+
+
Shares

रास्वपा सांसदको विपक्षीमाथि आरोप- भारतको नुन खाएको भाषा बोलेको हो ?

रास्वपा सांसद चौधरीले देशभक्ति र राष्ट्रवादजस्ता मापन गर्न नसकिने विषयमा प्रश्न नउठाउन विपक्षी दलहरूलाई चेतावनी दिँदै यस्ता कार्यले राज्यलाई कुनै फाइदा नपुग्ने जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा निरन्तर प्रश्न उठाउने विपक्षी दलको कार्यप्रति आपत्ति जनाएका छन् ।
  • चौधरीले देशभक्ति र राष्ट्रवादजस्ता मापन गर्न नसकिने विषयमा प्रश्न नउठाउन विपक्षी दलहरूलाई चेतावनी दिँदै यस्ता कार्यले राज्यलाई कुनै फाइदा नपुग्ने जिकिर गरे ।
  • उनले भारत सरकारले आपत्ति नजनाएको विषयमा प्रतिपक्षले बारम्बार प्रश्न उठाउनु रहस्यमय भएको भन्दै यसलाई विगतको नुनको सोझो गर्ने प्रयासका रूपमा अर्थ्याए।

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर निरन्तर संसद्‍मा प्रश्न उठिरहेकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले जुन कुरालाई मेजर गर्न सकिँदैन त्यो कुरामा प्रश्न नगर्न विपक्षी दलहरूलाई चेतावनी दिए ।

सम्बोधनको सुरुमै उनले भनेका छन्, ‘विगत दुई महिनादेखि जसरी सत्तापक्षका बेन्चहरू र प्रतिपक्ष बेन्चभित्र जुन किसिमले प्रधानमन्त्रीको एउटा अभिव्यक्तिलाई लिएर दुई/दुई महिनासम्म संसद्‍लाई अवरुद्ध गर्ने र आक्षेपहरू लगाउने भइसकेपछि मलाई केही कुरा राख्न मन लाग्यो ।’

अनि सीमाको विषय सेन्सेटिभ विषय रहेको भन्दै यसमा प्रतिपक्ष पनि जिम्मेवार बन्नुपर्ने आग्रह गरे ।

‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिको कुरालाई लिएर उहाँहरू (प्रतिपक्षका सांसदहरू) ले दुइटा शब्दमा सत्तापक्षको बेन्चमाथि आक्षेप लगाउनु भएको छ,’ चौधरीले भने, ‘मलाई लाग्छ त्यो अत्यन्त सेन्सेटिभ कुराहरू हुन् । निरन्तर त्यही कुरा संसद्‍ भित्र उठाइराख्दा त्यसले राष्ट्रलाई, देशलाई, राज्यलाई के फाइदा गर्छ ? भन्ने एकपटक सोचौं ।’

यहाँनेर उनले प्रतिपक्षका सांसदहरूले कस्ता प्रश्न गरिरहेका छन् भनेर स्मरण गराए ।

‘त्यही कुरा (प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति) लाई लिएर निरन्तर प्रश्न गरिराख्नुभएको छ । त्यतिले नपुगेर उहाँहरू (प्रतिपक्षका सांसदहरू) ले तपाईंहरू (सत्तापक्षका सांसदहरू) राष्ट्रवादी हो कि होइन ? भन्नुहुन्छ । तपाईंहरूको सार्वभौमिकता के हो ? भन्नुहुन्छ,’ चौधरीले विपक्षीका प्रश्नप्रति असन्तुष्टि जनाए ।

अनि यस्ता प्रश्न नगर्न उनले चेतावनी दिए ।

‘सभामुख महोदय म भन्न चाहन्छु, जुन कुरालाई मेजर गर्न सकिँदैन् त्यो कुरामा प्रश्न नगर्नुस्,’ सांसद चौधरीको प्रश्न छ, ‘तपाईंहरूले देख्नुभएको छ कहिले राष्ट्रवाद, देशभक्ति त्यसको रंग कस्तो छ ? त्यसको आकार कस्तो हुन्छ ? या सावैभौमिकताको रंग कस्तो हुन्छ ?’

