News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा शिक्षण र साहित्यकर्ममा संलग्न तीर्थ गुरुङ हालै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्यमा नियुक्त भएका छन् ।
- अनलाइनखबरसँगको कुराकानीमा उनले एआईको प्रभाव, नेपाली राजनीति, र सामाजिक सञ्जालको वर्तमान अवस्थाबारे आफ्ना विचारहरू खुलाएका छन् ।
- उनले बालबालिकाका लागि स्तरीय पुस्तकको कमी रहेको उल्लेख गर्दै जनजाति तथा उत्पीडित समुदायका भाषा र संस्कृतिबारे धेरै लेखन आवश्यक रहेको बताए ।
पोखरामा रहेर शिक्षणसँगै साहित्यकर्म गरिरहेका तीर्थ गुरुङ हालै मात्र नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्यमा नियुक्त भएका छन् । उनको पाठशाला, आपा क्हार्प र हिउँको गीत पुस्तक प्रकाशनमा छन् । उनैसँग यसपटक अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
हिजोआज
१. पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनु भयो ?
मलाई स्वास्थ्यसम्बन्धी समाचारहरूले खुसी बनाउँछन् । जस्तै; मुसामा प्रयोग भएको कृत्रिम मिर्गौला, नयाँ दाँत उमार्ने सकिने (जुन पछि असत्य भएको थाहा भयो) । बगैंचा नजिक बसेका मानिसहरूमा डिमेन्सिया कम हुने आदि । हालै एचपीभी भाइरसलाई ९३ प्रतिशत कटौती गर्न सक्ने र टाउको अनि घाँटीको क्यान्सरको कारक व्याक्टेरिया कम गराउने चुविङ गमको विकास सुनेर मलाई खुसी लाग्यो ।
२. दिक्क बनाएको कुरा ?
क्यान्सरको बिरामी श्रीमतीलाई बोकेर सुनकोशीमा हामफालेको केदारनाथ पराजुलीको समाचारले निकै दुःखी बनायो ।
३. अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
निश्चय नै एआई । यसले संसारलाई कता पुर्याउन सक्छ र यसले के गर्न सक्दैन होला भनेर सोचिबस्छु ।
४. नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाजको स्मरण शक्ति छोटो छ, त्यसैले यो क्षमाशील पनि छ । कुनै पनि कुराको गुदीमा नपुगी छिट्टै तरङ्गित भइहाल्छ । म समाजशास्त्री होइन । हामीसँग इतिहासको ज्ञान त छ तर वर्तमान समाजको अन्डरकरेन्टमा के भइरहेको छ त्यो समाजशास्त्रीहरूको बौद्धिक विलासको विषय मात्र पो भइरहेको छ कि जस्तो लाग्छ । गत वर्ष भदौ २३ र २४ गते मच्चिएको विध्वंसपछि हाम्रो समाजको अध्ययन अझ गहिरिएर जानुपर्ने होला ।

५. आजको पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
युट्युबे र भाइरल हुने प्रतिस्पर्धाले आजको वास्तविक पत्रकारिता पछाडितिर पो धकेलिएको हो कि जस्तो लाग्छ । त्यसमाथि सार्वजनिक रुपमा व्याप्त अविश्वाससँग यसले लडिरहनु पनि परेको होला ।
६. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
मैले बीएससी ड्रपआउट गर्ने थिइनँ र औपचारिक अध्ययनलाई अगाडि बढाउँथेँ ।
बाल्यकाल र किशोरावस्था
१. सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
मैले कुनै खेल मन लगाएर खेलिनँ । सानैदेखि अन्तर्मुखी स्वभावको थिएँ । मेरो सम्झनामा कर्कलाको डाँठमा चोयाका टुक्राहरू गाडेर पानीघट्ट बनाएको, आफूभन्दा ठूलाले बनाइदिने लड्डु खेलेको, भालेजुधाइ खेलेको अनि हामी गुरुङका पुरोहित पच्यु ल्हौरीका तालमा थालहरू ठटाएको यादहरूचाहिँ ताजै छन् ।
२. साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?
