News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम २० सिटबाट ५० सिटमा पुर्याउँदै कर्णालीमै चिकित्सक उत्पादन सुरु गरेको छ।
- प्रतिष्ठानमा अहिले ११० भन्दा बढी चिकित्सक तथा फ्याकल्टी छन्, र कोरोना महामारी, जाजरकोट भूकम्प तथा अन्य विपद्को बेला यसले कर्णालीका जिल्लामा सेवा पुर्याएको छ।
- पूर्वउपकुलपति डा. मंगल रावलले न्युरोसर्जरी, कार्डियाक सर्जरीलगायत अति विशिष्टीकृत सेवाका लागि अझै काठमाडौं धाउनुपर्ने अवस्था रहेको बताए ।
कुनै समय सामान्य उपचारका लागि समेत काठमाडौं वा भारततिर धाउनुपर्ने कर्णालीले अहिले आफ्नै माटोमा चिकित्सक उत्पादन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको करिब एक दशकपछि सुरु भएको एमबीबीएस कार्यक्रम अहिले २० सिटबाट ५० सिटसम्म पुगेको छ।
प्रतिष्ठानमा ७० भन्दा बढी चिकित्सक तथा फ्याकल्टीको उपलब्धता, जटिल उपचार सेवाको विस्तार र विपद्का बेला कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य पुर्याउँदै आएको छ ।
तर, चिकित्सक उत्पादन सुरु हुँदैमा कर्णालीको स्वास्थ्य संकट अन्त्य नै भएको भने छैन । न्युरोसर्जरी, कार्डियाक सर्जरीलगायत अति विशिष्टीकृत सेवाका लागि अझै बिरामीले काठमाडौं धाउनुपर्ने अवस्था छ ।
विशेषज्ञ चिकित्सकलाई जुम्लामा टिकाइराख्नु, दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउनु र उत्पादित जनशक्तिलाई कर्णालीमै फर्काएर सेवा गर्ने वातावरण बनाउनु चुनौतीकै रूपमा छन् ।
यही यात्राका उतारचढाव, उपलब्धि र बाँकी चुनौतीबारे प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावलसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
कर्णालीबाट चिकित्सक उत्पादन सुरु भएको छ । यसअघि तपाईंले प्रतिष्ठानको नेतृत्वमा रहेर काम गर्नु भयो । अहिलेको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विगतदेखि वर्तमानसम्म जोडिएको छु । आफैं कर्णालीमै हुर्किएकाले विगतमा सामान्य उपचारका लागि समेत भोग्नुपरेको संघर्ष नजिकबाट देखेको छु । त्यही कर्णालीले आज स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा हासिल गरेको प्रगति हेर्दा अत्यन्तै खुसी लाग्छ । तर, उपलब्धिसँगै चुनौती पनि उत्तिकै छन् ।
प्रतिष्ठानको मूल उद्देश्य कर्णालीमा स्वास्थ्य सेवा विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्नु थियो । अहिले एमबीबीएस चिकित्सक उत्पादनको चरणमा पुग्नु प्रतिष्ठानको शैक्षिक यात्राको एउटा महत्वपूर्ण उपलब्धि हो। प्रतिष्ठानका तीन प्रमुख आधार– स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमध्ये शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण माइलस्टोन पूरा भएको छ ।
जुम्ला जस्तो ठाउँमा एमबीबीएस पढाइ सुरु गर्नु कति चुनौतीपूर्ण थियो ?
