विपद्मा परेका व्यक्तिहरूलाई मनोवैज्ञानिक ट्रमाले जकडेको हुन्छ । चाहे विपद् ठूलो या सानो, त्यसले निकै लामो समयसम्म प्रभाव पारिरहन्छ ।
रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण कतिपयले ज्यान गुमाए, कतिपय घाइते छन् भने कतिपय अझै बेपत्ता छन् । यस्तो अवस्थामा उनीहरूका परिवार र आफन्तमात्र होइन, त्यस क्षेत्रका वासिन्दाहरू पनि निकै ठूलो मानसिक स्वास्थ्य समस्यामा हुन्छन् ।
विपत्ति मानसिक स्वास्थ्यका विशेषज्ञ मनोवैज्ञानिक डा. न्यान्सी हाउगेनको भनाइ मान्ने हो भने यस्तो विपद्का बेलामा शारीरिक रूपमा घाइते मानिसहरूको तुलनामा १० गुणा भन्दा बढी मानिसहरू मनोवैज्ञानिक रूपले प्रभावित हुन्छन् ।
विपद्का समयमा खाना, पानी, आश्रय र चिकित्सा हेरचाहजस्ता आधारभुत आवश्यकताहरू तत्काल पुरा गर्नु जत्ति चुनौतिपूर्ण छ, त्यति नै विपद्सँगै निम्तिन सक्ने मनोवैज्ञानिक पक्षलाई समेत समयदेखि नै ख्याल गर्नु जरुरी हुन्छ । यति बेलै यस्तो प्रभाव बुझ्न नसक्ने हो भने त्यसले भोलिका दिनमा ठूलो जटिलता निम्तिन सक्दछ ।
मनोवैज्ञानिक प्रभाव पहिचान कसरी गर्ने ?
पहिलो कुरा के स्वीकार गर्नुपर्छ भने, यस्तो विपद्का बेलामा मानिसमा आउने तनाव, एन्जाइटी, नकारात्मक भावना जस्ता कुराहरूलाई स्वाभाविक मान्नुपर्छ । यसलाई मानिसको प्राकृत्तिक भावनाका रूपमा बुझ्नुपर्छ । त्यस्तो भावनालाई झन् उत्तेजित पार्ने जवाफ दिनु वा उपदेश दिनु विल्कुल हुँदैन ।
मनोविज्ञानका हिसाबले विपद्को प्रारम्भिक ३० दिनको समय निकै महत्वपूर्ण मानिन्छ । यही समयमा बाढी प्रभावितहरूलाई ‘कोही छ’, ‘हामी पुनः सहज अवस्थामा पुग्छौं’, ‘यो प्राकृत्तिक स्वीकार्य विपत्ति हो’ भन्ने खालका सन्देश प्रवाह गर्ने मात्रै होइन, उनीहरूलाई त्यस्ता विषयमा विश्वस्त बनाउन सक्नु पर्छ ।
प्रारम्भिक समयमा आउने सबै तनावहरू दीर्घकालसम्म रहन्छन् भन्ने होइन, यो निश्चित समयपछि स्वतः समाधान पनि हुन सक्छन् । केही तनावहरू ६ देखि १६ महिनासम्ममा निरुपण हुन सक्छन् । तर, केही तनावहरू विपद्पछिको पोष्ट–ट्रमाटिक बन्न सक्दछन् । त्यसैले, विपद्पछिको ३० दिनभित्रको समयमा निकै सजगता अपनाउनु पर्छ ।
यस बीचमा मनोवैज्ञानिक हेरचाह प्रदान गर्दै उनीहरूको मानसिक स्वास्थ्यको पुर्नलाभ हुने अवस्थामा पुग्नुपर्छ । जसका लागि मनोवैज्ञानिक आघातको पहिचान गर्दै तत्काल र दीर्घकालीन सहायताको सूची निर्माण गर्नुपर्छ ।
विपद्बाट बाँचेकाहरूको मानसिक स्वास्थ्यमा पर्ने सम्भावित दीर्घकालीन प्रभावको संकेत र लक्षणहरू बुझ्नुपर्छ । जस्तो कि, कसैको कुरा सुन्न नचाहने, चिन्तामा रहिरहने, अरूले भनेका कुरा नमान्ने, चिड्चिडापन देखिने, आफैं वा अरूलाई दोष दिइरहने, फेरि त्यस्तै घट्ना भइहाल्छ कि भनेर तर्सिरहने, एक्लो छु भन्ने महसुस गर्ने जस्ता लक्षणहरू देखिन सक्छन् ।
