+
+
Shares

मनोजनारायणको घरमै संग्रहालय

गिरिजाप्रसादलाई दिएको बन्दुकको भर्पाइदेखि चन्द्रशमशेरकालीन इँटासम्म

संग्रहालयमा २०० बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन् । संग्रहालयमा रहेका सामग्रीले धनकुटाको मात्र होइन, नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासका विभिन्न कालखण्डलाई प्रतिनिधित्व गरेका छन् ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन २३ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाका मनोजनारायण श्रेष्ठले शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालय स्थापना गरी दुर्लभ ऐतिहासिक सामग्री र दस्तावेजहरू संरक्षण गरेका छन् ।
  • जापानी नागरिकबाट प्राप्त प्रेरणापछि उनले तीन दशकदेखि धनकुटाको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहास झल्काउने दुई सयभन्दा बढी सामग्री संकलन गरेका हुन् ।
  • यो संग्रहालय अहिले विद्यार्थी, इतिहासकार र अनुसन्धानकर्ताहरूका लागि नेपालको प्रजातान्त्रिक आन्दोलन तथा स्थानीय जीवनशैली अध्ययन गर्ने प्रमुख केन्द्र बनेको छ ।

२३ साउन, धनकुटा । धनकुटा नगरपालिका–६ सिरान बजारमा छ, मनोजनारायण श्रेष्ठको घर । शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले आफ्नो घरलाई संग्रहालयका रूपमा विकास गरेका छन् ।

उनको घरको कोठामा राखिएका दुर्लभ तस्वीर, पुराना रेडियो, ग्रामोफोन, टेलिफोन, माटाका पाइप, चन्द्रशमशेरकालीन इँटा, विभिन्न आन्दोलनका दस्तावेज, पुराना भाँडाकुँडा, कृषि औजार, शहीद भीमनारायणका कपडा तथा अन्य सामग्रीले आगन्तुकलाई एउटा इतिहासको जानकारी गराउँछ ।

संग्रहालयमा संग्रहित पुराना सामानहरूसहित धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक अभिलेखबाट दशकौँ अघिको जीवनयापन कस्तो हुन्थ्यो भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ ।

संग्रहालय पुग्ने जो कोहीले विगतका पुस्ताको जीवनशैली, तत्कालीन प्रविधि, राजनीतिक आन्दोलन, सामाजिक परिवर्तनलाई नजिकबाट अध्ययन गर्न पाउँछन् ।

विदेशीले भनेको एउटा शब्दले दिएको प्रेरणा

मनोजनारायणलाई पुराना वस्तु संकलन गर्ने प्रेरणा कुनै योजना वा अभियानबाट आएको भने होइन । एउटा सामान्य लाग्ने एउटा घटनाले आफ्नो जीवनको दिशा नै परिवर्तन गरिदिएको उनी बताउँछन् ।

२०५१ सालतिर उनी जापानी नागरिकहरूसँग काम गर्थे । एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाक टोल हुँदै चारचौतारातर्फ जाँदै गर्दा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका जापानी सदस्यहरूले अचानक गाडी रोक्न लगाए । उनीहरूको ध्यान त्यतिबेला सडकमा बिछ्याइएको पुरानो ढुंगातर्फ गएको थियो ।

‘मैले दोभाषेमार्फत उनीहरू किन गाडीबाट ओर्लिए भनेर सोधें’, मनोजनारायण भन्छन्, ‘ती जापानीहरूले ढुंगे सडक पुरातात्विक सम्पदा हो, यसमाथि गाडी चल्दा ढुंगा फुट्न सक्छ, त्यसैले हामी यसलाई जोगाउन सचेत छौँ भने ।’

विदेशी नागरिकले धनकुटा बजारमा देखाएको संवेदनशिलताले आफूलाई गहिरो रूपमा छोएको मनोजनारायणको भनाइ छ ।

‘धनकुटा हाम्रो, बाटो हाम्रो, ढुंगा पनि हाम्रो, तर त्यसको माया चाहिँ विदेशीलाई लाग्यो,’ उनी भन्छन्, ‘त्यही दिनदेखि मैले पुराना वस्तु जोगाउने र संकलन गर्ने प्रण गरेको हुँ ।’

त्यसपछि सुरु भएको उनको संकलन अभियान अहिले पनि निरन्तर रहेको छ । तीन दशक लामो यात्रामा उनले २०० भन्दा बढी महत्वपूर्ण पुरातात्विक सामग्री, दस्तावेज, तस्वीर र ऐतिहासिक वस्तुहरू संकलन गरी व्यवस्थित रूपमा राखेको बताएका छन् ।

२०० बढी दुर्लभ सामग्री

संग्रहालयमा २०० बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन् । संग्रहालयमा रहेका सामग्रीले धनकुटाको मात्र होइन, नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासका विभिन्न कालखण्डलाई प्रतिनिधित्व गरेका छन् ।

राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्रशमशेरको पालामा बनेका इँटासम्म संग्रहालयमा छन् । यस्तै, २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरू पनि संग्रहालयका विशेष आकर्षण छन् ।

विशेषगरी नेपाली कांग्रेसले राणा शासनविरुद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनका क्रममा २००७ साल पुस २५ गते मनोजनारायणका हजुरबुबा जयनारायणले तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भर्पाइ पनि सुरक्षित रहेको छ ।

त्यसबेला नेपाली कांग्रेसका तत्कालीन पोलिटिकल कमिसार गिरिजाप्रसाद कोइरालाले मनोजनारायणका हजुरबुबा जयनारायणसँग भर्पाइ गरेर एक थान भरुवा बन्दुक र त्यसका गोली क्रान्ति सकिएपछि फिर्ता गर्ने सर्तमा कागज गरी लिएका थिए ।

क्रान्ति सम्पन्न भयो, तर त्यो बन्दुक श्रेष्ठ परिवारले कहिल्यै फिर्ता पाएन । एउटा सामान्य कागज जस्तो देखिने त्यो भर्पाइले नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण अध्यायलाई जीवित राखेको उनको भनाइ छ ।

विद्यार्थी र अनुसन्धानकर्ताको अध्ययन केन्द्र बन्दै संग्रहालय

मनोजनारायण श्रेष्ठले वर्षौंदेखि संकलन गरेर बनाएको संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार र संस्कृति अध्ययन गर्नेहरूको महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

मनोजनारायणले स्थापना गरी सञ्चालन गरेको संग्रहालय इतिहास पढ्ने विद्यार्थी, अनुसन्धानकर्ताका लागि महत्वपूर्ण स्रोत बनेको सिरान बजारका स्थानीय राजेश्वर श्रेष्ठले बताए ।

उनका अनुसार समयसँगै चलनचल्तीबाट हराउँदै गएका सामग्रीलाई नयाँ पुस्ताले विस्थापित गर्दै गएका कारण धेरै ठाउँमा लोप भइसकेका छन् । जसले गर्दा तिनको ऐतिहासिक महत्व बुझ्ने अवसर पनि क्रमश: घट्दै गएको छ ।

समुदाय र इतिहासलाई दस्तावेजीकरण गर्ने काम भएको श्रेष्ठले बताए । संग्रहालयमा राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र होइन, पुराना नेपाली समाजको दैनिक जीवन झल्काउने वस्तु पनि सुरक्षित छन् । घरायसी प्रयोगका पुराना ग्रामोफोन, टेलिफोन, रेडियो, विभिन्न प्रकारका भाँडाकुँडा, काठ तथा माटोबाट बनेका सामग्री, कृषि औजार तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिएको छ ।

संग्रहालयमा धरान इन्जिनियरिङ क्याम्पस र मदन भण्डारी प्रतिष्ठान उर्लाबारी मोरङका विद्यार्थी तथा इन्जिनियरहरू पुराना वास्तुकलाका नमुना अध्ययन गर्न यहाँ आउने गरेका छन् ।

इतिहास र संस्कृति विषयमा अनुसन्धान गर्ने व्यक्तिहरू पनि आवश्यक सामग्री खोज्न संग्रहालय पुग्ने गरेका छन् । संग्रहालय अवलोकनपछि धेरै विद्यार्थीहरूले कहिल्यै नदेखेका र नसुनेका सामग्री तथा इतिहासबारे नयाँ जानकारी पाएको प्रतिक्रिया दिने गरेको मनोजनारायण सुनाउँछन् ।

बुबाको सम्झनालाई संग्रहालयमा रूपान्तरण

मनोजनारायणले यस संग्रहालयलाई शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयको नाम दिएका छन् । उनले संग्रहालयमा शहीद भीमनारायणसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृतिचिह्नहरू संग्रहित गरेका छन् ।

भीमनारायणसँग सम्बन्धित सामग्रीमा तत्कालीन राजनीतिक संघर्ष, परिवारले भोगेको पीडा पनि देखाउन खोजिएको छ । कागजपत्रमा भीमनारायणले जेलमा बिताएका संघर्षका दिन, राज्यद्रोहको मुद्दा लागेपछि पञ्चायतकालमा वकिल नपाएको पीडा लगायतका सामग्री समावेश छन् ।

शहीद भीमनारायणसँग सम्बन्धित दस्तावेज तथा सामग्री अवलोकन गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू पनि पटकपटक संग्रहालय पुगेको मनोजनारायणले बताए ।

