News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिश्री गुरुकुल स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता शनिबार काठमाडौंमा सुरु भएको छ ।
- चार दिनसम्म चल्ने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीले यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्स विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
६ भदौ, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सबिता राना मगर र स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जनले फुटबल रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरेका थिए ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बल (एपीएफ) का मुख्य प्रशिक्षक जिबेसकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्स गरी चार विधामा विभिन्न विद्यालयका युवा खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलको अनुभव हासिल गर्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा अनुशासन, आत्मविश्वास र टिमवर्क विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलले रोजबड स्कुललाई २–१ गोलले पराजित गर्दै सुखद सुरुवात गरेको छ । अन्य प्रारम्भिक खेलहरूमा रातो बंगला, पाठशाला नेपाल, जेभियर इन्टरनेसनल, जेम्स, काष्ठमण्डप विद्यालय, राई स्कुल, ग्यालेक्सी स्कुल र हिमशिखर स्कुललगायतका विद्यालयले प्रतिस्पर्धा गरेका छन् ।
सबिता राना मगरले पछिल्लो समय बालबालिकाले प्रतिस्पर्धात्मक फुटसल खेल्ने अवसर बढ्दै जानु नेपाली फुटबलको भविष्यका लागि सकारात्मक पक्ष भएको बताइन् । उनले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन तथा विकास गर्ने अवसर प्रदान गरेकोमा स्वस्तिश्री गुरुकुल स्कुलप्रति आभार व्यक्त गरिन् ।
स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलका इसीए को–ओर्डिनेटर राकेशकुमार राईले प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदमार्फत नेतृत्व, अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रतिक्रिया 4