News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद महेन्द्रबहादुर शाहीले सभामुखले सांसदलाई मात्र नियमावली पालना गर्न निर्देशन दिएको भन्दै प्रधानमन्त्रीलाई किन नभनेको भनी प्रश्न उठाएका छन् ।
- नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मासिक समय निर्धारण गर्ने बाध्यकारी व्यवस्था भए पनि कार्यान्वयन नभएको सांसद शाहीले बताए ।
- संसदमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने नियम १५ को उपनियम २ को पालना नभएको भन्दै उनले सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाए।
२२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सभामुखले पटक–पटक सांसदहरूलाई प्रतिनिधिसभा नियमावली पालना गर्न भनेको स्मरण गराएका छन् ।
तर, प्रधानमन्त्री बालेन शाहलाई किन नियमावली पालना गर्न नभनेको भनेर सभाुख डोलप्रसाद अर्याल (डीपी) लाई प्रश्न गरेका छन् ।
‘यहाँ सभामुखले निरीह सांसदलाई पटक–पटक भन्ने गर्नुभएको छ । तपाईंहरूले बनाएको नियमावली हो । यो नियमावलीको अक्षरश पालना गनुस्,’ शाहीले थपे, ‘यही नियमावलीमा भएको व्यवस्था प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’
उनी थप्छन्, ‘प्रधानमन्त्रीलाई नियमावली कार्यान्वयन गर्न/गराउन नसक्ने । अनि यहाँ सांसदलाई पटक–पटक कार्यान्वयन गर, कार्यान्वयन गर भनिरहनु पनि सभाुखमाथि गम्भीर प्रश्न हो ।’
यो प्रश्न बुझेर सभामुखले सबैलाई नियमावली पालना गर्न लगाउनुपर्ने उनको आग्रह छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केही गरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।
नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’
तर, यस्तो प्रावधान कार्यान्वयन भएको छैन ।
साथै, संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री/मन्त्रीले सात दिन भित्र दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा छ ।
यसको पनि पालना भएको छैन ।
यस पृष्ठभूमिमा सांसद शाहीले सांसदलाई नियम पालना गर्न भन्ने अनि प्रधानमन्त्रीलाई नभन्ने सभामुख अर्यालाई नै प्रश्न गरेका हुन् ।
प्रतिक्रिया 4