News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित सात सदस्यीय नेपाली बक्सिङ टोली ४० दिने विशेष प्रशिक्षणका लागि साउन २५ गते भारत प्रस्थान गर्दैछन् ।
- नेपाली बक्सिङ टोलीले भारतको आसामस्थित स्पोर्ट्स अथोरिटी अफ इन्डियामा अभ्यास पूरा गरी उतैबाट जापानको आइची र नागोयामा हुने एसियन गेम्सका लागि प्रस्थान गर्नेछन् ।
- विश्व बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीले सन् २०१० पछि बक्सिङमा पदकविहीन रहेको नेपालको विरासत फर्काउने मुख्य लक्ष्य राखेको छ ।
२४ साउन, काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्ने लक्ष्य राखेको बक्सिङ टोली अन्तिम तयारीका लागि सोमबार भारतको आसाम प्रस्थान गर्दैछ ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोययामा हुने २०औं एसियन गेम्समा नेपालबाट बक्सिङसहित २२ खेलको सहभागिता हुनेछ ।
जहाँ पछिल्लो पटक पदक जितेको दुई खेल कराते र महिला कबड्डी सँगै बक्सिङबाट पनि पदकको आशा गरिएको छ ।
एसियन गेम्सको हरेक संस्करणमा जस्तै यस पटक नेपालले बक्सिङमा पदक जित्ने लक्ष्य राखेको छ । एसियन गेम्स सुरु हुन अब डेढ महिना भन्दा कम समय बाँकी रहँदा पदक जित्ने सम्भावनालाई अझ बलियो बनाउन नेपाली बक्सिङ खेलाडीहरुले भारतमा अन्तिम तयारी गर्न लागेका हुन् ।
यसअघि बक्सिङ खेलाडीले काठमाडौंमै प्रशिक्षण गरिरहेहको थियो ।
एसियन गेम्समा नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ बक्सिङ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यही ७ खेलाडी नै भारतमा वैदेशिक प्रशिक्षणका लागि जान लागेका हुन् ।
खेलाडीहरुमा पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपाल, महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ छन् ।
रविन बाहेक सबै खेलाडी पहिलो पटक एसियन गेम्स खेल्ने तयारीमा छन् । उनले १९औं एसियन गेम्स पनि खेलेका थिए ।

भारतमा ४० दिन तयारी गर्ने
नेपाली बक्सिङ खेलाडीले एसियन गेम्सअघि स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गर्नेछन् ।
त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय टोली साउन २५ गते भारत जाँदैछन् । त्यहाँ रहँदा नेपालले ४० दिन प्रशिक्षण तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिए ।
एसियन गेम्स खेल्ने बक्सिङको प्रशिक्षकमा राज श्रेष्ठ र दिपक महर्जन छन् । व्यवस्थापकमा महासंघका महासचिव भण्डारी नै छन् ।
बक्सिङ टोली भारतमा प्रशिक्षण गरेपछि उतैबाट जापान जाने भण्डारीले जानकारी दिए ।
नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले भारतको तयारीले पदक जित्नका लागि ठूलो सहयोग पुग्ने बताएका छन् । ‘अहिले हाम्रो टिममा बेस्ट बक्सहरु छन् । उनीहरु भारतमा तयारी गरेर उतैबाट जापान जानेछन् । भारतको उत्कृष्ट ठाउँमा ट्रेनिङ गर्दैछौँ । यसले धेरै सहयोग पुग्छ,’ भारत जानुअघि महासंघले आयोजना गरेको विदाई कार्यक्रममा भण्डारीले भने ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव राम चरित्र मेहताले २०औं एसियन गेम्समा पदकको आशा गरिएको खेलमा बक्सिङ पनि रहेको र भारतको तयारीले त्यो लक्ष्यमा सहयोग हुने बताएका छन् । ‘२०औं एसियन गेम्समा पदकको आशा गरिएको खेलमा बक्सिङ पनि छ । भारतको आसाममा ४० दिनको तयारी छ । त्यसले पनि खेलाडीलाई सहयोग पुग्छ, बक्सिङको विदाई कार्यक्रममा मेहताले भने, ‘विभिन्न खेलको खेलाडीहरुलाई विदेशमा गएर तयारी गर्ने मौका दिएको छ । सरकारले यस पटक सकेसम्म राम्रो तयारी गर्ने प्रयास गरेको छ । विगतमा भन्दा राम्रो हुने आशा राखिएको छ ।’
प्रशिक्षक दीपक महर्जनले भारतमा उत्कृष्ट खेलाडीसँग प्रशिक्षण गर्न पाउने बताए । ‘भारतमा वर्ल्ड च्याम्पियनसिप र ओलम्पिक खेलेका खेलाडीहरुसँग प्रशिक्षण छन् । त्यहाँ गएर प्रशिक्षण गर्दा नेपाली खेलाडीको प्रदर्शन अझ निखारिन्छ । भारतीय आर्मीमा रहनुभएका नरेन्द्र रानाले प्रशिक्षण दिनुहुनुछ । त्यहाँ हाम्रो राम्रो तयारी हुने विश्वास छ ।’

बक्सिङको विरासत फर्काउने चुनौती
नेपाली खेलकुदको बक्सिङको इतिहास सम्झनलायक छ । ओलम्पिक देखि एसियन गेम्समसम् नेपाली मुक्केबाजको उपस्थितीले बक्सिङलाई नेपालको सफल खेल मध्ये एक बनाएको थियो ।
तर पछिल्लो समय भने बक्सिङमा खासै उपलब्धी हात पार्न सकेको छैन ।
एसियन गेम्समा पनि नेपालले तीन संस्करणमा बक्सिङमा पदक जितिसकेको छ । पछिल्लो पटक सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियन गेम्समा दीपक महर्जनले कांस्य पदक जितेका थिए । त्यस संस्करणमा नेपालले जितेको एउटै पदक बक्सिङबाट मात्र थियो । तर त्यसपछिका ३ संस्करणमा बक्सिङले पदक जित्न सकेको छैन ।
यस पटक ७ मुक्केबाजले एसियन गेम्समा प्रतिस्पर्धा गर्दा बक्सिङमा नेपालको विरासतलाई फर्काउने चुनौती छ ।
१६ वर्षअघि चीनमा पदक जितेका महर्जन आफैँ पनि अहिले प्रशिक्षकको भूमिकामा छन् । उनी अघिल्लो पटक चीनमा भएको एसियन गेम्समा पनि नेपालका प्रशिक्षक थिए ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले सन् २०१० पछि नेपालले एसियन गेम्समा बक्सिङबाट पदक जित्न नसकेको र यस पटक पदक जित्ने सम्भावना रहेको बताएका छन् । ‘भारतमा राम्रो स्थानमा खेलाडीले तयारी गर्दैछन् । अब यस पटक पदक ल्याउने लक्ष्य छ ।’
यस पटक नेपाली टिममा वर्ल्ड च्याम्पियनसिपमा पदक जितेर इतिहास रचेका चन्द्र बहादुर रहेको पनि नेपाली बक्सिङबाट ठूलो आशा राखिएको छ ।
चन्द्रले सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन् । चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो ।
एसियन गेम्समा पनि उनीबाट पदकको अपेक्षा छ । चन्द्र आफैँ पनि पहिलो पटक एसियन गेम्स खेल्ने उत्साह सँगै पदक जित्ने लक्ष्यका साथ तयारीमा छन् ।
वर्ल्ड च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्र बहादुर थापा पहिलो पटक एसियन गेम्स खेल्नका लागि उत्साहित छन् र पदक जित्ने लक्ष्य राखेका छन् ।