जुन कुरालाई मेजर गर्न सकिँदैन् त्यो कुरामा एकैचोटी प्रहार गर्न नहुने उनको आग्रह छ । यो आफ्नो निवेदन रहेको भन्दै उनले थपे, ‘यस्ता कुराहरू संसद्‍मा नउठाइयोस् ।’

१७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे बोलेका थिए ।

लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा भारत सरकारलाई नोट पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले बताएका थिए ।

‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेका थिए, ‘उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’

साथै, नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए ।

‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

यी दुवै विषय विपक्षी दलहरूले तथ्य खोज्दै आएका छन् । गलत भए माफी माग्नुपर्ने र संसदीय रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।

यसको प्रतिवाद गर्दै सांसद चौधरीले विपक्षी दलहरूलाई आफ्नो मागबारे सोच्न आग्रह गरेका हुन् ।

साथै, रास्वपा सांसद चौधरीले यो विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिइसकेको पनि बताए ।

परराष्ट्रमन्त्रीले नेपालले भारतको सीमा मिचनेको नभनेको र क्रस बोर्डर इस्यूको कुरा गरेको जवाफ दिइसकेको सांसद चौधरीले स्मरण गराएका हुन् ।

२७ जेठमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादमा तेस्रो मुलुकको संलग्नता नखोजिएको प्रष्टीकरण दिएका थिए

अनि ‘नेपालले पनि भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति’ क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भनेर बचाउ गरेका थिए ।

परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि पनि निरन्तर यही विषय संसद्मा उठाइरहेको भनेर उनले यो विषयको सेन्सेटिभिटी ख्याल गर्न र फेरि फेरि प्रश्न नगर्न चेतावनी दिएका हुन् ।

बरु यो आपसी समझदारीमा दुइटा पक्ष बसेर कन्फ्युजन मेटाउन उनको आग्रह छ ।

विपक्षीको बोली कसको ?

रास्ववा सांसद चौधरी यत्तिमा रोकिएनन् । प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीका सन्दर्भमा टिप्पणी गर्दा कसको बोली बोलिरहेको छ भनेर प्रश्न गरे ।

‘प्रतिपक्षले एउटा अत्यन्त गम्भीर कुरा उठाइराखेको कि प्रधानमन्त्रीज्यूले ‘नेपालले पनि भूभाग मिचेको छ भनेर तपाईंहरू हाम्रो सार्वभौमिकता खोइ भन्नुहुन्छ । यो शब्द तपाईंहरूले कसको लागि बोलिराख्नु भएको छ ? हाम्रो प्रश्न छ,’ उनले भने ।

यो विषयमा भारत सरकारको आपत्ति भए उसैले बोल्ने पनि उनको आग्रह छ ।

‘यो दिल्लीको संसद्‍मा उठ्नुपर्ने हो नेपालले भूभाग मिच्यो भनेर यदि प्रधानमन्त्रीले भनेको कुरामा भारत सरकारको आपत्ति थियो भने भारत सरकारको संसद्‍ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ बारबार ? यसमा हाम्रो हाम्रो घोर आपत्ति छ,’ चौधरीले भने ।

यहाँनेर उनले विपक्षी दलहरूलाई अर्को गम्भीर आरोप लगाए ।

‘यसमा कतै तपाईंहरू (विपक्षी दलका सांसदहरू) ले विगतमा नुन खाएको कुरा यहाँ उठाउनु भएको त होइन ? होइन भने यो जुन भाषा बोल्नु भएको छ, यो भाषा बन्द होस् । यसले देशलाई राज्यलाई, सरकार कसैलाई पनि हित गर्दैन,’ उनले भने ।

सरकार र संसद् कस्तो ?

साथै रास्वपा सांसद चौधरीले सरकार र संसद्को सम्बन्धको विषय पनि उठाए ।

‘कार्यपालिका र व्यवस्थापिका छ । यसमा यसका आफ्नै आदर्श सम्बन्धका मूल्य मान्यताहरू छन् । त्यसमध्येको एउटा महत्त्वपूर्ण आदर्श सम्बन्ध जुन हामीले सरकार र संसद् भन्छौ । आपसी जवाफदेहीता हो, संसद् सरकारप्रति जवाफदेही हुने हो र सरकार संसद्‍प्रति । यो कुरा चाहिँ म सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।

अनि उनले सरकार र संसद्को सम्बन्ध मरेको घोडालाई लात्ती हिर्काए जस्तो हुन नहुने उनको आग्रह छ ।

‘अहिलेको अवस्था जुन सरकार र संसद्‍बीचमा जुन अवस्था सिर्जना भएको छ । यो भनेको बिटिङ अ डेड हर्स । मरेको घोडालाई लात्ती हिर्काए जस्तो अवस्था आउनु चाहिँ दुखद् हो,’ उनले भने ।

