+
+
Shares
विचार :

एमाले विधिबाट चल्ने कि व्यक्तिबाट ?

एमालेले आफ्नो गौरवशाली इतिहास जोगाउन चाहन्छ भने यो गलत अभ्यास र व्यक्तिकेन्द्रित राजनीतिक सोच होइन, संस्थाकेन्द्रित राजनीतिक सोच र संस्कृतिलाई पुनःस्थापित गर्नैपर्छ ।

आनन्द पोखरेल      आनन्द पोखरेल     
२०८३ साउन २२ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेभित्र संस्थागत प्रणाली कमजोर भई व्यक्तिको तजबीजमा निर्णय हुन थालेको छ ।
  • पार्टीको शक्ति सञ्चय र नेतृत्व छनोट प्रक्रियामा व्यक्तिगत प्रभावभन्दा संस्थागत विधि र सामूहिक निर्णय प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।
  • बागमती प्रदेशको मुख्यमन्त्री प्रकरणलाई दृष्टान्त दिँदै उनले क्षणिक सत्ताभन्दा पार्टीको गौरवशाली इतिहास र संस्थागत संस्कृति जोगाउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।

राजनीतिक दलको शक्ति निर्वाचन जित्न, सरकार बनाउन र सञ्चालन गर्न सक्ने क्षमतामा मात्र मापन हुँदैन । दलको वास्तविक शक्ति उसको संस्थागत संस्कृतिमा निहित हुन्छ।

विधि, विधान, सामूहिक निर्णय, अनुशासन र आन्तरिक लोकतन्त्र जीवित छन् भने दल बलियो हुन्छ। यी विषयहरू कमजोर भए सत्ता हातमा भए पनि संगठन क्रमशः कमजोर बन्दै जान्छ । इतिहासले यहि प्रमाणित गरेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनले लामो संघर्षपछि निर्माण गरेको सबैभन्दा ठूलो सम्पत्ति भनेकै यही संस्थागत संस्कृति हो ।

जनवादी केन्द्रीयता, सामूहिक नेतृत्व, आत्मालोचना, विधि–विधानको पालना र व्यक्तिभन्दा संगठनलाई माथि राख्ने संस्कृतिले नै एमालेलाई जनविश्वासको पार्टी बनाएको थियो। कार्यकर्ताले कुनै व्यक्तिलाई होइन, पार्टीको सिद्धान्त, संगठन र निर्णय प्रक्रियालाई विश्वास गरेका थिए।

तर पछिल्ला राजनीतिक अभ्यासले एउटा गम्भीर प्रश्न उठेको छ । आज  पार्टीको  निर्णयको केन्द्रमा संस्था छ, कि व्यक्तिको तजबीजमा छ ? हामीले यसको उत्तर खोज्नु पर्छ ।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने आधार व्यक्तिगत इच्छा होइन, संसदीय दलको विश्वास हो । संसदीय दलको नेताले आफ्नो बहुमत कायम गर्न सांसदहरूमाझ राजनीतिक विश्वास निर्माण गर्नुपर्छ।

यदि बहुमत कमजोर छ भने त्यसको समाधान व्यक्तिगत रूपमा आफ्ना र अन्य दलका सांसदको व्यक्तिगत व्यवस्थापन गरेर होइन, पार्टीको संस्थागत संयन्त्र, राजनीतिक संवाद र सामूहिक सहमतिबाट खोजिनुपर्छ। यही लोकतान्त्रिक संस्कृतिको आधार हो ।

दुर्भाग्यवश, पछिल्ला केही घटनाक्रमले पार्टीभित्र संस्थागत सम्बन्धभन्दा व्यक्तिगत प्रभाव र शक्ति केन्द्रहरू निर्णायक बन्न थालेको संकेत देखिएका छन्। यसले एउटा गम्भीर चिन्ता जन्माएको छ । अब पार्टी वा दलका निर्णयहरू पार्टीका निकायले गर्छन्, कि प्रभावशाली व्यक्तिहरूले ?

बागमती प्रदेशको राजनीतिक घटनाक्रम पनि यही बहसको केन्द्रमा पुगेको छ। प्रदेश संसदीय दलको नेतृत्व परिवर्तनको सन्दर्भमा उठेका सार्वजनिक प्रश्नहरूले एउटा पदको विवादलाई मात्र होइन, पार्टीभित्र विकसित हुँदै गएको राजनीतिक संस्कृतिलाई पनि उजागर गरेका छन्।

कम्युनिस्ट आन्दोलनको मूल दर्शन व्यक्तिपूजा होइन, संस्थाको सर्वोच्चता हो । नेतृत्व संस्थाबाट जन्मन्छ । संस्था नेतृत्वको अधीनमा पर्दैन।

यदि कुनै नेतृत्व परिवर्तन संस्थागत छलफलभन्दा शक्ति प्रदर्शन, दबाब वा व्यक्तिगत रोजाइका आधारमा अघि बढ्छ भने त्यसले एउटा प्रदेशको नेतृत्व मात्र बदल्दैन, पार्टीको स्वीकृत मूल्य मान्यता र चरित्र पनि बदल्न थाल्छ।

कम्युनिस्ट आन्दोलनको मूल दर्शन व्यक्तिपूजा होइन, संस्थाको सर्वोच्चता हो । नेतृत्व संस्थाबाट जन्मन्छ । संस्था नेतृत्वको अधीनमा पर्दैन। तर संस्था व्यक्तिको इच्छाअनुसार चल्न थाल्यो भने संगठन विस्तारै गुटमा, गुट व्यक्तिमा र व्यक्ति अन्ततः निरंकुश प्रवृत्तिमा रूपान्तरण हुने जोखिम बढ्छ।