हामी दौंतरीहरू एकार्कालाई भाइ भन्थ्यौं । त्यस्तो प्रचलित निकनेम थिएन । तर नेपालको एक शिल्पकार जाति कुमालसँग जोडेर गाउँमा मेरो बुबा र मलाई सम्बोधन गरिने कुमले उपनाम थिएन, त्यो अपमानजनक थियो । जसको अहिले ममा कुनै तुष छैन, कुनै हार्ड फिलिङ्स छैन ।
३. तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
किन नहुनु ? श्रीदेवी । फेसबुकको टाइमलाइनमा श्रीदेवीका तस्वीर र भिडियोहरू आइरहन्छन् । उनको अभिनय, कुनै पनि प्रकारको नृत्य अनि कमिक टाइमिङको कारण अहिले म उनलाई अत्यन्त आदरभावले हेर्छु ।
४. तपाईंको पहिलो प्रेमको सम्झना कस्तो छ ?
हामी आफैंले पारेको घाउको दागलाई प्रदर्शन गर्दैनौं, त्यसलाई लुकाउँछौं र त्यसलाई अहिले कोट्याए पनि घाउ बन्दैन । धेरै पहिले मुभ अन भइसकेको हुँ ।
सिनेमा
१.पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलोचोटी मैले शोले हेरेको थिएँ । बन्दुक ताक्दा कान थुनेको थिएँ, रेल पर्दातिर आइरहँदा म बाहिर निस्किन खोजेको थिएँ । यो मेरा लागि महान् आश्चर्यको विषय र अनुभव थियो । जेहोस्, यो फिल्मले मलाई एकैपटक अर्को संसारमा पुर्यायो ।
२.कस्ता फिल्म हेर्न मन पर्छ ?
म सबै विधाको फिल्म हेर्छु । त्यसको कथा, कलाकारका अभिनय र सिनेमााटेग्राफी राम्रो हुनुपर्यो ।
३. साह्रै मन परेका फिल्म ?
साह्रै मन परेको भनेर मैले कसैलाई छुट्टाएको छैन । तर गडफादर, लर्ड अफ द रिङ्ग्स, टाइटानिक, अवतार र प्यारासाइटहरू दोहोर्याएर हेरिरहन्छु ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
मसँग त्यस्तो भएको सम्झना छैन ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
चर्चा, निर्देशक र मन पर्ने कलाकारको अधारमा फिल्म छान्छु ।
६. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
पछिल्लो समयमा नेपाली फिल्ममा गुणात्मक फड्को आएको छ । प्रतिभाको समस्या छैन, स्क्रिप्टमा आवश्यकता भन्दा कम ध्यान र लगानी भएको हो कि! अलि फिल गुड फिल्महरू पनि बने हुन्थ्यो जस्तो लाग्छ।

पुस्तक
१. पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?
खासमा मेरो अर्को काम भनेको नै पुस्तक पढ्नु हो । म आख्यान, गैर आख्यान र कविता सबै पढ्छु । सामाजिक सञ्जालमा जेलिएर पुस्तक पठनमा उल्लेख्य ह्रास आएको पनि म स्वीकार्छु ।
२. मन परेका कुनै पुस्तक ?
धेरै छन् । समय र उमेर अनुसार मन पर्ने पुस्तक फरक हुँदै आउँदो रहेछ । तर सुम्निमा, शिरीषको फूल, पागल बस्ती, वान हन्ड्रेड यिइर्स अफ सलिच्युड, क्राइम एन्ड पनिस्मेन्ट, क्याचर इन द राइ आदि मेरा सदावहार फेभरेट हुन् ।
३. तपाईंका प्रिय लेखकहरू ?