विश्वव्यापी रूपमै ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने, विशेषज्ञ चिकित्सकलाई टिकाइराख्ने र स्थानीय समुदायको चिकित्सा शिक्षामा पहुँच बढाउने विषय चुनौतीपूर्ण हुन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा त झन् कठिन छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा मात्र होइन, चिकित्सा शिक्षा र अनुसन्धानसमेत सञ्चालन गर्नु ठूलो चुनौती हो । हामीले चुनौतीलाई अवसरका रूपमा लियौं ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना प्रक्रिया हेर्दा सन् २०११ मा निजी विधेयकका रूपमा संसद्मा प्रस्ताव दर्ता भएको थियो । तत्कालीन सासद् नरेश भण्डारीको नेतृत्वमा कर्णालीका राजनीतिक दल, स्थानीय अगुवा र विभिन्न क्षेत्रका विज्ञहरूको पहलमा अवधारणा अघि बढेको थियो । त्यसपछि संसद्बाट विधेयक पारित भई प्रतिष्ठान स्थापना भयो ।
तर, स्थापना भएको करिब १० वर्षपछि मात्रै एमबीबीएस कार्यक्रम सुरु हुन सक्यो । यसले नै कर्णालीको चुनौती कति गहिरो थियो भन्ने देखाउँछ ।
नेपालमा चिकित्सा शिक्षा सुरु गर्ने अन्य संस्थासँग तुलना गर्दा पनि यो समय लामो थियो । काठमाडौंका शहरी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्दा आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र स्रोतसाधन जुटाउन तुलनात्मक रूपमा सजिलो हुन्छ । तर जुम्लामा त्यो सम्भव थिएन । सबैभन्दा ठूलो चुनौती विशेषज्ञ चिकित्सक र फ्याकल्टीलाई टिकाइराख्नु थियो । चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार पर्याप्त शिक्षकबिना कार्यक्रम सुरु गर्न सम्भव थिएन ।
प्रतिष्ठानको विकासलाई पनि विभिन्न चरणमा हेर्न सकिन्छ । पहिलो चरणमा ३०० शय्याको अस्पताल स्थापना हुनु महत्वपूर्ण उपलब्धि थियो । अस्पताल बनेपछि केही विशेषज्ञ चिकित्सक जुम्ला जान थाले । दोस्रो चरणमा एमडीजीपी, पब्लिक हेल्थलगायतका शैक्षिक कार्यक्रम अघि बढे र एमबीबीएसको पाठ्यक्रम तयार गर्ने काम भयो ।
तर, सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार वा स्रोतसाधन मात्र थिएन, राज्यलाई ‘कर्णालीले पनि गुणस्तरीय एमबीबीएस पढाउन सक्छ’ भनेर विश्वास दिलाउनु थियो ।
जुम्लामा काठमाडौंका मेडिकल कलेजसरह गुणस्तरीय चिकित्सक उत्पादन हुन सक्छ भन्ने विश्वास दिलाउन वर्षौं लाग्यो ।
म उपकुलपति हुँदा मुख्य काम नै एमबीबीएस कार्यक्रम सुरु गर्नु थियो । त्यसका लागि सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकायलाई निरन्तर विश्वास दिलाउनुपर्यो । धेरै प्रयासपछि २० सिटबाट एमबीबीएस कार्यक्रम सुरु भयो । हामीले सुरुमै ३० सिट मागेका थियौं । पहिलो ब्याच २० सिटबाट सुरु भयो, त्यसपछि ३० हुँदै अहिले ५० सिटसम्म पुगेको छ ।
कर्णालीमा एमबीबीएस पढाइ सुरु गर्न डा. गोविन्द केसीको आन्दोलन र दबाबले पनि भूमिका खेलेको मानिन्छ । उहाँको योगदानलाई कसरी हेर्नुहुन्छ ?
डा. गोविन्द केसीले सुरुदेखि नै ग्रामीण क्षेत्रमा मेडिकल कलेज स्थापना हुनुपर्छ भन्ने विषय उठाउँदै आउनुभएको थियो । उहाँको त्यो सोचले मलाई पनि प्रभावित गरेको थियो ।
उहाँ कर्णालीमै दुई पटक अनसन बस्नुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु गर्नुपर्छ, सरकारले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मुख्य माग थियो । त्यसैले कर्णालीमा चिकित्सा शिक्षा विस्तारका लागि उहाँको योगदानलाई बिर्सन सकिँदैन ।
डा. केसीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठानलाई चिनाउन र यसका लागि निरन्तर वकालत गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो ।
वर्षौंसम्म बसेर काम गर्ने विशेषज्ञ चिकित्सक, फ्याकल्टी, कर्मचारी, स्थानीय समुदाय, राजनीतिक तथा सामाजिक अगुवा सबैको योगदान उत्तिकै महत्वपूर्ण छ । कठिन परिस्थितिमा पनि ‘कर्णालीमा चिकित्सा शिक्षा सुरु गर्नुपर्छ’ भन्ने प्रतिबद्धताका साथ बसेका मानिसहरूको सामूहिक प्रयासले आजको उपलब्धि सम्भव भएको हो ।
प्रतिष्ठानको उद्देश्य चिकित्सक उत्पादनमा मात्रै सीमित थियो कि कर्णालीको स्वास्थ्य सेवा प्रणालीलाई नै बलियो बनाउने थियो ?