यो सँगै, भोक नलाग्ने, टाउको वा पेट दुखिरहेको महसुस हुने, नराम्रा सपना देखिरहने र सपनामा तर्सने जस्ता मनोवैज्ञानिक संकेतहरू देखापर्न सक्छन् । यी र यस्ता मिल्दोजुल्दो धेरै लक्षणहरू एउटै मानिसमा देखियो भने सो व्यक्ति ‘साइकोलोजिकल ट्रमा’ बाट प्रभावित छ भन्ने कुरा बुझ्न ढिला गर्नु हुँदैन ।
मनोवैज्ञानिक ट्रमा र सेल्फ केयरको आवश्यकताका बारेमा घाइते, आफन्त वा आम नागरिक मात्र होइन, उद्धार तथा राहतमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई यथेष्ट जानकारी दिइनुपर्छ । विपद्का समयमा मात्र नभई यस्तो सजगता विपद्पश्चात् पनि निरन्तर अपनाइनुपर्छ । नत्र जुनसुकै बेला पनि मनोवैज्ञानिक समस्यामा पर्न सकिन्छ ।
सामान्य अवस्थामा अपनाइने मनोवैज्ञानिक सजगतालाई यस्तो विपद्का बेलामा पनि निरन्तरता दिने प्रयास गर्नुपर्छ । शारीरिक चोट देखिन्छ र त्यसको उपचार प्राथमिकतामा पर्छ तर मानसिक चोट नदेखिने भएकाले यस्तो विषयमा खासै ध्यान दिने गरिँदैन । त्यसैले, विपद् क्षेत्रका समुदायलाई आधारभूत स्वास्थ्य सेवासँगै मानसिक स्वास्थ्य सेवा पनि सँगसँगै चलाइनुपर्छ ।
मनोवैज्ञानिक प्राथमिक उपचार
परिवारको सदस्य वा साथी वा आफन्तको मृत्यु, गम्भीर चोटपटकलाई प्रत्यक्ष देखेका व्यक्तिहरूमा मनोवैज्ञानिक असर परेको हुनसक्छ । योसँगै, उद्धारका छट्पटाएको दृष्य प्रत्यक्ष वा सञ्चारमाध्यमबाट देखेकाहरू पनि यसबाट प्रभावित हुन सक्छन् । त्यसैले, सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालले पनि यस्ता दृष्यहरू प्रस्तुत गर्नुअगाडि सोच्नु आवश्यक छ ।
त्यस्तै, विपद्का कारण चोटपटक लागेका, बपरामी भएका, परिवारका सदस्य बेपत्ता भएर चिन्तामा रहेका, बसिरहेको घर वा व्यवसाय गुमाएका, आफ्नो बसोबास गर्दै आएको ठाउँबाट अन्यत्र गएर बस्नुपर्ने अवस्थामा पुगेकाहरूमा मनोवैज्ञानिक प्रभाव परेको हुन्छ भन्ने कुरा प्राथमिक उपचारमा खटिनेहरूले बुझ्नुपर्छ । यस्तै विपद्का बेलामा बालबालिका, किशोरकिशोरी, वयस्क, ज्येष्ठ नागरिकहरूलाई अझ मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक पर्छ ।
मनोवैज्ञानिक प्राथमिक उपचारमा पुर्नस्थापनाका स्रोतहरूसँग जोडेर उनीहरूलाई सुरक्षित बनाइन्छ । जसमा, तनावलाई कम गर्दै, अनुकुलनशील सामना शक्तिलाई बढावा दिँदै, तनावका प्रतिक्रियाहरूलाई अनुभव गरी व्यक्ति तथा अवस्था अनुरुप फरक फरक खालका मनोवैज्ञानिक सेवा प्रदान गर्नुपर्छ । मुलतः उनीहरूमा आफूलाई नै सहज सामना गर्न सक्ने क्षमताको विकास गर्नु मनोवैज्ञानिक प्राथमिक उपचारको मूल मान्यता हो ।