धेरै छन् । नामै लिनुपरे बीपी कोइराला, शंकर लामिछाने, अल्बेयर कामु, फ्रान्ज काफ्का, मिलन कुन्देरा, हरूकी मुराकामी, गार्सिया मार्खेज, टोनी मरिसन आदि ।
४. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
धेरै पात्रहरू छन् तर ट्रिस्ट्रम शेन्डी उपन्यासका पात्र अङ्कल टोबी अलग्गै छन् । एकदमै दयालु उनी झिँगालाई झ्याल खोलेर बाहिर पठाइदिन्छन् । म उनीसँग एकदिन होइन, हप्ता बिताउँथेँ ।
लेखकहरूलाई हामी तिनका कृतिबाट आफ्ना आदर्श मानिदिन्छौं तर तिनीहरूसँग सँगत गर्दा त्यो आदर्श स्खलन हुने सम्भावना धेरै हुन्छ । म त्यस्ता दुघर्टनाबाट बच्न चाहन्छु ।
५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
जनजाति, अल्पसङ्ख्यक र उत्पीडित जातिका भाषा, संस्कार संस्कृति, इतिहास र साहित्य सम्बन्धि पुस्तकहरू । बालबालिका र किशोरकिशोरीहरूका लागि पनि उचित पुस्तक नभएको अनुभव गर्छु ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
घुमफिर रुचाउँछु तर समय, स्वास्थ्य र बजेट तगारो बनेर उभिन्छन् । रारा ताल, खप्तड क्षेत्र, मनाङ, मुस्ताङ, अन्नपूर्ण बेस क्याप्म, इलाम जस्ता नेपालका प्रसिद्ध पर्यटक स्थलहरू कतै पुगेको छैन ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
विगत १४ वर्षदेखि नियमित फलोअपको लागि अस्पताल गइरहनु पर्ने भएकोले सबभन्दा धेरै गएको ठाउँ काठमाडौं भन्नुपर्यो, जान मन लागेको ठाउँ चाहिँ अगाडि नै भनिसकेँ ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
मर्दी हिमाल पदयात्रा मन परेको हो । नौडाँडादेखि पोथना, प्रितल देउराली हुँदै गुराँसको जङ्गलमा हिँडेको धेरै प्रीतिकर लागेको थियो । बादलडाँडा पुगेपछिको अनुभव शब्दमा व्यक्त गर्न सकिन्न ।
४. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
गीत निकै सुन्छु । मलाई नारायण गोपाल, मेलिना राइ, केनी रोजर्स, जन लेनन र लता मङ्गेसकर मन पर्छन् ।
५. के कुराको विशेष सोख छ ?
त्यस्तो विशेष सोख छैन । म एक्लै हुँदा गुन्गुनाउँछु । राम्रो गाउँदो रहेछु जस्तो लागेर आवाज मोबाइलमा रिकर्ड पनि गरेँ । रिकर्ड भएको आवाज सुन्दा आफैंसँग लाज लाग्यो ।
६. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
यही नै भन्ने छैन । मलाई पेट भर्न पाए हुन्छ । स्वास्थ्यको कारण रुखासुखा खाएर बस्छु ।
७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
मेरो लागि किनमेल भनेको किताबको मात्र हो । किताब पसलहरूमा गइरहन मन लाग्छ ।
८. केकस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
आफ्ना आधारभूत खानेकुराहरू किन्न मात्र पसलतिर जान्छु । बजार गइन्नँ ।
९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
पछिल्लो समय धेरै लुगाफाटो किनेको छैन, साथीभाइले उपहार पनि दिन्छन् ।
१०. अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
लेख्नको लागि चाहिने भएर किनेको म्याकबुक नै सबैभन्दा महँगो वस्तु हो ।

राजनीति
१. नेपालको राजनीति कस्तो लाग्छ ?