प्रतिष्ठानको पहिलो र प्रमुख आधार नै स्वास्थ्य सेवा हो । त्यसपछि शिक्षा र अनुसन्धान आउँछन् । कर्णालीमा स्वास्थ्य सेवा स्तरोन्नति गर्नु प्रतिष्ठानको मूल जिम्मेवारी हो ।
आज जुम्लाबाट धेरै प्रकारका जटिल शल्यक्रियाका लागि बाहिर रेफर गर्नुपर्ने अवस्था पहिलेको तुलनामा धेरै घटेको छ । न्युरोसर्जरी, कार्डियाक सर्जरीलगायत केही अति विशिष्टीकृत सेवा अझै पूर्ण रूपमा सुरु गर्न सकिएको छैन । तर धेरै जटिल उपचार अहिले प्रतिष्ठानमै सम्भव भएका छन् ।
१५ वर्षअघिको कर्णाली सम्झिनुहोस् । कतिपय ठाउँमा सामान्य उपचार वा विशेषज्ञ सेवा पाउनसमेत कठिन थियो । अहिले प्रतिष्ठानमा ११० भन्दा बढी चिकित्सक तथा फ्याकल्टीको उपलब्धता हुनु ठूलो परिवर्तन हो ।
कोरोना महामारीका बेला कर्णालीका १० जिल्लाका लागि प्रतिष्ठान एउटा प्रमुख स्वास्थ्य केन्द्रका रूपमा खडा भयो । जाजरकोट भूकम्पका बेला पनि प्रतिष्ठान सुरुवाती उद्धार तथा स्वास्थ्य सेवामा अग्रपंक्तिमा थियो । हैजा, अन्य महामारी र विपद्का समयमा विशेषज्ञ टोली पठाउने काम पनि प्रतिष्ठानले गर्दै आएको छ ।
मुगु, हुम्ला, बाजुरा, जाजरकोटलगायत विभिन्न जिल्लामा विशेषज्ञ चिकित्सक पठाएर सेवा दिने काम भएको छ । त्यसैले प्रतिष्ठानको भूमिका चिकित्सक उत्पादनमा मात्र सीमित छैन । कर्णालीको स्वास्थ्य सेवाको केन्द्रीय आधार बन्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यति हुँदाहुँदै पनि कर्णालीवासीले न्युरो, कार्डियाक जस्ता विशिष्टीकृत सेवाका लागि काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता किन हट्न सकेको छैन ?
विशेषज्ञ सेवाका लागि होइन, मुख्य रूपमा अति विशिष्टीकृत सेवाका लागि अझै बाहिर जानुपर्ने अवस्था छ । यसको प्रमुख कारण विशेषज्ञ चिकित्सकलाई कर्णालीमा टिकाइराख्न नसक्नु हो ।
नेपालमै अहिले चिकित्सक पलायन र ‘ब्रेन ड्रेन’ ठूलो चुनौती बनेको छ । काठमाडौं, चितवन र बुटवल जस्ता शहरमै विशेषज्ञ चिकित्सकलाई टिकाइराख्न कठिन हुन थालेको अवस्थामा जुम्लामा झन् चुनौती हुनु स्वाभाविक हो ।
एक जना विशेषज्ञ चिकित्सक जुम्ला जाँदा धेरै कुरा त्याग गर्नुपर्छ । परिवारको व्यवस्थापन, बालबालिकाको शिक्षा, बसोबास, आयआर्जन र व्यावसायिक भविष्यसँग सम्बन्धित प्रश्न हुन्छन् । जुम्लामा निजी अभ्यासको सम्भावना सीमित छ । अधिकांशको आय एउटै संस्थाको तलबमा निर्भर हुन्छ ।
प्रतिष्ठानले आफ्नो क्षमताअनुसार चिकित्सकलाई आवास र अन्य सुविधा दिने प्रयास गरेको छ । अहिले केही फ्याकल्टीका लागि आवासीय संरचना बनेका छन् । तर सबैको आवश्यकता पूरा भएको छैन । धेरैले भाडाको घरमा बस्नुपर्ने अवस्था छ ।
अर्को महत्वपूर्ण कुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय सेवा गरेका विशेषज्ञलाई राज्यले पर्याप्त प्रोत्साहन दिन सकेको छैन । दुर्गम क्षेत्रमा सेवा गरेको अनुभवलाई करियर विकास र बढुवामा विशेष प्राथमिकता दिनुपर्छ । तर प्रतिष्ठानमा काम गरेको अनुभवलाई अपेक्षित रूपमा दुर्गम सेवाका रूपमा मान्यता नपाउनु पनि एउटा विडम्बना हो ।
न्युरोसर्जरी, कार्डियाक सर्जरी वा अन्य सुपर स्पेसियालिटीका विशेषज्ञलाई कर्णालीमा आकर्षित र टिकाइराख्न राज्यले विशेष नीति बनाउनुपर्छ । प्रतिष्ठानले मात्रै सबै समस्या समाधान गर्न सक्दैन ।
कर्णालीका दुर्गम गाउँमा बिरामीलाई डोको वा स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने अवस्था छ । प्रतिष्ठानले चिकित्सक उत्पादन गर्न थालिसक्दा पनि यस्तो अवस्था किन अन्त्य हुन सकेको छैन ?
