News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान मानबहादुर श्रेष्ठले नेपाल भलिबल संघको नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गर्नुभएको छ ।
- अस्ट्रेलियामा रहेका श्रेष्ठले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा आफू स्वतन्त्र रूपमा संघ चलाउन तयार रहेको बताउनुभयो ।
- सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका श्रेष्ठले भलिबलमा भविष्य नदेखेपछि २०८१ कात्तिकमा सन्यास लिएर विदेशिनुभएको थियो ।
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान मानबहादुर श्रेष्ठ अहिले अस्ट्रेलियामा छन् । २०८१ कात्तिकमा अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिँदै अस्ट्रेलिया पलायन भएका थिए । अहिले उनी नेपाल भलिबल संघको नेतृत्वमा आउने इच्छा जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाल आएर भलिबल संघको नेतृत्व गर्न तयार रहेको उल्लेख गरे । ‘यदि सम्भव छ भने नेपाल भलिबल संघले मलाई अध्यक्षमा नियुक्त गर्न सक्नुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल सरकारबाट पारित गरेर ल्याउनुहुन्छ र मलाई संघ चलाउन दिनुहुन्छ भने म आउन तयार छु,’ उनले भने ।
संघमा आउन चाहेपनि निर्वाचन लड्ने संकेत श्रेष्ठले गरे । उनले भने, ‘विभिन्न तरिकाले जाने हो भने मलाई राजनीतिक कुरा आउँदैन । त्यो ठाउँमा छिर्न पनि चाहन्न । त्यसकारण स्वतन्त्र भएर भलिबल संघ चलाउन तयार छु ।’
नेपाल भलिबल संघकाे विधानअनुसार भने संघको अध्यक्ष हुन एक कार्यकाल सदस्य हुनुपर्ने व्यवस्था छ । मानबहादुरले भनेबमोजिम सोझै अध्यक्ष बन्न विधान नै परिवर्तन गर्नुपर्ने हुन्छ जुन तत्कालका लागि भने सम्भव देखिँदैन ।
विसं २०६८ मा साविक पश्चिमाञ्चलको सिनियर टिमबाट खेलेका मानबहादुरले त्यसैबेलो करारमा झण्डै दुई वर्ष नेपाल प्रहरीको टिमबाट खेलेका थिए । २०७१ सालबाट उनले आर्मीमा जागिर सुरु गरे र आर्मीबाट खेल्न थाले । त्यसको एक वर्षमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाए ।
सन् २०१५ मा बंगलादेशमा भएको एशियाली सेन्ट्रल जोन भलिबलमा बंगलादेशविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । २०८० साउनमा उनले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका थिए ।
तर, त्यसको एक वर्षमै उनी सन्यास लिएर पलायन भएका थिए । उनले भलिबलमा भविष्य नदेखेका कारणले अस्ट्रेलिया पलायन हुन बाध्य भएको उल्लेख गरे ।
प्रतिक्रिया 4