२१ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका ३, सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयका अनुसार भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए, जसमा ४८ महिला र ५३ पुरुष रहेका छन् ।
बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगको नियमित औषधि बगाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो ।
शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटु रोग, दन्त तथा अर्थोपेडिकसम्बन्धी सेवा प्रदान गरिएको थियो । बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श समेत दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियोर ।
प्रतिक्रिया 4