विगत १५ वर्षमा कर्णालीको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ । त्यतिबेला गाउँका स्वास्थ्य संस्थामा सामान्य अक्सिजनसमेत उपलब्ध नहुने अवस्था थियो ।
आज पनि सबै समस्या पूर्ण समाधान त भइसकेका छैनन् । तर सामान्य उपचार नपाएर ठूलो संख्यामा मानिसले ज्यान गुमाउनुपर्ने अवस्था धेरै हदसम्म परिवर्तन भएको छ । आपतकालीन उपचार र विशेषज्ञ सेवामा पहुँच उल्लेखनीय रूपमा बढेको छ ।
पहिले सामान्य चोटपटकमा समेत उपचार नपाएर अंग नै काट्नुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । भौगोलिक विकटताका कारण डोको वा स्ट्रेचरमा बिरामी बोक्नुपर्ने अवस्था भने कहिलेकाहीँ अझै देखिन्छन् ।
यसको दीर्घकालीन समाधानका लागि प्रतिष्ठानलाई कर्णालीका हरेक कुनासम्म व्यवस्थित रूपमा जोड्ने राज्यस्तरीय संयन्त्र आवश्यक छ । प्रदेश सरकारसँग मिलेर विभिन्न जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउने काम गरेका छौं । तर पर्याप्त बजेट र स्थायी संरचना नहुँदा ती प्रयास धेरैजसो अस्थायी बनेका छन् ।
कर्णालीका सबै जिल्ला र दुर्गम बस्तीमा प्रतिष्ठानसँग समन्वय भएको स्थायी स्वास्थ्य सेवा सञ्जाल बनाउनुपर्छ । त्यसका लागि राज्यले दिगो वित्तीय व्यवस्था गर्नुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच स्पष्ट समन्वय हुनुपर्छ ।
प्रतिष्ठानबाट उत्पादन भएका चिकित्सक कर्णालीमै बसेर सेवा गर्ने आधार के छ ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनले ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक पुर्याउ विश्वव्यापी चुनौती रहेको देखाएको छ । चिकित्सक पुर्याउन र टिकाइराख्न आर्थिक सुविधा मात्र पर्याप्त हुँदैन । समुदायका लागि योगदान गर्ने भावना र प्रेरणा पनि आवश्यक हुन्छ ।
अनुसन्धानले ग्रामीण क्षेत्रमा जन्मेका, हुर्केका वा आधारभूत शिक्षा त्यहीँ लिएका व्यक्तिले चिकित्सक बन्ने अवसर पाएमा आफ्नो समुदायमा फर्केर सेवा गर्ने सम्भावना बढी हुने देखाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा पनि यही कुरा महत्वपूर्ण छ ।
अहिले प्रतिष्ठानमा पढ्ने अधिकांश विद्यार्थी काठमाडौं, भक्तपुर, ललितपुर, झापा, विराटनगरलगायत अन्य क्षेत्रका छन् । यसले स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएका विद्यार्थीको संख्या अपेक्षाकृत कम भएको छ ।
गाउँमा अवसर नपाएका तर अत्यन्त प्रतिभाशाली विद्यार्थी प्रशस्तै छन् । उनीहरूलाई चिकित्सा शिक्षामा प्रवेशको अवसर दिँदा आफ्नै समुदायमा फर्कने सम्भावना बढी हुन्छ । कर्णालीका स्थानीय विद्यार्थीलाई केही प्रतिशत आरक्षण वा विशेष अवसर दिनु आवश्यक छ ।
यद्यपि, कर्णालीमै जन्मेका विद्यार्थी मात्र त्यहाँ बस्छन् र बाहिरबाट आएका बस्दैनन् भन्ने होइन । प्रतिष्ठानमा साढे पाँच वर्ष अध्ययन गर्दा विद्यार्थीले त्यहाँको जीवनशैली, दुःख, स्वास्थ्य समस्या र रोगको प्रकृति प्रत्यक्ष रूपमा बुझ्छन् । त्यसले पनि दुर्गम क्षेत्रमा सेवा गर्ने प्रेरणा दिन सक्छ । मेरो अनुमानमा कर्णालीबाट उत्पादन भएका चिकित्सक अन्यत्रभन्दा दुर्गम क्षेत्रमा सेवा गर्ने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ ।
कर्णालीले उत्पादन गरेको जनशक्ति गुणस्तरीय छ भन्ने आधार के हो ?
