News Summary
Generated by OK AI. Editorially reviewed.- १९औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङसहितको कराते टोलीले २०औं संस्करणमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ निरन्तर प्रशिक्षण गरिरहेको छ ।
- सातदोबाटोस्थित कराते हलमा प्रशिक्षक कुशल श्रेष्ठको नेतृत्वमा पाँच खेलाडीले दैनिक दुई पटक कडा मेहनत गर्दै एसियन गेम्सका लागि तयारी गरिरहेका छन् ।
- गत संस्करणमा रजत पदक जितेर हौसिएको नेपाली कराते टोलीले यस पटकको प्रतियोगितामा स्वर्ण पदक नै हासिल गर्ने उच्च मनोबलका साथ प्रशिक्षणलाई अघि बढाएको छ ।
१९औं एसियन गेम्समा नेपालले जम्मा दुई पदक जित्दा करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । दुवै पदक ऐतिहासिक पदक थियो ।
त्यसबेला कराते र कबड्डीले नेपालको साख जोगाएको थियो । थोरै पदक भएपनि एरिकाले करातेमा जितेको पदक ऐतिहासिक थियो । किनभने करातेमा त्यो पहिलो रजत थियो भने व्यक्तिगत विधामा पनि नेपालले २५ वर्षपछि एसियन गेम्समा रजत पदक जितेको थियो ।
१९औं एसियन गेम्स पछि नै २०औं संस्करणको लागि भनेर मिसन २०२६ सुरु भयो । जसको लक्ष्य थियो स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने ।
एरिकाले हान्झाउमा रजत त जितिन् तर त्यसमा स्वर्ण गुमेको दु:ख पनि थियो । त्यसैले पनि जापानमा हुने २०औं एसियन गेम्सका लागि नेपालले स्वर्ण जित्ने लक्ष्य राखेर तयारी सुरुवात गरेको थियो ।
त्यसमा करातेले पनि लगातार प्रशिक्षण गर्दै आएको छ । यस पटक करातेबाट एसियन गेम्समा कूल ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यमसा कुमुते अर्थात फाइट विधामा ५ खेलाडी छन् ।
करातेकी स्टार एरिका गुरुङसहित महिलामा निरुपमा दोङ र पुरुषतर्फ तेन्जिङ शेर्पा, मिन बहादुर गुरुङ र राकेश मानन्धर छन् ।

