+
नेपाली क्रिकेट :

टप एन्ड टी-२० सिरिजमा नेपाल ए को परीक्षा, यस्ता छन् प्रतिद्वन्द्वी

२०८३ भदौ  २ गते १३:५५ २०८३ भदौ २ गते १३:५५

अघिल्लोपटक सिनियर टोलीले नै खेलेको टप एन्ड टी-२० सिरिजमा यसपटक नेपाल ए टोली पठाइएको छ । टोलीमा सिनियर टोलीका केही खेलाडीहरू पनि समावेश छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपालले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय 'नेपाल ए' टोली पठाउने निर्णय गरेको छ ।
  • एसीसी प्रिमियर कपसँग तालिका जुधेकाले सिनियर टोलीको सट्टा यसपटक नेपाल ए टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
  • नेपालले अगस्ट २१ देखि २९ सम्म विभिन्न ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसलाई एसियन गेम्सको तयारीका रूपमा समेत हेरिएको छ ।

२ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रोपटक सहभागिता जनाउँदै छ । गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको हो ।

अघिल्लोपटक नेपालले टी-२० विश्वकप छनोटको तयारीस्वरुप सिनियर टोलीलाई नै त्यहाँ पठाएको थियो भने यसपटक नेपाल ए टोली पठाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यसपटक भने एसीसी प्रिमियर कपसँग तालिका जुधेकाले सिनियर टोलीको सट्टा नेपाल ए टोली पठाउन लागेको हो ।

गत संस्करणमा सिनियर टोलीले खेलेको प्रतियोगितामा नेपालले ६ खेलबाट दुई जित निकाल्दा चार खेलमा पराजय बेहोरेको थियो । नेपालले होबार्ट हुरिकेन्स एकेडेमी र मेलबर्न रेनेगेड्स एकेडेमीलाई पराजित गरेको थियो भने मेलबर्न स्टार्स एकेडेमी, एनटी स्ट्राइक, बंगलादेश ए र पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।

यसपटक नेपालले प्रतियोगितामा ६ फरक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ ।

नेपालको टोलीमा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका खेलाडी पनि छन् । कप्तान अनिल साहसँगै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, शाहब आलम, रुपेश सिंह, पवन सर्राफले नेपालका लागि खेलिसकेका छन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरूलाई समेत टोलीमा समेटिएको छ ।

नियमित सिनियर टोलीका सदस्य कुशल भुर्तेल यसपटक टप एन्ड खेल्ने टोलीमा छन् । उनलाई केही समय एकदिवसीय क्रिकेटबाट विश्राम दिइएकाले टी–२० सिरिजका लागि नेपाल ए टोलीमा समावेश गरिएको हो । भुर्तेलको उपस्थितिले युवा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसरसमेत पाउनेछन् ।

नेपालले अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्ससँग खेल्ने नेपालले अगस्ट २४ मा होबार्ट हुरिकेन्सको सामना गर्नेछ ।

त्यसपछि अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियाविरुद्ध नेपालले खेल्नेछ । लगातार खेलका बीचमा टोलीले आफ्नो प्रदर्शन र संयोजन सुधार्ने अवसरसमेत पाउनेछ ।

२०२५ को अनुभवबाट अघि बढ्ने लक्ष्य

गत संस्करणको अनुभव नेपालका लागि मिश्रित रह्यो । दुई खेल जिते पनि चार खेलमा पराजित भएको नेपालले अस्ट्रेलियाका घरेलु टोलीसँगै बंगलादेश ए र पाकिस्तान शाहीन्सजस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो । यसपटक नेपाल ए टोलीले त्यही अनुभवलाई उपयोग गर्दै आफ्नो प्रदर्शन सुधार्ने लक्ष्य राख्नेछ ।

यसपटक अघोषित रूपमा यो एसियन गेम्सको तयारीका रूपमा पनि रहनेछ । टप एन्डमा खेलेका केही खेलाडीहरू नेपालको एसियन गेम्स खेल्ने प्रारम्भिक टोलीमा परिसकेका छन् । टप एन्डपछि टोली फेरबदल पनि हुन सक्छ ।