‘पहिलो पटक एसियन गेम्स खेल्न उत्साहित छु । मेरो लक्ष्य त स्वर्ण जित्ने नै हो । राम्रो प्रदर्शन गर्नेछु’ उनले अनलाइनखबरसँग भने । ‘भारतमा हुने तयारीले धेरै सहयोग पुग्नेछ । त्यहाँम मेरो तौल समूहको खेलाडी (स्पायरिङ)सँग प्रशिक्षण गर्ने अवसर पार्नेछ । यहाँ खासै छैन । त्यसले पनि सहयोग हुन्छ ।’ ४० दिन भारतमा प्रशिक्षण भएपछि त्यसले फाइदा पुग्ने चन्द बताउँछन् ।
पछिल्लो पटक सन् २०१० को एसियन गेम्समा पदक जितेका दिपक महर्जन पनि यस पटक प्रशिक्षक टोलीमा छन् । उनले पनि पदक जित्ने सम्भावना रहेको बताए ।
अहिले नेपाली खेलाडीहरु राम्रो रहेको र पदकको ठूलो आशा रहेको महर्जनले बताए । ‘वर्ल्ड च्याम्पियनसिपमा पदक जितिसकेका चन्द्र थापा लगायत सबै खेलाडी राम्रो छन् । चन्द्रले राम्रो प्रदर्शन गर्दै पदक ल्याउने सम्भावना छ । महिला खेलाडीहरु पनि राम्रो छन् । हाम्रो लक्ष्य भनेको पदक हो । धेरै समयपछि राम्रो खेलाडी आएको चन्द्र थापा मगर । ‘
महर्जनले आफू खेलाडी हुँदा कांस्य जितेका थिए । खेलाडी हुँदा आफूले जितेको भन्दा ठूलो पदक अहिले खेलाडीले जितोस् भन्ने उनको चाहना छ । ‘मेरो इच्छा पनि त्यही हो मैले कांस्य ल्याएँ भने खेलाडीले गोल्ड ल्याओस् भन्ने हो । वर्ल्ड च्याम्पियन्सिपमा पदक आयो । एसियन गेम्समा कांस्य मात्र होइन शिल्भर गोल्ड नै जितोस् भन्ने हो ।’
महासंघका महासचिव तथा टिम व्यवस्थापक भण्डारीले पनि वर्ल्ड च्याम्पियनसिपमा पदक जितिसकेको खेलाडी हुँदा त्यसले पनि मोटिभेट गर्ने बताए । ‘यस पटक हामीसँग वर्ल्ड बक्सिङमा पदक जितेको खेलाडी पनि छन् । जापानमा राम्रो प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य छ ।’

एसियन गेम्समा बक्सिङ
एसियन गेम्समा नेपालबाट पदक जित्ने सिमित खेलहरु मध्ये बक्सिङ पनि अगाडि आउँछन् । अहिलेसम्म एसियन गेम्समा नेपाली बक्सिङले ३ फरक संस्करणमा गरेर ६ कांस्य पदक जितेको छ । सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा १० औं संस्करणमा बक्सिङले पहिलोपटक पदक दिलाएको थियो ।
त्यसबेला दलबहादुर राना मगर, तुलबहादुर थापा, सुशिल पोखरेल र मनोजबहादुर श्रेष्ठले नेपालका लागि कांस्य पदक जितेका थिए । अन्य २ संस्करणमा बक्सिङले एक-एक पदक जितेको थियो । तर दुवै पटक बक्सिङले मात्रै पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।
सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औं संस्करणमा बक्सिङका चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६ औं संस्करणमा दीपक महर्जनले नेपाललाई कांस्य पदक दिलाएका थिए ।
तर सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं संस्करणदेखि बक्सिङले त्यो लय कायम राख्न सकेन ।
४० वर्षअघि ४ कास्य जितेको बक्सिङले त्यसपछि ९ संस्करण खेल्दा जम्मा २ कांस्य पदक पदक मात्र जितेको छ ।
यस पटक बक्सिङले आफ्नो पुरानो साखलाई फर्काउने लक्ष्यसहित भारतमा तयारी गरेर जापानको आइची नागोयामा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4