यो सधैं जनतालाई तत्कालका लागि खुसी पार्ने किसिमले भइरहेको जस्तो लाग्छ । देशको दीर्घकालीन महत्वका लागि तितो र अप्रिय निर्णय पनि लिन नहिच्किचाउने राजनेताको आवश्यकता देख्छु ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
हाम्रो राजनीतिको मुख्य समस्या नै जहाँ पनि राजनीति हुनु हो ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
अधिकांश नेताहरूमा पुस्तक अध्ययन गर्ने बानी सुधार्थेँ अथवा बसाल्थेँ ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मेरो राजनैतिक चेत विकास हुनै लाग्दा नेल्सन मण्डेला जेलबाट छुटेका थिए । उनलाई मैले निकै पछ्याएँ । उनको आत्मजीवनीका कारण म मण्डेलाबाट प्रभावित छु ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
यस्तो कुरा थाहा पाउने भए म राजनीतिमा हुन्थेँ होला नि!
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
१. कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
सामसङको ।
२. दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
तीनदेखि चार घण्टा । यसलाई घटाउने असफल यत्न गरिरहेकै छु । बढी चलाउने फेसबुक र एक्स (साविक ट्विटर) हुन् । लिङ्कहरू खोलेर लेख अन्तर्वाताहरूपढ्ने काम पनि हुन्छ, हुनलाई ।
३. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ । यो विशेषगरी समाचार अपडेटको लागि हुन्छ ।
४. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सूचना तुरुन्त पाउनु, साथीभाइसँग जोडिइनु राम्रा पक्ष हुन् भने फेक समाचार र भाइरल सामग्रीहरू नराम्रा पक्ष हुन् । एल्गोरिदमका कारण हामी आफ्ना प्रकृति अनुसारका सामग्रीमात्र हेरिरहेका हुन्छौं, अर्को पाटोतिर नहेर्ने हुँदा कति कुराहरू छुटेर जान्छन् ।
५. फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
हिजोआज फलोअर्स र लाइकले त्यति फरक पार्दैन । तर, केही साथीभाइ र अग्रजबाट आएको कमेन्टले म खुशी र उत्प्रेरित हुन्छ र र मलाई भ्युज कति भयो भनेर हेर्न पनि मन लाग्छ ।
६. एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ?
त्यति धेरै चलाउँदिनँ, त्यस्तो जानकारी पनि छैन । च्याटजिपिटीको सट्टा कहिलेकाहीँ म ग्रोक र क्लाउड चलाउँछु ।
७. सामाजिक सञ्जाललाई कसरी लिनुहुन्छ?
यो क्रान्तिको नयाँ टुल भएको छ । कुनै पनि देशमा यसले सत्तापलट गर्न सहयोग गरेको छ । व्यक्तिगत रुपमा हेर्दा यसले सबैलाई नाच्न, गाउन र आफूलाई अभिव्यक्त गर्ने मञ्च दिएको छ ।

रोचक तथ्य
१. पुनः जन्म हुने भए अब के बन्न मन छ ?
अबको दश वर्षपछि पैसा चाहिन्न भनेर एलन मस्कले भनेका छन् । पैसा नचाहिने भए मान्छे नै बनेर जन्मिने थिएँ र धेरै कुकुरहरू पालेर बस्थेँ ।
२. तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
गीत सुनेर, हिँडेर र आफूभन्दा बढी तनाव र दबावमा भएका व्यक्तिहरूसँग तुलना गरेर।
३. तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
असोज कार्तिकतिर धान पाक्न लाग्दाको सुगन्ध, धेरै समयपछिको वर्षातपछि आउने माटोको सुगन्ध र गाउँमा हिउँदपछि वर्षभरिका लागि जम्मा गर्न भर्खरै चिरिएको चिर्पट दाउराको सुगन्ध ।
४. अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
उनीहरूले तिरेको शुल्कले तिम्रो बोर्डिङको तलब आउँछ, त्यसैले बच्चाहरूलाई नपिट्नू भनेर बाले दिनुभएको सुझाव जुन मैले पूर्णतः पछ्याउन सकिनँ ।
५.आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
नैतिक शिक्षाको शिक्षण, बगैंचा र खेल मैदानहरूको निर्माण, खुला ठाउँहरू राख्नु र सबैभन्दा महत्वपूर्ण चाहिँ वातवारण विनाश रोक्नका लागि कठोर कदमहरू चाल्नु ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं।
प्रतिक्रिया 4