यसपटक नेपालले गत संस्करणको अनुभवबाट प्रदर्शनमा अझ निखार ल्याउन सक्छ । त्यसबेला टप एन्डमा खेलेका मध्येबाट पााच खेलाडी अहिलेको टोलीमा पनि छन् । कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, रुपेश सिंह र शाहब आलम लगातार दोस्रोपटक टप एन्ड खेल्दै छन् ।

कप्तान अनिल साहले यो ठुलो अवसर रहेको भन्दै राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

‘तयारी राम्रो भएको छ, सिनियर खेलाडीसँग पनि त्यहाँको कन्डिशनबारे कुराकानी गरेका छौं । मानसिक रूपले कसरी तयार हुनुपर्छ भन्ने ज्ञान पनि लिएका छौं’ कप्तान अनिलले भने, ‘हामी नेपाल ए टिमको रूपमा यो प्रतियोगिता खेल्न पाउनु एकदम ठूलो अवसर हो, एक्सपोजर पनि हुन्छ ।’

नेपालको १५ सदस्यीय टोलीमा अनिल साह कप्तान रहँदा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन् ।

यस्ता छन् प्रतिद्वन्द्वी

प्रतियोगितामा ९ टोलीको सहभागिता रहेपनि हरेक टोलीले ६-६ खेल मात्र खेल्ने छन् । नेपालले सामना गर्ने ६ टोलीको पृष्ठभूमि र स्तर पनि फरक–फरक छ ।

केही टोली अस्ट्रेलियाका घरेलु क्रिकेट संरचनासँग जोडिएका छन् भने केही अन्तर्राष्ट्रिय क्रिकेटका उदीयमान खेलाडी समेटिएका टोली हुन् । त्यसैले प्रत्येक खेल नेपालका लागि फरक शैली, फरक परिस्थिति र फरक चुनौतीको परीक्षा हुनेछ ।

नेपालले लिग चरणमा खेल्ने प्रतिद्वन्द्वीहरूमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी कोमेट्स), नर्दन टेरिटोरी स्ट्राइक (एनटी स्ट्राइक), बंगलादेश हाइ पर्फर्मेन्स टोली, किङ्समेन, होबार्ट हुरिकेन्स एकेडेमी र भिक्टोरिया सीए ११ छन् ।

यीमध्ये केही टोलीले आधिकारिक रूपमै आफ्नो टोली सार्वजनिक गरिसकेका छन् भने केही टोलीले टिम आधिकारिक घोषणा गर्न बाँकी छ ।

एसीटी कोमेट्स

यो अस्ट्रेलियाको राजधानी संवद्ध टोली हो । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको यो टोलीमा स्थानीय स्तरका प्रतिभावान र उदीयमान खेलाडीहरू समावेश छन् ।

मुख्य पहिलो श्रेणीको ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा भाग नलिने भएतापनि यो टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

विशेष गरी ‘टोयोटा नेसनल सेकेन्ड इलेभेन’ प्रतियोगिता र डार्विनमा आयोजना हुने ‘टप एन्ड’ जस्ता प्रतिष्ठित खेलहरूमा यो टोलीले प्रतिस्पर्धा गर्छ ।

कप्तान निक ब्रोएसको नेतृत्वमा रहेको यो टोलीमा विष्फोटक ब्याटिङका लागि चिनिएका ह्यारी थोमस, उत्कृष्ट अलराउन्डर टाइलर भ्यान लुइन र जेक स्मिथ जस्ता खेलाडीहरू छन् ।

एसीटी कोमेट्सको टोली : निक ब्रोएस (कप्तान), निक एलेन, काई ब्रन्कर, डेभ दुवे, टम होगन, डिक्सन हन्टर, ज्याक किओग, ज्याक मरोन, जित मेहता, एसाम रहमान, जेक स्मिथ, ह्यारी थोमस, अन्श तिवारी, र टाइलर भ्यान लुइन

