने संकेत गरेको छ ।
छायांकन भदौ पहिलो साताबाट पूर्वी नेपालमा खिचिने र तालिका ७० दिनको हुने जनाइएको छ । निर्मातामा प्रवेश चौधरी र निला देव छन् । सहायक निर्मातामा विश्वास बस्नेत र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
प्रतिक्रिया 4