+
+
Shares

हुम्लामा ५ दिनदेखि विद्युत् अवरुद्ध, दीर्घकालीन समाधानको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते ८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लामा नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।
  • विद्युत् अवरुद्ध हुँदा हुम्ला सदरमुकामसहित आसपासका सरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक, सञ्चारमाध्यम र सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।
  • पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समस्या समाधान नभएसम्म डिजेल प्लान्ट तत्काल चलाएर विद्युत् आपूर्ति सुचारु गर्न संघीय सरकारसँग आग्रह गरेका छन्।

२० भदौ, सुर्खेत । नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो।

जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म वितरण केन्द्रबाट वितरित विद्युत् सेवा सम्पूर्ण क्षेत्रमा अवरुद्ध हुने जनाएको छ।

समस्या समाधान गर्न नसक्दा सेवाग्राही मारमा

विद्युत् सेवा अवरुद्ध हुँदा हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।

लामो समयसम्म विद्युत् नहुँदा मोबाइल चार्ज गर्नदेखि इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको स्थानीयको भनाइ छ।

दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित विद्युत् आपूर्तिको भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा पावर हाउसमा सामान्य समस्या आउँदासमेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ। तत्काल विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।

डिजेल प्लान्ट तत्काल चलाउन शाहीको आग्रह

यसैबीच पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले हुम्लामा विद्युत् आपूर्ति तत्काल सुचारु गर्न संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत पावर हाउसमा देखिएको समस्या समाधान नभएसम्म हुम्लामा रहेको डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याई विद्युत् उत्पादन तथा आपूर्ति सुचारु गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

उनले विद्युत् सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

शाहीले दुर्गम हिमाली जिल्लाका नागरिकलाई पनि अन्य नागरिकसरह आधारभूत सेवासुविधा प्राप्त गर्ने अधिकार रहेको बताएका छन् । ‘हुम्ली जनता पनि यही राज्यका नागरिक हुन्। हुम्लाका नागरिकलाई पनि उज्यालोमा बस्ने समान अधिकार छ’, शाहीले भनेका छन्, ‘राज्यले हिमाली दुर्गम भूगोलमा बसोबास गर्ने नागरिकलाई आधारभूत सेवासुविधाबाट वञ्चित गरिरहन मिल्दैन।’

दीर्घकालीन समाधानको माग

हुम्लामा विद्युत् सेवा पटक–पटक अवरुद्ध हुने समस्या देखिँदै आएको भन्दै स्थानीयले दीर्घकालीन समाधान खोज्न माग गरेका छन्। पावर हाउसको नियमित मर्मतसम्भारसँगै आवश्यक उपकरण र दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

तत्कालका लागि भने सञ्चालनमा रहेको डिजेल प्लान्ट प्रयोग गरी विद्युत् आपूर्ति नियमित गर्नुपर्ने स्थानीयको भनाइ छ।

पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा नागरिकले सास्ती खेपिरहेकाले सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनीहरूले बताएका छन्। हाल जिल्ला अस्पताल देखि सदरमुकाम तथा आसपासको क्षेत्रमा काम पुरै ठप्प भएको छ ।

सञ्चार सेवा समेत ठप्प हुने अवस्थामा पुगेको छ । मर्मत कार्य गर्नका लागि यत्ति नै समय लाग्छ भन्ने नभएको बताएको छ ।

डिजेल प्लान्ट सञ्चालन गर्न मासिक १० लाख भन्दा बढी लाग्ने कार्यालयको भनाई रहेको छ । सो रकम कार्यालयसँग नभएका कारण समस्य भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?