पाँचै खेलाडी अहिले दैनिक दुई पटक सातदोबाटोस्थित कराते हलमा प्रशिक्षण गरिरहेका छन् । उनीहरूलाई प्रशिक्षक कुशल श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
एरिकाले महिला ६८ केजी माथि र निरुपमाले ६८ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै राकेशले ५० केजी, मिन बहादुरले ५५ केजी र तेन्जिङले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालमै प्रशिक्षण गरिरहेको कराते कुमुते टोलीले इजिप्टमा गएर तयारी गर्ने योजना बनाएपनि प्रावधिक कारणले गर्दा नमिलेको र नेपालमै तयारी गर्ने प्रशिक्षक कुशल श्रेष्ठले बताए ।
एसियन गेम्सको लागि केही समय अगावै जापानमै गएर प्रशिक्षण व्यवस्था मिलाउने विषयमा कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद्सँग कुरा भइरहेको श्रेष्ठले बताए ।
स्वर्ण जित्ने लक्ष्य
अहिले मिसन २६ को लक्ष्य अनुसार नै एरिका र नेपाली कराते टोलीको लक्ष्य अझ ठूलो छ । यस पटक स्वर्ण पदक नै जित्ने । त्यसमा कराते स्टार एरिका गुरुङबाट सबैभन्दा धेरै अपेक्षा छ ।
‘१९औं एसियन गेम्स पछि नै मिसन २०२६ सुरु भएको थियो र यो लगातार ३ वर्ष भयो । २०औं एसियन गेम्स एकदमै राम्रो छ । त्यो तीन वर्षमा मिसन २०२६ मा को बस्ने भनेर सेलेक्ट गर्दा बेस्ट अफ बेस्ट खेलाडीहरू नै सेलेक्ट हुनुभएको छ । अहिले पनि बेस्ट प्लेयरहरू नै एसियनको लागि तयारी गरिरहनुभएको छ’ एरिकाले अनलाइनखबरसँग भनिन्, ‘१९औं संस्करणमा सिल्भर मेडल हासिल गरिसकेका छौँ । २०औं को माहोल तयारी हेर्ने हो भने टार्गेट हो भने अपेक्षा भनेको सबैको गोल्ड छ जस्तो लाग्छ । हामी राम्रो तयारीमा गरिहेका छौं ।’
एरिकाकै भनाइमा १९औं संस्करणमा नेपालले गोल्ड गुमाएको र यस पटक स्वर्ण पदक नै जित्ने तयारी रहेको बताइन् । ‘१९औं एसियन गेम्समा राम्रो मेडल आयो । तर हामीले सिल्भर मेडल जितेको हो गोल्ड हारेको हो भन्ने त्यतिबेलै थियो । २०औं को लागि सबै खेलाडीले पदक मात्र होइन गोल्डकै हासिल गर्न चाहेको छ ।’
अहिले तयारीमा रहेका सबै खेलाडी छानिएर आएको बेस्ट भएकोले नेपालले राम्रो एक्सपोजर पाएको र एसियन गेम्समा लक्ष्यबाट धेरै टाढा नभएको पनि एरिकाको बुझाई छ । ‘सबै जना बेस्ट नै छन् । हरेक पटक छनोट गर्दा बेस्ट नै आइराछन् । सबै जनाको मिहिनेत हेर्दा एसियन गेम्मसा वर्ल्ड च्याम्पियनसपमपा राम्रो एक्सपोजर भयो, उनी भन्छिन्, ‘एसियन गेम्समा हाम्रो लक्ष्य त्यति टाढा छैन जस्तो छ ।’

एरिकाकै भनाइमा सहमति जनाउँदै प्रशिक्षक श्रेष्ठले पनि १९औं एसियन गेम्समा रजत जितेपछि नेपाली खेलाडी अब स्वर्णबाट टाढा नभएको विश्वास त्यतिबेलै लागेको बताए । ‘एरिकाले भने जस्तै १९औं एसियन गेम्सको पदकपछि हामी धेरै टाढा छैनौँ गोल्ड मेडलका लागि भन्ने आशा पलाएको थियो । यो ३ वर्ष कुनै दिन छैन होला हामीले प्रशिक्षण विना रहेको’ प्रशिक्षक श्रेष्ठले भने, ‘अहिले भन्दा पहिले देखिको तयारी निरन्तर छ र देशलाई ऐतिहासिक पदक दिलाउम भनेर मिसन भिजन लिएर हिँडेका छौं । राम्रो आशा गरौं ।’
एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र नभई प्रशिक्षणमा पनि राम्रो स्पायरिङ पार्टनर पाएको र त्यसले पनि धेरै सहयोग पुगेको प्रशिक्षक श्रेष्ठले बताए ।
‘एरिकाले जुन हिसाबले पछिल्लो समय रिजल्ट दियो । त्यसमा उसँगै ट्रेनिङ गर्ने पार्टनरले जति राम्रो खेल्नेछ एरिकाले पनि राम्रो खेल्ने हो । यो खेलमा एक जनाले मात्र राम्रो खेल्ने होइन स्पायरिङ पार्टनर रामरो हुनुपर्छ’ उनले भने ।
एरिकाले आफ्नो तौल समूहमा विश्वकै उत्कृष्ट खेलाडीलाई पनि हराइसकेकोले एरिका आफैं पनि अहिले बलियो दाबेदारको रुपमा रहेको प्रशिक्षक श्रेष्ठले बताए ।
एरिका बाहेक अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेको प्रशिक्षक श्रेष्ठले बताए । तर पदकको रुपमा नआउँदा त्यसमा उपलब्धि नदेखिएको उनको भनाइ छ ।

