+
+
Shares

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नं २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा रु दुई करोड बजेट विनियोजन भएपछि गण्डकी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको बेनी–दरवाङ सडकमा रहेको फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ।
  • गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरी 'डिजाइन एन्ड बिल्ड' विधिबाट पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।
  • पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा. महेन्द्र बानियाँले प्राविधिक प्रतिवेदनका आधारमा पक्की पुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो।

२४ साउन, म्याग्दी  । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ।

फापरखेत पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नं २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा रु दुई करोड बजेट विनियोजन भएपछि गण्डकी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको हो।

गत वर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने तथा प्रदेश सरकारले त्यसलाई जडान गरी पहुँचमार्ग निर्माण गर्ने समझदारी भए पनि जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण उक्त योजना कार्यान्वयन हुन सकेको थिएन। प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट समेत काम अघि बढ्न सकेन।

सवारीसाधनको अत्यधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज निर्माण गर्दा जोखिम हुने प्राविधिक प्रतिवेदनका आधारमा प्रदेश सरकारले रु सात करोड ५० लाख बजेटको स्रोत सुनिश्चित गरेको भए पनि ठेक्का आह्वान हुन नसकेपछि ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी अघि बढाइएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा. महेन्द्र बानियाँले बताए।

उनका अनुसार एउटै कम्पनी वा ठेकेदारले पुलको डिजाइन, नक्सा तथा प्राविधिक विवरण तयार पार्नुका साथै निर्माणसमेत गर्ने ठेक्का प्रणालीलाई ‘डिजाइन एन्ड बिल्ड’ भनिन्छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी र माथितिर ठूलो पहिरो रहेको छ। विसं २०६० अघि मार्ग खुलेदेखि नै हरेक वर्षायाममा वर्षा हुनासाथ पहिरो खस्ने गरेको स्थानीय बताउँछन्। पहिरोका कारण २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा प्रत्यक्ष यातायात सेवा अवरुद्ध हुने गरेको छ।

माथिबाट निरन्तर पहिरो खस्ने र सडक साँघुरो भएका कारण फापरखेतमा पछिल्लो दुई महिनामै दुईवटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका थिए।

मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने उक्त सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्दै आएका छन्।

‘घुमाउने’ भनेर चिनिने फापरखेत पहिरोका कारण स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन तथा दूध, तरकारी र फलफूल बजारसम्म लैजान समस्या हुँदै आएको छ। दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत समस्या हुने गरेको छ।

साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खस्दा यात्रु घाइते हुने तथा सवारीसाधनमा क्षति पुग्ने गरेको स्थानीयको भनाइ छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले फापरखेत हुँदै यात्रा गर्नु जोखिमपूर्ण रहेको उनीहरू बताउँछन्।

पहिरोका कारण म्याग्दी नदीमा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजना तथा डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारण लाइन, सडक, भवन, खानेपानी तथा सिँचाइका आयोजनासमेत प्रभावित भएका छन्।

तत्कालीन जिल्ला विकास समितिले सडकमुनि पक्की पर्खाल निर्माण गरी म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि गरिएका प्रयास प्रभावकारी हुन सकेका छैनन्। पूर्वाधार विकास कार्यालयले हाल सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाउँदै आएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?