तर, मनोवैज्ञानिक प्राथमिक उपचार व्यवसायिक मनोविद्ले मात्र दिनुपर्छ भन्ने छैन । प्राथमिक उपचारले उनीहरूमा परेको प्रभावलाई गहन अध्ययन गरेर सोही अनुरुपको थेरापी दिने वा घट्नाबाट पूर्णरूपमा बाहिर निकाल्न मद्दत गर्दैन । प्राथमिक उपचारकले बाढी प्रभावितहरूका भावना र प्रतिक्रियाहरू बताउन दबाब दिंदैनन्, बरू मानिसहरूलाई सुरक्षित रहन, अरूसँग घुलमिल गर्न, शारीरिक र भावनात्मक कुराहरू साटासाट गर्न मद्दत मात्र गर्न सक्दछ । जसले गर्दा, आगामी दिन हुनसक्ने गम्भीर खालका मनोवैज्ञानिक असर कम हुनसक्दछ ।
मनोवैज्ञानिक प्राथमिक उपचार विधि
डा. मेरिट श्रेइबरद्वारा विकसित गरिएको विपद् मनोवैज्ञानिक प्राथमिक उपचार पद्धतिमा महत्वपूर्ण तीन चरणहरू समावेश हुन्छन् । जसमा पहिलो सुन्ने, दोश्रो संरक्षण गर्ने अनि तेस्रो सम्पर्क र समन्वय गराईदिने हुन् ।
बाढी प्रभावित क्षेत्रमा मनोवैज्ञानिक प्राथमिक उपचारमा सक्रिय हुनेहरूले पहिले त उनीहरूका कुरा सुन्नेछन् । उनीहरूले आफ्ना कुराहरू भनिरहँदा कुन हाउभाउ र कस्तो भावमा भनिरहेका छन् भनेर बुझ्नेछन् । उनीहरूले आफ्ना भावनाहरू कसैले त सुनिरहेको छ भन्ने अवस्था सिर्जना गर्न सक्नु नै पहिलो महत्वपूर्ण विधि हो । तर, उनीहरूको भावना सुनिरहँदा सही वा गलत त भन्नै भएन, यो सँगै आफ्नो दृष्टिकोणहरू पनि थोपर्न हुँदैन ।
दोश्रो चरण भनेको तनावबाट जोगाउनु हो । उनीहरूलाई आधारभूत कुराहरू जस्तो–: खाना, पानी, कम्बल जस्ता कुराहरूको सम्बोधन गर्नका लागि सहजीकरण गर्न सकिन्छ । न्यूनतम आवश्यकता पूर्ति हुँदा पनि उनीहरूलाई सहानुभूति मिल्दछ । यो सँगै उनीहरूलाई विपद्का बारेमा तथ्यपरक सूचना दिइरहनुपर्छ । तर, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमका प्रतिनिधि आएर पुनः सोही घट्नालाई कोट्याउने अवस्था नबनोस् भनेर सचेत पनि हुनुपर्छ । उनीहरूको दैनिकीलाई नियमित गर्नेतर्फ प्राथमिक उपचारक लाग्नुपर्छ ।
तेस्रो चरण भनेको उनीहरूका समस्या तथा जटिलतालाई सम्बोधन गर्न सम्बन्धित निकायलाई जोडिदिनु हो । विपद्का बेलामा छरिएर रहेका परिवारलाई जोडिदिने, आफन्तलाई जोडिदिने, छिमेकी–छिमेकीलाई जोडिदिनेतर्फ पनि लाग्नुपर्छ ।
सरकारले यस्तो विपद्का बेलामा उद्धार, राहत, शारीरिक उपचार लगायतका कुरामा पूर्वयोजना बनाए पनि मनोवैज्ञनिक असर कम गर्न गरिने प्राथमिक र दीर्घकालीन उपचारमा खासै ध्यान दिएको देखिँदैन ।
त्यसैले, यो विपद्का बेलामा पर्ने गम्भिर मानसिक आघातका बारेमा सरकारले बेलैमा सोचिदिएर सोही अनुरुपको ‘रेस्पोन्स’ गरिदिने हो भने आगामी दिनमा बाढी प्रभावितका साथै समाजमा देखिने मनोवैज्ञानिक असर कम हुनसक्दछ ।
प्रतिक्रिया 4