एरिकामा आएको परिवर्तन र प्रभाव
एरिका अहिले नेपाली कराते मात्र नभएर नेपाली खेलकुदकै स्टार खेलाडीको रुपमा छिन् र धेरैले उनलाई आइडल पनि मानेर अघि बढेका छन् ।
उनले १९औं एसियन गेम्समा रजत जितेपछि एसियन कराते च्याम्पियनसिपमा पनि रजत जितिन् । त्यसपछि डब्लुकेएफ कराते वान प्रिमियर लिगका पनि रजत र कांस्य पदक जितिसकेकी छिन् भने एसिया र दक्षिण एसियामा लगातार स्वर्ण जितिरहेकी छन् ।
एरिकाले खेल्ने हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा केही अपवाद छाड्ने हो भने कुनै न कुनै पदक जित्दै आएकी छन् ।
उनले १९औं एसियन गेम्समा पदक जितेदेखि अहिलेसम्म आफूमा आएको परिवर्तनलाई सकरात्मक रुपमा हेरेकी छन् । ‘एक खेलाडीको रुपमा यो परिवर्तन एकदमै राम्रो र पोजेटिभ लाग्छ । १९औं एसियन गेम्सलाई मैले ड्रिमको रुपमा लिने गर्छु । अहिले बाहिर प्रिमियर लिगहरू देखि धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता गर्यौ र त्यो अनुभवहरू लिन पाएँ । हामीले बाहिर पनि नेपाल भनेर जुन छाप छाडेका छौँ त्यसमा गर्व लाग्छ । प्रशिक्षकहरू लगायत सम्पूर्णले जुन तरिकाले मिहिनेत गर्नुभाछ त्यो कुरा मलाई विशेष महसुस हुन्छ ।’
चीनको हान्झाउमा पदक जितेपछिको एरिका र अहिलेको एरिकामा खेलको मात्र नभइ उनको बुझाई देखि धेरै कुरा परिवर्तन भइसकेको छ । तर उनले एउटा कुरा भने छाडेकी छैनन् । निरन्तर प्रशिक्षण कडा मिहिनेत, आफ्नो कन्फिडेन्स र सधैं उत्कृष्ट गर्ने लक्ष्य ।

यसअघि प्रिमियर लिग लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्लै जाने गरेकी एरिका अहिले आफ्नो टिममेटसँगै एसियन गेम्स खेल्न जान उत्साहित पनि छिन् । ‘यी सबै कुराहरूलाई हेर्दा म दबाबलाई इन्जोए गरिरहेको छ । एक्लै जाँदा ओहो! भन्ने हुन्थ्यो अहिले सबै टिमसँगै जाँदा म कन्फिडेन्ट छु र रमाइलो लागिरहेको छ ।’
अहिले क्लोज क्याम्पमा होटलमा बसिरहँदा पनि धेरैले शुभकामना दिने गरेर र अब गोल्ड मेडल ल्याउनुपर्छ भन्नुहुन्छ । ‘रजत जितेर प्रमाणित गरिसक्यौं अब स्वर्ण जित्नुपर्छ भनेर शुभकामना दिनुहुन्छ । त्यसो भन्दा हामी पनि मोटिभेट हुन्छौं’ एरिका भन्छिन् ।
यस्तै टिममै रहेका अन्य खेलाडीहरू पनि एरिकाबाट इन्स्पायर हुन्छन् । ‘एरिका, निरुपा भएर पनि हामीलाई धेरै नै सजिलो भएको छ । एरिका सिल्भर मेडिल्ट हुँदा हामीलाई फाइदा भएको छ । मिस्टेक हुँदा पनि सम्झाइरहको हुन्छ मोटिभेट गरिरहेको छ त्यसले गर्दा हामीले पनि अझ गर्नुपर्छ भन्ने हुन्छ र मनोबल पनि बढिराछ’ पहिलो पटक एसियन गेम्स खेल्ने तयारीमा रहेका मिन बहादुर तामाङले भने ।
यस्तै अर्का खेलाडी राकेश मानन्धरले पनि पदक जितिसकेको एरिका र अनुभवी खेलाडी प्रशिक्षक हुँदा फाइदा हुने बताउँछन् । ‘टिममेट राम्रो हुँदा मोटिभेसन धेरै हुन्छ । निरुपा, एरिका दिदीले राम्रो खेलेर देशका लागि मेडल पनि जितिसक्नुभयो । त्यो देखेर हामीले पनि केही गर्नुपर्छ भन्ने हुन्छ’ उनले भने, ‘कुशल गुरुले पनि राम्रो गर्नुभाछ । गेमको भिडियो देखाएर टेक्निकहरू कसरी सिक्ने भनेर मोटिभेट गर्नुभाछ । दिदीहरू अनुभवी हुँदा सहयोग भइरहेको छ ।’
यस्तै पहिला बी टिम हुँदै अहिले एसियन गेम्सको लागि तयारी गरिरहेका तेन्जिङ शेर्पा (८४ केजी मुनी) पनि सबैले टिममा एकअर्कालाई मोटिभेट गरिरहेको र यो राम्रो रहेको बताए ।