प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्दा धेरैले दुर्गम कर्णालीमा चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ कि सकिँदैन भनेर प्रश्न उठाएका थिए । विशेषज्ञ जनशक्ति र पूर्वाधारको अभावका कारण गुणस्तरमा सम्झौता हुन सक्ने आशंका पनि थियो ।
तर, अहिलेसम्मको नतिजाले त्यो आशंका गलत साबित भइरहेको छ । एमबीबीएस मात्र होइन, प्रतिष्ठानबाट एक ब्याच एमडी पनि उत्तीर्ण भइसकेको छ । यसबाहेक जनस्वास्थ्य, फार्मेसी र नर्सिङका कार्यक्रम सञ्चालनमा छन् ।
यी कार्यक्रमका विद्यार्थीहरूको सम्बन्धित काउन्सिल परीक्षामा हालसम्मको उत्तीर्ण दर शतप्रतिशत रहेको छ । यसले कम्तीमा शैक्षिक गुणस्तरमा गम्भीर सम्झौता भएको छैन भन्ने आधार दिन्छ ।
एमबीबीएसको पहिलो र दोस्रो ब्याचका विद्यार्थीलाई मैले आफैं पनि पढाएको छु । उनीहरूको क्षमता र सिकाइ हेर्दा नेपालको स्थापित संस्थाबाट उत्पादन भएका चिकित्सकभन्दा उनीहरू कुनै पनि हिसाबले कमजोर छैनन् भन्ने विश्वास छ ।
कर्णालीमा पढेका विद्यार्थीले प्रत्यक्ष रूपमा ग्रामीण जीवन, सीमित स्रोतसाधन र जटिल स्वास्थ्य समस्या देखेका हुन्छन् । त्यसैले व्यावहारिक सेवा दिने क्षमतामा पनि उनीहरू सक्षम हुने अपेक्षा छ ।
तर, शिक्षक, उपकरण र अस्पतालको सीमित क्षमताले पढाइ प्रभावित भएको गुनासो पनि छ नि ?
त्यो पूर्ण रूपमा अस्वीकार गर्न मिल्दैन । केही विषयमा पर्याप्त संख्यामा विशेषज्ञ शिक्षक राख्नु प्रतिष्ठानका लागि अहिले पनि चुनौतीपूर्ण छ । प्रमुख समस्या भनेकै विशेषज्ञ चिकित्सकलाई कर्णालीमा टिकाइराख्नु हो ।
कहिलेकाहीँ कुनै विषयमा शिक्षकको संख्या कम हुने, पद खाली हुने वा जनशक्ति व्यवस्थापनमा समस्या देखिनु स्वाभाविक छ । तर यसको अर्थ प्रतिष्ठानले गुणस्तर कायम गर्न सक्दैन भन्ने होइन ।
कर्णालीमा गरिएको सानो लगानीले पनि ठूलो प्रभाव पार्न सक्छ । काठमाडौंमा स्वास्थ्य सूचकांक केही प्रतिशत सुधार्नु र कर्णालीमा ठूलो अन्तर सुधार्नुको प्रभाव एउटै हुँदैन । कर्णालीका स्वास्थ्य सूचकांक कमजोर भएकाले त्यहाँको सुधारले राष्ट्रिय स्वास्थ्य सूचकांकमा पनि ठूलो योगदान दिन सक्छ ।
त्यसैले शिक्षक, बजेट र पूर्वाधारको अभाव समाधान गर्न राज्यले प्रतिष्ठानको सम्भावना र त्यसले दिन सक्ने परिणामका आधारमा विशेष सहयोग गर्नुपर्छ ।
कर्णालीको आफ्नै रोगको प्रकृति र स्वास्थ्य समस्या फरक छन् । यसमा अनुसन्धान कत्तिको भइरहेको छ ?