यसबारे सांसद चौधरीले थप व्याख्या गरेनन् ।

बरु देशभक्तिमाथिको कुरामा आरोप नलगाउन विपक्षी दलहरूलाई पुन: चेतावनी दिए, ‘सभामुख महोदय, म फेरि पुन: आग्रह गर्छु यो अब देशभक्तिमाथिको कुरा, राजभक्तिको कुरा आदि कुरा । जुन कुरा हाम्रोमा के छ, रगतमा के छ मेजर गर्न सकिन्न भने त्यो कुरामा आरोप नलगाऔं ।’

विपक्षीले गरे प्रतिवाद

सत्तारुढ दल रास्वपाका सांसदको यस्तो चेतावनी लगत्तै प्रतिनिधिसभामा विपक्षी दलका तर्फबाट नियमापत्ति भयो ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले सदनको गरिमा उच्च कायम राख्नको निमिक्ति आफूहरू सदैव प्रयत्नरत रहेको बताए । जुन हिसाबले रास्वपा सांसद चौधरीले भने त्यो विषयमा आफूहरूको नियमापत्ति रहेको बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीको कुर्सीलाई सदैव सम्मान गर्छौं । उहाँ हाम्रो पनि प्रधानमन्त्री हो । प्रतिपक्ष, सत्तापक्ष सबैको प्रधानमन्त्री हुनुहुन्छ ।’

तर जनताको सार्वभौम सम्पन्न प्रतिनिधिसभामा विपक्षी दलहरूका सांसदहरू पनि जनताबाट निर्वाचित भएर आएको ख्याल राख्न उनले आग्रह गरे ।

‘कार्यकारिणी भूमिकामा रहेर उहाँ (प्रधानमन्त्री) ले दिनुभएको अभिव्यक्ति त्यो साँच्चै राष्ट्रघाती अभिव्यक्ति थियो । त्यो कुनै क्रस बोर्डर इस्यू भनेर त्यहाँ भन्नुभएको छैन,’ राईले भने ।

प्रधानमन्त्रीको विवादिन अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले प्रष्ट पार्न खोजेको पनि उनले स्मरण गरे । तर प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएको बताए ।

‘हामीले भनिरहेका छौं, त्यो (प्रधानमन्त्री बालेनको सीमा विवाद सम्बन्धी अभिव्यक्ति) सच्चिनुपर्छ । सच्याइनुपर्छ । राष्ट्रियताको कुरामा पक्ष, प्रतिपक्ष भन्दा पनि साझा भएर अगाडि बढ्नुपर्ने स्थिति छ,’ उनले भने ।

सांसद राईका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित भएर स्पष्टीकरण दिन विनम्रतापूर्वक आग्रह गर्दै आएको बताए । मिचिएको छ भने कहाँ मिचिएको छ भनिदिए हुने अन्यथा, माफी मागेर त्यस्तो विवादित अभिव्यक्ति हटाइनुपर्ने माग राखिरहने बताए ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नेपालका प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति भारतको सदनमा उठ्नुपर्ने भनेर रास्वपा सांसद चौधरीले दिएको अभिव्यक्तिमा आपत्ति जनाइन् ।

अनि प्रश्न गरिन्, ‘विगत दुई महिनादेखि निम्तिएको यो समस्या हामीले निम्त्याएको हो र ?’

प्रधानमन्त्रीले आफैँ आएर विवादित अभिव्यक्ति दिएर समस्या निम्त्याएको भन्दै उनले विवादित अभिव्यक्ति सच्याउन प्रधानमन्त्री संसद्‍मा आउन आवश्यक रहेको बताइन् । यो विषयमा आफूहरूले निरन्तर सरकारको ध्यानाकर्षण गरिरहने बताइन् ।

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ माग गर्दा भारतको नुन खाएको हो भनेर सत्तापक्षबाटै प्रश्न आउनु गम्भीर विषय भएको बताइन् ।

‘नेकपा एमालेका कुन–कुन सांसदले भारतबाट नुन खानुभएको छ । प्रमाणित गर्नुपर्छ सांसद सुरेन्द्र चौधरी माननीयज्यूले,’ एमाले सांसद सिद्धिकीले भनेकी छन्, ‘होइन भने यसरी आरोप लगाउन पाइँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?