होबार्ट हुरिकेन्स एकेडेमी

होबार्ट हुरिकेन्सले गत संस्करण पनि खेलेका अधिकांश खेलाडीहरू समेट्दै यस संस्करणका लागि टोली घोषणा गरेको छ ।

तीमध्ये अस्ट्रेलियन राष्ट्रिय टोलीबाट खेलिसकेका बिली स्टानलेकले खेल्ने यसअघि नै पक्का भइसकेको थियो । आयोजक एनटी क्रिकेटले सार्वजनिक गरेको एक भिडियो सन्देशमा उनले आफू खेल्न उत्साहित रहेको बताएका छन् ।

बिली स्टानलेक

उनीसहित गत संस्करण खेलेका टिम वार्ड, ब्राडली होप, गेब बेल, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, मार्कस बिन, राफ म्याकमिलनले यसपटक पनि खेल्दै छन् ।

स्टानलेकसहित टिम वार्ड, मार्कस बिन, जेक डोरान, राफ म्याकमिलनले बिग ब्यास लिगमा समेत खेलिसकेका छन् ।

होबार्टले गत संस्करण ६ खेलमा २ खेल मात्र जित्दै १० टिममध्ये नवौं स्थानमा फिनिस गरेको थियो ।

होबार्टको टोली : केसी बार्टन, मार्कस बिन, गेब बेल, लाचलान क्लार्क, ज्याक डोरान, ज्याक कर्टेन, ब्राड होप, राफ म्याकमिलन, केलन मलाडे, निवेथन राधाकृष्णन, नितेश स्यामुअल, बिली स्ट्यानलेक, टिम वार्ड, टिग विलाई

किङ्समेन

गत संस्करण शिकागो किङ्समेनको नाममा खेलेको यो टोली बढ्दो किङ्समेन ग्लोबल फ्रेन्चाइज समूहको हिस्सा हो । अमेरिकामा रहेका फवाद सरवारको स्वामित्वमा रहेको यो समूहले पाकिस्तान सुपर लिग (पीएसएल) मा हैदराबाद किङ्समेन र क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका किङ्समेन समेत स्थापना गरिसकेको छ ।

किङ्समेनको टोलीमा अमेरिकी राष्ट्रिय टोलीका प्रमुख खेलाडी शयान जहाङ्गिर, मिलिन्द कुमार तथा न्युजिल्यान्डका स्कट कुगेलेइन, पाकिस्तानका शार्जिल खानलगायतका खेलाडीहरू समावेश छन् ।

गत संस्करण लिग चरणका ६ मध्ये ५ खेल जितेको यो टोली सेमिफाइनलमा एडिलेड स्ट्राइकर्स एकेडेमीसँग पराजित भएको थियो । यसपटक बलियो दाबेदारका रूपमा देखिएको छ ।

टोलीका खेलाडी समेटिएको पोस्टर सार्वजनिक भएपनि हाल ११ जनाको मात्र नाम समावेश गरिएको छ ।

किङ्समेनको टोली : मिलिन्द कुमार, स्कट कुगेलाइन, हम्माद आजम, शरजिल खान, शयान जहाङ्गीर, उमेर खान, हसन खान, आसिफ महमूद, साद अली, तजिन्दर सिंह, र गुलाम मुद्दस्सिर

बंगलादेश हाइ पर्फर्मेन्स

गत संस्करण बंगलादेश ए नामबाट खेलेको बंगलादेशका लागि यसपटक हाइ पर्फर्मेन्स टोलीले खेल्दै छ । बंगलादेशको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू पनि समावेश छन् ।

३४ वर्षीय सबिर रहमान सबैभन्दा पाका र अनुभवी खेलाडी हुन्, जसले बङ्गलादेशका लागि टेस्ट, ओडीआई र टी-२० गरी तीनैवटा अन्तर्राष्ट्रिय फर्म्याट खेलिसकेका छन् ।

