+
२० औं एसियाड :

कबड्डीको काँधमा पदक सपना

२०८३ साउन  ३० गते २०:५२ २०८३ साउन ३० गते २०:५२

अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन गरेको महिला कबड्डी टोलीले यस पटक पनि इतिहास रच्ने लक्ष्यसहित २०औँ एसियाली खेलकुदमा सहभागी हुँदैछ । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला कबड्डी टोली २०औँ एसियाली खेलकुदमा ऐतिहासिक पदक रक्षा गर्ने र थप सुधारिएको नतिजा ल्याउने लक्ष्यका साथ भारतमा विशेष प्रशिक्षण गरिरहेको छ ।
  • टोलीका मुख्य प्रशिक्षक पार्वती राईले अनुभवी खेलाडीहरूको उपस्थिति र भारतमा प्राप्त म्याच एक्सपोजरका कारण टोली यस पटक पनि पदकविहीन नहुने विश्वास व्यक्त गर्नुभएको छ ।
  • पाँचौँ पटक एसियाडमा सहभागिता जनाउन लागेको नेपाली पुरुष कबड्डी टोलीले समेत विगतको तुलनामा राम्रो प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य राखेको छ ।

३० साउन, काठमाडौँ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुँदा नेपाली महिला कबड्डी टोलीले पदक जित्ने कल्पना धेरैले गरेका थिएनन् । पुरुष टोली जस्तै महिला कबड्डी टोली पनि सहभागितामै सीमित हुने आकलन धेरैको थियो ।

तर, महिला टोलीले एसियाडको मञ्चमा शानदार प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलायो । अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन गरेको महिला कबड्डी टोलीले यस पटक पनि इतिहास रच्ने लक्ष्यसहित २०औँ एसियाली खेलकुदमा सहभागी हुँदैछ ।

नेपाली कबड्डी टोली अहिले भारतमा प्रशिक्षण गरिरहेको छ । टोलीले भारतको हरियाणा प्रशिक्षण गरिरहेको टोलीका प्रशिक्षक लोकबहादुर विष्टले जानकारी दिए । ‘टोलीले हरियाणाका टिमहरूसँग अभ्यास खेल खेलिरहेको छ । भारतमै अन्तिम तयारी गरेर सम्भवत यतैबाट एसियन गेम्स खेल्न जापान जानेछौँ,’ उनले भने ।

यस पटक अघिल्लो पटकभन्दा माथिको पदक जित्ने लक्ष्य रहेको प्रशिक्षक विष्टले बताए । उनले भने, ‘सकेसम्म त्यहाँभन्दा माथिको पदक जित्ने नसके त्यसलाई रक्षा गर्ने लक्ष्य छ ।

१९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको टोलीमा रहेकामध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । टोलीको कप्तानी मानमती विष्टले सम्हाल्नेछिन् । टोलीमा मानमतीसहित जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनीता पण्डित क्षेत्री र आस्मा यादव छन् ।

मानमती, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् । मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी छन् । अहिले मुख्य प्रशिक्षक रहेकी पार्वती हाङझाव एसियाडमा पनि सोही जिम्मेवारीमा थिइन् ।

महिला टोली यसपालि पनि पदकविहीन नहुने विश्वास मुख्य प्रशिक्षक राईको छ ।

‘हामी अगाडिदेखि नै प्रशिक्षणमा थियौं । भारतमा हामी करिब डेढ महिना बस्छौं । मुख्य कुरा हामीसँग पहिले नेपालमा म्याच एक्सपोजर गर्ने टोलीहरू थिएनन्, यहाँ त्यो सुविधा छ,’ उनले भने, ‘हामीसँग पुराना ६ जना अनुभवी खेलाडी सेटमै हुनुहुन्छ, त्यसैले यसपालि पनि पदकविहीन हुन्नौं भन्ने विश्वास छ ।’

यो टोलीले १४ माघ २०८० बाटै एसियाडको मिसन–२०२६ मार्फत प्रशिक्षण गरिरहेको थियो । तर, काठमाडौंमा कबड्डीका लागि उपयुक्त मैदान नहुँदा प्रशिक्षण सोचेअनुरूप हुन नसकेको अनुभव कबड्डी टोलीको छ ।

‘कबड्डीको महिला टोली २ वर्षदेखि ट्रेनिङमै थिए । यो बीचमा ३० दिन मात्रै म्याटमा ट्रेनिङ भयो होला । अनि कसरी प्रदर्शन सुध्रिन्छ त,’ अखिल नेपाल कबड्डी सङ्घका एक सदस्यले भने ।

एसियाली खेलकुदको महिला कबड्डीतर्फ ८ राष्ट्रको सहभागिता छ । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा नेपालसहित श्रीलङ्का, थाइल्यान्ड र चाइनिज ताइपेई छन् । समूह चरणमा नेपाललाई मुख्य चुनौती चाइनिज ताइपेई हुनेछ ।

नेपाल थाइल्यान्ड र श्रीलंकालाई पन्छाउँदै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछ । ३ महिनाअघि बीच कबड्डीमा नेपालले थाइल्यान्ड र चाइनिज ताइपेई दुवैलाई पराजित गरेको थियो । तर, चाइनिज ताइपेईले पहिलो रोजाइँको टोलीलाई विश्राम दिएको थियो । सोही बेला नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

यसपटक श्रीलंकालाई बदला लिने अवसर पनि नेपाललाई रहनेछ ।

समूह ‘ए’ मा इरान, जापान, बङ्गलादेश र भारत छन् । भारत १९औँ एसियन गेम्सको विजेता हो । फाइनलमा ताइपेईंलाई हराउँदै भारतले महिला कबड्डीतर्फको उपाधि जितेको थियो । इरान पनि जापान र बङ्गलादेशको तुलनामा बलियो टोली हो । यो समूहबाट भारत र इरान सेमिफाइनल पुग्ने मुख्य दाबेदार हुन् ।

एसियाली खेलकुदमा महिला टोलीको दोस्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यस बेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।

त्यसबाहेक पनि नेपाली महिला कबड्डी टोलीले गत वैशाखमा भएको छैटौं एसियन बिच गेम्सअन्तर्गत बिच कबड्डी र २०८१ फागुनमा इरानमा भएको छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिप दुवैमा कांस्य पदक जितेको थियो ।

एसियाली खेलकुदमा ऐतिहासिक पदक जिताएपछि कबड्डीका लागि पूर्वाधार नेपालमा छैन । तयारीका लागि आवश्यक संरचनाको कमी रहेको महिला टोली प्रशिक्षक विष्टको अनुभव छ ।

‘नेपालमा एउटा पनि खेलमैदान छैन । माटोमा खेल्ने पनि ठाउँ छैन । म्याच खेल्ने टोली पनि छैनन्,’ उनले भने, ‘यहाँ (भारत)मा म्याटको पनि मैदान छ, माटोको मैदान पनि छ । यहाँ खेल्दा कमजोरी सुधार्ने अवसर मिल्छ ।’

उपेक्षामा पुरुष कबड्डी

२०औँ एसियाली खेलकुदका लागि २०८० मै महिलासँगै पुरुष टोलीको पनि प्रशिक्षण सुरु गरिएको थियो । तर, बजेट अभाव भएको भन्दै केही समयमै पुरुषतर्फको प्रशिक्षण रोकिन पुग्यो । जसका कारण पुरुष कबड्डी खेलाडीहरू भारतमा गएर छुट्टाछुट्टै प्रशिक्षण गर्न बाध्य भए ।

अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्द झाका अनुसार ६ खेलाडीले भारतमै र चार खेलाडीले आर्मीमा प्रशिक्षण गरिरहेका थिए । साउन १ गतेदेखि मात्रै उनीहरू सँगै प्रशिक्षण गरिरहेका छन् ।

‘यसअघि ६ जनाले भारत र ४ जनाले आर्मी टेनिङ गरिराख्नुभएको थियो । साउन एक गतेदेखि सबैले सँगै प्रशिक्षण गरिराख्नुभएको छ,’ उनले भने ।

पुरुष कबड्डी टोलीले पछिल्लो पटक २०८१ असोजमा इरानमा भएको बिच कबड्डी विश्वकप खेलेका थिए । इराक र इरानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सोही वर्षको जेठमा बङ्गलादेशमा भएको चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा भने नेपाल उपविजेता बनेको थियो ।

यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । तर, हालसम्म कुनै पनि पदक जित्न सकेको छैन ।

पाँचौंपटक सहभागिता हुन लागेको पुरुष टोलीलाई सरकारले खासै प्राथमिकता दिएन । छुट्टाछुट्टै प्रशिक्षण गरिरहेका खेलाडीहरू प्रतियोगिता हुनुभन्दा २ महिनाअघिबाट मात्रै सँगै प्रशिक्षण गर्न पाएका छन् ।

पाँचौं प्रयासमा यस पटक पदक जित्ने लक्ष्यमा नेपाली टोली रहनेछ ।

प्रशिक्षणमा खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन् । प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा परशुराम ओली छन् ।

पुरुषतर्फको प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपालसहित इरान, पाकिस्तान, मलेसिया र थाइल्यान्ड छन् । यो समूहमा इरान र पाकिस्तान बलिया टोलीको रूपमा छन् । उक्त समूहबाट इरान र पाकिस्तान सेमिफाइनलका दाबेदार हुन् ।

२०८१ को असोजमा भएको बिच कबड्डी विश्वकपमा इरान विजेता र पाकिस्तान उपविजेता बनेका थिए । सेमिफाइनलमा पुग्न नेपालले मलेसिया र थाइल्यान्डसँग इरान र पाकिस्तानमध्ये एक टोलीलाई पनि हराउनुपर्नेछ । समूह ‘ए’ मा भारतसँगै आयोजक जापान, चाइनिज ताइपेई, बङ्गलादेश र दक्षिण कोरिया रहेका छन् । यो समूहमा भारत र दक्षिण कोरिया सेमिफाइनलका प्रमुख दाबेदार हुन् ।

पुरुष टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले टोली विगतभन्दा राम्रो भएकाले यस पटक पदक जित्ने विश्वास व्यक्त गरे ।

‘यस पटक विगतभन्दा राम्रो टोली छ । त्यस कारण मेडल टर्च गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।

टोलीले अहिले भारतको विके कबड्डी एकेडेमीमा प्रशिक्षण गरिरहेको प्रशिक्षक भट्टले बताए । प्रशिक्षणसँगै क्लब र डिस्ट्रिक्ट लेभलका टोलीहरूसँग अभ्यास खेल खेलिरहेको उनको भनाइ छ ।

२० औं एसियाड कबड्डी पदक सपना
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय