+
+
Shares

सर्वोच्च अदालतले किन बरामद सामग्री समेत पेस गर्न आदेश दिएको हो ?

नेपालको संविधानमा छ- ‘कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने उपकरण अन्य सञ्चार माध्यमलाई बन्द, जफत गरिने छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सोमबार बिहान १० बजे सशरीर उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
  • न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई पक्राउ गर्नुको कारण र जाहेरीसहितको अनुसन्धान फाइल पेश गर्न आदेश दिएको छ ।
  • अदालतले प्रहरीले बरामद गरेका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसहितका सामग्री पनि पेश गर्न निर्देशन दिएको छ ।

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार जनआस्था साप्ताहिकका सम्पादक एवं पत्रकार किशोर श्रेष्ठलाई सोमबार बिहान १० बजे सशरीर उपस्थित गराउन आदेश दिएको छ ।

पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको इजलासले पत्रकार श्रेष्ठविरुद्धको उजुरी र उनलाई पक्राउ गर्नुको कारणबारे जवाफसमेत पेस गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल समेत पेस गर्न आदेश दिएको छ । त्यसबाहेक सर्वोच्च अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोवाइल समेत लिएर अदालतमा पेस गर्न आदेश दिएको हो ।

नेपालको संविधानको धारा नेपालको संविधानको धारा १९ मा सञ्चारको हक सम्बन्धी व्यवस्था छ । जसमा ‘कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने उपकरण अन्य सञ्चार माध्यमलाई बन्द, जफत गरिने छैन’ भन्ने प्रावधान राखिएको छ ।

प्रहरीले जनआस्थाका सम्पादक श्रेष्ठको घर र कार्यालयमा छापा मारेर केही कम्प्यूटरहरु बरामद गरेको थियोछ । जुन काममाथि पत्रकारको हक अधिकारको वकालत गर्नेहरूले चर्को विरोध गरेका छन् । सञ्चारमाध्यमका कार्यालयबाट सामग्री र उपकरण जफत गरिनु संविधान विपरितको काम भन्दै कानून व्यवसायीहरूले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका थिए ।

त्यसैका आधारमा सर्वोच्च अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद उपकरण र सामग्री सहित उपस्थित हुन प्रहरीलाई आदेश दिएको हो ।

बहसका क्रममा कानून व्यवसायीहरुले बरामद उपकरण र समग्रीमा सूचनाको स्रोतको पहिचान रहेको र त्यो खुलेमा स्रोतको गोपनीयता समेत संकटमा पर्ने भन्दै अदालतबाट उपकरण मगाउन र फिर्ता गराइदिन माग गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले उपकरण झिकाउन आदेश दिएको हो ।

लोकमानसिंह कार्की अख्तियारको प्रमुख भएको बेला वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा छापा मारेको घटनामा पनि सर्वोच्च अदालतले यस्तै आदेश गरेको थियो । राजस्व अनुसन्धान विभागले थापाको फर्मबाट कम्प्यूटर र कागजात लगेको थियो ।

मुद्दाका कागजात र मिसिलमा कानून व्यवसायीका पक्ष (मुद्दाका व्यक्ति)का कतिपय धारणा र वैयक्तिक विवरण समेत थिए । ती कागजात जफत गर्नु नागरिकको न्यायको हकको समेत बर्खिलाप हुने भनी कानून व्यवसायीहरूले प्रश्न उठाएपछि सर्वोच्च अदालतले कम्प्यूटर र कागजात फिर्ता गर्न आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?