News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीमा हुने गोप्य भेला र सत्ता समीकरणको अस्वाभाविक अभ्यासप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका छन् ।
- उनले भने, ‘कुनै व्यक्तिको निवासमा सीमित समूहको योजनाअनुसार हुने गोप्य छलफल र मन्त्रणाले पार्टीलाई झन् क्षति गराउँछ ।’
- नेता रावलले सिद्धान्तहीन सत्ताको राजनीतिले पार्टीको मौलिक पहिचान र जनविश्वास गुम्ने खतरा रहेको भन्दै नेतृत्वलाई वैचारिक निष्ठामा फर्किन आग्रह गरेका छन् ।
२० साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीमा गोप्य भेलाहरू हुन थालेकोप्रति प्रश्न उठाएका छन् । सत्ता या अन्य प्रयोजनका लागि हुने गठबन्धन या सहकार्य पार्टी कमिटीको नीति र निर्णयअनुसार हुनुपर्ने उनको आग्रह छ ।
प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनाउने निर्णय भएसँगै शीर्ष नेताहरू अन्तरपार्टी छलफलमा छन् । तर कुनै व्यक्तिको संकट मोचनका लागि गरिने सहकार्यले पार्टीलाई झन क्षति गराउने उनको आग्रह छ ।
सत्ताकै सवालमा पनि बहस, छलफल र कुराकानी पार्टी कार्यालयमा पारदर्शिताका आधारमा हुनुपर्ने माग गर्दै उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘कुनै व्यक्तिको निवासमा सीमित समूहको योजनाअनुसार हुने गोप्य छलफल र मन्त्रणाले पार्टीलाई झन् क्षति गराउँछ ।’
चुनावी परिणामबाट धक्का भोगिसकेपछि सुध्रिनेबाहेक अर्को विकल्प नरहेको भन्दै उनले सुध्रिने विकल्पलाई पनि नेतृत्वले बेवास्ता गरेर छलफल र गोप्य भेला गरिरहेको भन्दै यो पार्टीको हितमा नरहेकको बताएका हुन् ।
उनका अनुसार नेपाली राजनीतिमा सत्ता प्राप्तिका लागि सिद्धान्त र निष्ठालाई एकातिर पन्छाउने प्रवृत्ति पुरानै र दीर्घरोगका रूपमा स्थापित भइसकेको छ ।
एमाले जस्तो रूपान्तरणकारी विचार, जनआन्दोलनको विरासत र समृद्धिको मार्गचित्र बोकेको दल नै जब सत्ताको छिनाझपटीमा परेर सिद्धान्तहीन बाटोमा निरन्तर अग्रसर हुन थाल्छ, तब यसले सिंगो राजनीतिक व्यवस्था, दलीय अनुशासन र समग्र लोकतन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिने रावल बताउँछन् ।
सिद्धान्तको राजनीतिबाट विचलित भई केवल सत्ता प्राप्तिको अंकगणितमा रुमल्लिँदा पार्टीले आफ्नो मौलिक पहिचान र जनविश्वास मात्रै नगुमाउने उनको चेतावनी छ ।
उनी अगाडि लेख्छन्, ‘यसको दूरगामी र दीर्घकालीन क्षति सिंगो मुलुक तथा समर्पित कार्यकर्ता पङ्क्तिले भोग्नुपर्ने हुन्छ ।’
उनका नजरमा एमालेको विगतको राजनीतिक इतिहासलाई फर्केर हेर्दा पनि सत्ता समीकरणका नाममा आफ्नै मूल विचार, जनताको बहुदलीय जनवाद (जबज) को मर्म र आधारभूत सिद्धान्तसँग मेल नखाने शक्तिहरूसँग सम्झौता गर्ने प्रवृत्ति पटक–पटक दोहोरिएको देखिन्छ ।
बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक समीकरण र पर्दापछाडिका खेलहरूले एमाले नेतृत्व अझै पनि विगतका विफलता, वैचारिक विचलन र क्षतिबाट पाठ सिक्न तयार छैन भन्ने तीतो यथार्थलाई पुन: उजागर गरिदिएको उनको आग्रह छ ।
प्रदेशको नेतृत्व चयन गर्ने स्पष्ट लोकतान्त्रिक, सांगठनिक र संवैधानिक विधिहरू हुँदा हुँदै फेरि पनि विचार र दर्शन नै नमिल्ने दलहरूलाई अगाडि सारेर स्वार्थको राजनीति गर्न खोज्नु वैचारिक स्खलनकै निरन्तरता भएको उनले बताएका छन् ।
पार्टीको संसदीय दल, आन्तरिक लोकतन्त्र, योगदान र वरिष्ठताको सम्मान गर्नुको सट्टा सत्ताको तात्कालिक गणित मिलाउन अस्वाभाविक शक्तिहरूसँग सौदाबाजी गर्नाले समाजमा सत्ता नै सर्वोपरि भन्ने गलत र निराशाजनक सन्देश जाने भनेर नेतृत्वको आलोचना गरेका हुन् ।
‘वस्तुत: व्यक्ति वा नेतृत्व अस्थायी हुन्छन् । तर सिद्धान्त, विचार, नीति र संस्थागत मूल्यहरू दीर्घकालीन हुन्छन्,’ उनी लेख्छन्, ‘कुनै पनि दलको जीवन्तता र सामर्थ्य त्यसको विचारको स्पष्टता र कार्यकर्ताको निष्ठामा अडिएको हुन्छ ।’
यदि नेतृत्वले व्यक्तिवादी स्वार्थ, गुटगत लाभ वा सत्ताको आशक्तिमा वैचारिक धरातललाई तिलाञ्जली दिइरहने हो भने पार्टीको जग नै भत्किने खतरा रहने उनको चेतावनी छ ।
उनी भन्छन्, ‘विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दक्षिणपन्थी शक्तिसँगको असैद्धान्तिक सहकार्यले एमालेको वैचारिक छवि र राजनीतिक उचाइमा गरेको क्षतिको गम्भीर समीक्षा गर्दै नेतृत्वले आफ्नो गन्तव्य सुधार्न अब अत्यावश्यक भइसकेको छ ।’
बागमती प्रदेश लगायत सिंगो देशको राजनीतिमा क्षणिक सत्ताको छिनाझपटीभन्दा माथि उठेर विचार, नीति र सिद्धान्तको पुनरोदय गराउनेतर्फ ध्यान दिन नेतृत्वलाई उनको आग्रह् छ ।
‘एमालेजस्तो ऐतिहासिक उत्तरदायित्व बोकेको दलले विगतका अप्राकृतिक गठबन्धन र वैचारिक सम्झौताहरूबाट निर्मम पाठ सिक्दै आफ्नै नीति, आन्तरिक लोकतन्त्र, विधि र निष्ठाको राजनीतिमा फर्किन अब अलिकति पनि ढिला गर्नु हुँदैन,’ उनी लेख्छन्, ‘सत्ता क्षणिक र आउने–जाने विषय हो, तर विचार र सिद्धान्तप्रतिको अटल निष्ठा नै राजनीतिलाई दीर्घकालसम्म जीवित, सम्मानित र जनप्रिय राख्ने एकमात्रै बलियो आधार हो ।’
प्रतिक्रिया 4