सबैको लक्ष्य पदक
एरिकाले यसअघि नै रजत पदक जितिसकेकोले उनको अबको लक्ष्य अझ ठूलो पदक जित्नु हुनेछ । साथै यसपटक करातेको कुमुते (फाइट) विधामा सबैले पदकको लक्ष्य राखेका छन् । एरिका मात्र नभएर बाँकी चार खेलाडीबाट पनि पदकको सम्भावना रहेको प्रशिक्षक कुशल श्रेष्ठ बताउँछन् ।
महिलातर्फ एरिका र निरुपमाले यसअघि नै १९औं एसियन गेम्स खेलिसकेको अनुभव छ भने पुरुषतर्फ फाइटमा तीने खेलाडी पहिलो पटक एसियन गेम्स खेल्ने तयारीमा छन् । त्यसैले तेन्जिङ, मिन र राकेश एसियन गेम्स खेल्न उत्साहित त छन् नै पदक जित्ने लक्ष्यमा पनि छन् । ‘तयारी राम्रो भइराछ । विगत ३ वर्ष दे क्लोज क्याम्पमा छौं त्यसले गर्दा मोटिभेसन भएको छ । एकदमै उत्सहित छु एसियन गेम्स खेल्न र नतिजा पनि राम्रै आउँछ भन्ने आशा छ’ मिन बहादुरले भने, ‘मेरो पहिलो पटक एसियन गेम्स भएकोले उत्साही छु । पहिला भन्दा राम्रो तयारी भइराछ । हाम्रो लक्ष्य गोल्ड नै हो र राम्रो हुने आशा छ ।’

यस्तै राकेश मानन्धरले पनि एसियन गेम्समा खेल्नु नै ठूलो कुरा भएको र राम्रो नतिजा ल्याउने पनि बताए । ‘तयारी राम्रो भइरहेको छ । एक्साइटमेन्ट धेरै नै छ पहिलो पटक खेल्न पाइराछौं, धेरै मानिसहरूबीचमा हामी परेका छौं । सहभागी भएर खेल्नु पनि ठूलो खुशी हो । आशा छ राम्रो रिजल्ट आउँछ ।’
प्रशिक्षक कुशल श्रष्ठले पनि यस पटक फाइटमा सबै खेलाडीबाट पदकको आशा रहेको र सकेसम्म गोल्डकै लक्ष्य रहेको बताए । ‘सबै जनाबाट गोल्डको आशा गर्नु स्वभाविक हो । कतिपय कुरा रियालिस्टिक पनि हुनुपर्छ तर सबै खेलाडीले स्वर्ण नभएपनि पदक जित्छ ।’
यस पटक एसियन गेम्समा उत्कृष्ट खेलाडीहरू मात्र सहभागि हुने भएकोले हरेक फाइट टफ हुने श्रेष्ठको भनाइ छ ।
तस्वीरहरू : विकास श्रेष्ठ

प्रतिक्रिया 4