कर्णालीको रोगको प्रकृति र स्वास्थ्य आवश्यकता काठमाडौं वा अन्य सहरी क्षेत्रभन्दा धेरै फरक छन् । यहाँ भिरबाट लड्ने, रुखबाट खस्ने, दुर्घटनामा पर्ने जस्ता ट्रमाका बिरामी बढी देखिन्छन् । पछिल्लो समय सडक विस्तारसँगै सडक दुर्घटना पनि नयाँ चुनौतीका रूपमा बढ्दै गएको छ ।
त्यसैगरी, उपचार नपाएर रोग जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने बिरामीको संख्या पनि धेरै छ । रोग निकै पुरानो वा जटिल अवस्थामा पुगेपछि अस्पताल आउने प्रवृत्ति अझै देखिन्छ । स्वास्थ्य सचेतना र समयमै उपचारको पहुँचमा पनि चुनौती छ ।
वास्तवमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुको एउटा प्रमुख कारण नै त्यहाँका विशिष्ट स्वास्थ्य समस्या अध्ययन गर्नु हो । रोगको प्रकृति, स्वास्थ्य जोखिम र स्थानीय आवश्यकताका आधारमा अनुसन्धान गरी त्यहीअनुसार स्वास्थ्य नीति र सेवा प्रणाली विकास गर्नुपर्छ ।
प्रतिष्ठानमा रहेको स्कूल अफ पब्लिक हेल्थले जनस्वास्थ्यसम्बन्धी विभिन्न गतिविधि, सचेतना र अनुसन्धानका काम गरिरहेको छ । आगामी दिनमा कर्णालीको रोगको प्रकृति र स्वास्थ्य आवश्यकता अध्ययन गरी स्थानीय आवश्यकतामा आधारित स्वास्थ्य नीति निर्माणमा प्रतिष्ठानको भूमिका अझ बढ्नुपर्छ ।
एमबीबीएस र केही स्नातकोत्तर कार्यक्रमपछि विशिष्टीकृत चिकित्सा शिक्षा विस्तार गर्ने क्षमता कहिले बन्छ ?
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा राज्यको प्राथमिकता हो । नेपालमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नै आम्दानीबाट धेरै हदसम्म चल्न सक्ने अवस्थामा पुगेका छन् । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अझै त्यस्तो अवस्थामा पुगिसकेको छैन ।
प्रतिष्ठान आत्मनिर्भर नहुँदासम्म राज्यले ठूलो लगानी गर्नैपर्छ । नयाँ कार्यक्रम सञ्चालनका लागि भौतिक संरचना, विशेषज्ञ जनशक्ति, उपकरण र आर्थिक स्रोत सबै आवश्यक पर्छ ।
अहिले प्रतिष्ठानमा एमबीबीएसभन्दा माथिका ८ वटा विषयमा एमडी कार्यक्रम सञ्चालनमा छन् । तर डीएम वा एमसीएच जस्ता अति विशिष्टीकृत कार्यक्रम तत्काल सञ्चालन गर्नु व्यावहारिक देखिँदैन । त्यसका लागि अत्यन्त विशेषज्ञ चिकित्सकलाई जुम्लामा ल्याएर दीर्घकालसम्म टिकाइराख्नु अहिले पनि ठूलो चुनौती हो ।
त्यसैले तत्कालको प्राथमिकता एमडी तहका कार्यक्रमलाई बलियो बनाउनु, आवश्यक विशेषज्ञ जनशक्ति र पूर्वाधार थप्नु तथा दीर्घकालीन रूपमा विशिष्टीकृत कार्यक्रम विस्तार गर्ने हुनुपर्छ ।
राज्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको महसुस गर्नुभएको छ ?
परिवर्तन आएको छ । पहिले धेरैले कर्णालीमा पनि एमबीबीएस पढाइ सम्भव हुन्छ र त्यहाँ गुणस्तरीय चिकित्सक उत्पादन गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दैनथे । कतिपयसँग यस विषयमा बहस नै हुन्थ्यो । तर अहिले प्रतिष्ठानले चिकित्सक उत्पादन गरिसकेको छ ।
अनुभवमा नीति निर्माण गर्ने व्यक्ति र नेतृत्वले कर्णालीको वास्तविक अवस्था प्रत्यक्ष रूपमा नबुझेसम्म त्यहाँको आवश्यकता बुझ्न कठिन हुन्छ । जुम्लामा गम्भीर हृदयाघात हुँदा तत्काल विशेषज्ञ उपचार पाउने अवस्था अझै सुनिश्चित छैन ।
यदि कर्णालीमा कार्डियोलोजी, न्युरोसर्जरीलगायत अति आवश्यक विशेषज्ञ सेवा उपलब्ध हुन सके जुम्लाका नागरिक, स्वास्थ्यकर्मी र विद्यार्थी सबैलाई सुरक्षाको अनुभूति हुन्छ । त्यसैले राज्यले यसलाई सामान्य परियोजनाका रूपमा होइन, राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा हेर्नुपर्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘राष्ट्रिय प्राथमिकताको परियोजना’ किन बनाउनुपर्छ ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राष्ट्रिय प्राथमिकताको परियोजना नबनाउने हो भने यो संस्थाले पूर्ण क्षमतामा काम गर्न सक्दैन ।
राकम कर्णालीमा १०० शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ । भवन बनिसकेको छ र मन्त्रिपरिषद्बाट स्वीकृति पनि भइसकेको छ । तर आर्थिक अभावका कारण सञ्चालन गर्न सकिएको छैन । यो अस्पताल सञ्चालनमा आए कर्णालीका ठूलो जनसंख्याले सेवा पाउन सक्छन् ।
त्यसैगरी, सुर्खेत र जुम्लालाई प्रतिस्पर्धी दुई अलग मेडिकल कलेजका रूपमा विकास गर्नुको सट्टा एउटै समग्र स्वास्थ्य शिक्षा र सेवा प्रणालीभित्र जोडेर अघि बढाउन सकिन्छ । सुर्खेतलाई क्लिनिकल हब र जुम्लालाई आधारभूत शिक्षा तथा विशिष्ट ग्रामीण स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न सकिन्छ । कर्णालीका १० जिल्लाका अस्पताललाई यी केन्द्रसँग व्यवस्थित रूपमा जोड्न सकियो भने यो क्षेत्रमा स्वास्थ्य सेवाको नयाँ मोडल बन्न सक्छ ।
आगामी १० वर्षमा कर्णालीको स्वास्थ्य प्रणाली कस्तो बनाउन सकिन्छ ?
यो धेरै पक्षमा निर्भर छ । कर्णालीले कति स्वास्थ्य जनशक्ति उत्पादन गर्छ, तीमध्ये कति जनालाई आफ्नै समुदायमा टिकाइराख्न सक्छ, प्रतिष्ठानलाई कति माथि लैजान सकिन्छ, सुर्खेत र जुम्लालाई कसरी समन्वय गर्न सकिन्छ र १० जिल्लाका स्वास्थ्य संस्थालाई कसरी एउटै प्रणालीमा जोड्न सकिन्छ । यी सबैको स्पष्ट ‘मास्टर प्लान’ आवश्यक छ ।
यी सबै पक्षलाई समेटेर अघि बढ्न सक्दा कर्णाली ग्रामीण स्वास्थ्य सेवामा नेपालकै मात्र होइन, विश्वकै एउटा उदाहरण बन्न सक्छ । दुर्गम क्षेत्रमा कसरी चिकित्सा शिक्षा विस्तार गर्ने, स्थानीय जनशक्ति उत्पादन गर्ने र ग्रामीण समुदायलाई स्वास्थ्य सेवा पुर्याउने भन्ने विषयमा कर्णालीले विश्वस्तरीय मोडल दिन सक्छ ।
प्रतिक्रिया 4