यसको सबैभन्दा ठूलो असर कार्यकर्ताको मनोविज्ञानमा पर्छ। जब कार्यकर्ताले विधिभन्दा पहुँच, योगदानभन्दा निकटता, क्षमता भन्दा कृपा र सिद्धान्तभन्दा शक्ति प्रभावकारी देख्न थाल्छन्, तब संगठनप्रतिको विश्वास क्षीण हुँदै जान्छ।

त्यस्तो अवस्थामा अनुशासन आदेशबाट टिक्न सक्छ, तर आस्था टिक्दैन। अनि जगन्नाथ जस्ताहरूले  यहि नीयति भोग्नु पर्छ । भोगिरहेका छन् ।

इतिहासले देखाएको छ, संस्था कमजोर भएको ठाउँमा कुनै पनि नेता अन्ततः बलियो रहँदैन। व्यक्ति अस्थायी हुन्छ । संस्था स्थायी हुन्छ। व्यक्ति बदलिन्छ । विचार र संगठन बाँचे भने आन्दोलन बाँच्छ। संस्था भत्कियो भने कुनै पनि लोकप्रिय नेतृत्वले त्यसलाई लामो समय जोगाउन सक्दैन।

आज एमालेले आत्मसमीक्षा गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो । हामी विधिबाट चल्ने पार्टी हौँ कि शक्तिबाट चल्ने पार्टी ?  संसदीय दल सांसदहरूको स्वतन्त्र निर्णयले चल्छ कि शक्ति केन्द्रहरूको संकेतले? अध्यक्ष, नेता वा कुनै पनि पदाधिकारी संस्थाको संरक्षक हुन् कि संस्थाभन्दा माथिका निर्णायक?

यी प्रश्नको उत्तर बागमती प्रदेशसँग सम्बन्धित छैन। यसले एमालेको भविष्य, कार्यकर्ताको विश्वास र नेपालको कम्युनिस्ट आन्दोलनको राजनीतिक संस्कृतिलाई अभिव्यक्त गर्दछ ।

विधि सबैका लागि समान हुनुपर्छ। निर्णय पारदर्शी हुनुपर्छ। नेतृत्व सामूहिक हुनुपर्छ। शक्ति होइन, प्रक्रिया निर्णायक हुनुपर्छ।

म यो समय एऊटा लोककथालाई समझिरहेको छु । अदालत सामु दुईटी आमा एऊटा बच्चालाई  आफ्नो दाबी गरिरहेका छन् । न्यायाधीस वकिल र उपस्थित  जनसमुदायहरू चकित छन् । यो बच्चा दुईटी आमा मध्य कसको हो, सबैको गम्भीर जिज्ञासा छ । न्यायाधीस अप्ठयारोमा परेपछि उसले उपाय निकाल्छ र भन्छ- म यो बच्चा काटेर दुई भाग लगाउँछु । दुबैले आधा-आधा भाग लगाएर घर लैजानुस्  । नक्कली आमाले झटपट हुन्छ भन्छिन् । वास्तविक आमाले बच्चा काटेर भाग लगाउँदा मर्छ भनेर मलाई बच्चा चाहिँदैन भनिन् । उनले अर्की महिलालाई दिनुस् भनिन् । आमा भएको कारण बच्चा मर्नबाट बचाउन उनले दाबी छोडिन् ।  न्यायाधीशले यसै आधारमा थाहा पाए र दाबी छोड्ने आमाकै बच्चा भएको फैसला गरे ।

आज  एमालेमा  २०२५ /०२६ साल देखि पार्टी निर्माणमा लागेका  नेता तथा कार्यकर्ताको  पङ्ति छन् । एकातिर अर्कातिर बहुदल आएपछिका अनि कतिपय अवस्थामा पार्टीमा लाग्ने बित्तकै पद पाएका नेता कार्यकर्तारो पङति छ । क्रमस: यिनीहरू हाबी हाबी हुँदैछन् । यो पंक्ति एमाले बाँचोस् वा मरोस् मतलब छैन । अहिलेको लाभ यसको अभिष्ट बनेको छ । यो संस्कृति बागमतीको मुख्यमन्त्री प्रकरणमा जोडिएको छ । मूल नेतृत्व न्यायाधीस बन्न सकेनन् अहिलेको चिन्ता र प्रश्न यहि हो ।

एमालेले आफ्नो गौरवशाली इतिहास जोगाउन चाहन्छ भने यो गलत अभ्यास र व्यक्तिकेन्द्रित राजनीतिक सोच होइन, संस्थाकेन्द्रित राजनीतिक सोच र संस्कृतिलाई पुनःस्थापित गर्नैपर्छ ।

विधि सबैका लागि समान हुनुपर्छ। निर्णय पारदर्शी हुनुपर्छ। नेतृत्व सामूहिक हुनुपर्छ। शक्ति होइन, प्रक्रिया निर्णायक हुनुपर्छ।

किनकि पार्टी तबसम्म बलियो रहन्छ, जबसम्म व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन।

अन्ततः इतिहासले व्यक्तिको विजयलाई होइन, संस्थाको विजयलाई सम्झन्छ । सत्ता क्षणिक हुन्छ, तर संस्थागत संस्कृती शाश्वत हुन्छ। त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता कसलाई मुख्यमन्त्री बनाउने भन्ने होइन । पार्टीलाई विधिबाट चलाउने कि व्यक्तिबाट चलाउने भन्ने हो । यही प्रश्नको सही उत्तरले एमालेको भविष्य तय गर्नेछ।

(पूर्वमन्त्री पोखरेल एमाले नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?