नेपाली कांग्रेसका सभापति गगन थापा, नेताहरू प्रकाशमान सिंह र मीनेन्द्र रिजाल लगायतका नेताहरूले संग्रहालयको अवलोकन गरिसकेका छन् । संग्रहालयमा सुरक्षित राखिएका सामग्रीमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन र शहीदहरूको योगदानलाई नजिकबाट बुझ्ने अवसर पाएको मनोजनारायण बताउँछन् ।

शहीद भीमनारायणको संघर्ष

संग्रहालयको मुख्य अंश शहीद भीमनारायणको जीवन र संघर्षसँग सम्बन्धित सामग्री नै हो । भीमनारायणलाई २०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा भएको बम प्रहार घटनापछि पक्राउ गरिएको थियो ।

भीमनारायणमाथि राज्यविरुद्धको गतिविधि तथा राजामाथिको बम प्रहारसम्बन्धी अभियोग लगाइएको थियो । त्यसपछि उनलाई विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । २०३५ साल माघ महिनामा कोशी टप्पु पुर्‍याएर भीमनारायणलाई गोली हानी मृत्युदण्ड दिइएको थियो ।

धनकुटाको इतिहास जोगाउने अभियान

भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयमा वर्षौंदेखि धनकुटासँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, अनुसन्धान सामग्री, लेख तथा ऐतिहासिक दस्तावेज राखिएको छ । पछिल्लो पुस्तालाई अध्ययनको लागि काम लाग्न सक्छ भनेर सबै सामग्री जोगाएर राखेको मनोजनारायणले बताए ।

अहिले सामान्य लाग्ने कागजात पनि समय बित्दै जाँदा इतिहासको महत्वपूर्ण प्रमाण बन्न सक्ने भएकाले धनकुटासँग सम्बन्धित सामग्रीलाई सुरक्षित राख्ने गरेको उनको भनाइ छ । संग्रहालयमा करिब ६० देखि ७० वर्षअघि खिचिएका धनकुटाका विभिन्न स्थानका तस्वीरहरू पनि राखिएका छन् । ती तस्वीरहरूले पहिलेको धनकुटा बजार, सडक, बस्ती, जनजीवन तथा समयअनुसार भएको परिवर्तनलाई देखाउने गरेका छन् ।

कुनै समय चहलपहल रहने बजार, पुराना घर, बाटाघाटा र बस्ती अहिले सम्झनामा मात्र सीमित बन्न पुगेका छन् । तर संग्रहालयमा राखिएका तस्वीरहरूले पुरानो धनकुटालाई जीवित बनाएका छन् ।

घरको एउटा कुनाबाट सुरु भएको अभियान

मनोजनारायण श्रेष्ठको संग्रहालय अभियान घरको एउटा सानो कुनाबाट सुरु भएको थियो । सुरुमा केही पुराना सामग्री मात्रै राखिएका थिए । तर समयसँगै संकलन बढ्दै गयो । साथीभाइ, आफन्त, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट प्राप्त सामग्री थपिँदै जाँदा घर नै संग्रहालयमा रुपान्तरण भयो ।

अहिले संग्रहालयमा २०० बढी दुर्लभ सामग्री, ऐतिहासिक दस्तावेज, पुराना तस्वीर, घरायसी सामग्री, राजनीतिक आन्दोलनसँग सम्बन्धित प्रमाण, शहीद भीमनारायणका व्यक्तिगत सामग्री, चन्द्रशमशेरकालीन इँटा, राणा शासनकालीन माटाका पाइप, पुराना सञ्चार उपकरण, कृषि औजार तथा धनकुटाको इतिहाससँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र अनुसन्धान सामग्री रहेका छन् ।

एक व्यक्तिको मौन अभियान

इतिहास संरक्षण सामान्य काम होइन । अझ राज्यस्तरबाट पर्याप्त संरक्षण र प्रोत्साहन नपाएको अवस्थामा एक व्यक्तिले आफ्नै लगानी, समय र मिहिनेत गरेर इतिहास जोगाइरहनु चुनौतीपूर्ण कार्य हो । तर मनोजनारायणले यही चुनौतीलाई आफ्नो जिम्मेवारीका रूपमा लिएका छन् । उनले केवल पुराना वस्तु सङ्कलन गरेका छैनन्, धनकुटाको सामूहिक स्मृति, पहिचान र इतिहासलाई पनि संरक्षण गरेका छन् ।

राज्यस्तरबाट पर्याप्त संरक्षण, बजेट वा प्रोत्साहन नपाए पनि उनले आफ्नो अभियानलाई निरन्तरता दिएका छन् । उनका अनुसार अहिले संरक्षण नगरिएका धेरै सामग्री केही वर्षपछि सधैँका लागि हराउन सक्छन् । त्यसैले भेटिने प्रत्येक ऐतिहासिक सामग्रीलाई सम्भव भएसम्म सुरक्षित राख्ने प्रयास गरिरहेको मनोजनारायण बताउँछन् ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?