यस्तै शमिम होसेन, रकिबुल हसन, रिपोन मन्डल, अबु हिदर र मृत्युन्जय चौधरी पनि राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् ।

बंगलादेशको टोली : इर्फान सुक्कुर, हबिबुर रहमान सोहान, जिशान आलम, एस एम मेहेरोब हसन, समिउन बसिर रातुल, सब्बिर रहमान रोमन, रोहानत दौल्लाह बोर्सन, रकिबुल हसन, आरिफुल इस्लाम, अब्दुल गफ्फार साक्लिन, रिपोन मण्डल, एमडि रुबेल, अबु हिदर रोनी, शामिम हुसेन, र मृत्युञ्जय चौधरी

एनटी स्ट्राइक

आयोजक नर्दन टेरिटोरीले आफ्नो टोली आधिकारिक रूपमा घोषणा गरिसकेको छैन । गत संस्करणमा डार्शी शर्ट, केन रिचार्डसन, जेक वेदराल्ड, जोर्डन सिल्कजस्ता स्टार खेलाडीहरू खेलेका थिए ।

यसपटक वेदराल्ड अस्ट्रेलियाको टेस्ट टोलीमा खेलिरहेका छन् तर बंगलादेशसँगको दोस्रो टेस्टका लागि उनलाई स्क्वाडबाट हटाइएको छ । यसर्थ उनी टप एन्डमा खेल्ने सम्भावना देखिएको छ ।

यस्तै अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलिसकेका डार्शी शर्ट र केन रिचर्डसन यसपटक पनि खेल्ने सम्भावना छ, यद्यपी आधिकारिक जानकारी भने आउन बाँकी छ ।

डार्शी शर्टले गत संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लुम्बिनी लायन्सबाट खेलेका थिए ।

विल सदरल्यान्ड

भिक्टोरिया सीए ११

भिक्टोरियाले हालसम्म टोली घोषणा गरिसकेको छैन । भिक्टोरियाले भोलि (बुधबार) टोली घोषणा गर्ने जानकारी दिएको छ ।

यद्यपी भिक्टोरियाले मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स एकेडेमीबाट संयुक्त टिम बनाएर बलियो टोली पठाउने जनाइसकेको छ । स्टार खेलाडी विल सदरल्यान्डले सहभागी हुने यसअघि नै बताइसकेका छन् ।

भिक्टोरियाले गरिरहेको प्रशिक्षणको तस्वीरअनुसार सदरल्यान्डसहित बिग ब्यास खेलिसकेका क्याम्बेल केलावे, ह्‍यारी डिक्सन, ओलिभर पिके, साम एलियट लगायतका खेलाडीहरू खेल्ने बलियो सम्भावना छ ।

गत संस्करण मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स एकेडेमीले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए ।

***

नेपालले टप एन्ड टी-२० सिरिजमा कम्तीमा ६ खेल खेल्नेछ । सेमिफाइनल पुग्न सफल भएर फाइनल पनि खेलेमा नेपालले कुल ८ खेल खेल्नेछ ।

एसियन गेम्स आगामी सेप्टेम्बर २४ देखि जापानमा सुरु हुनेछ । त्यसअघि नेपालको सिनियर टोलीले एसीसी प्रिमियर कप पनि खेल्नेछ । एसियन गेम्स खेल्ने अन्तिम टोली भने त्यसअघि नै टुङ्गो लाग्न सक्नेछ ।

टप एन्ड सिरिजमा गर्ने प्रदर्शनबाट एसियन गेम्समा हुने टी-२० फर्म्याटको प्रतियोगिताका लागि सहयोग पुग्नेछ ।

नेपालको खेल तालिका:

अगस्ट २१ (५ भदौ) – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ (६ भदौ) – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ (८ भदौ) – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ (१० भदौ) – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ (११ भदौ) – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ (१३ भदौ) – नेपाल विरुद्ध भिक्टोरिया

नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल

टप एन्ड टी-२० सिरिज नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय