News Summary
Generated by OK AI. Editorially reviewed.- दुवै पार्टनरमा भाइरल लोड सप्रेस्ड भए यौन सम्पर्कमा कण्डम अनिवार्य नहुन सक्छ, तर एक जनामा भाइरल लोड बढी भए सुरक्षा अपनाउनुपर्छ।
एचआईभी र एड्सको बारेमा समाजमा धेरै गलत धारणाहरू छन् । एचआईभीसँगै बाँचिरहेका मानिसहरूलाई रोगले भन्दा बढी सामाजिक उपेक्षा र भेदभावले धेरै पीडा दिइरहेको हुन्छ । कोही व्यक्तिले एचआईभी भएकै कारण जागिर गुमाउन सक्छ, मित्रता गुमाउन सक्छ, र कहिलेकाहीँ पारिवारिक सहयोग पनि गुमाउन सक्छ ।
यो केवल रोगको कारणले मात्र होइन, सामाजिक बहिष्कारको कारण पनि हो । त्यसकारण, एचआईभी बारेका मिथक र गलत धारणाहरू हटाउनु महत्त्वपूर्ण हुन्छ । यी मिथकहरूले सामाजिक रूपमा समस्या उत्पन्न गराउँछ भने स्वास्थ्य जोखिमहरूमा पनि योगदान पुर्याउँछन् । एचआईभीबारे समाजमा रहेका गलत धारणाका कारण मानिसहरू उपचार गर्न जानका लागि समेत अनइच्छुक हुन्छन् । चिकित्सक, स्वास्थ्कर्मीलाई भेट्न हिचकिचाउने हुन सक्छ । व्यवस्थापनयोग्य रोग अझ गम्भीर हुन सक्छ । त्यसकारण, केही एचआईभीबारेका गलत धारणा र मिथकबारे जान्नु र समुदायलाई बुझाउनु महत्वपूर्ण कुरा हो ।
एउटै होइन एचआईभी र एड्स
डाक्टरहरूले एचआईभी र एड्स एउटै होइनन् भनेर व्याख्या गर्छन् । एचआईभी एक भाइरस हो जसले शरीरको प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्छ, विशेष गरी सीडी४ कोषहरूलाई क्षति पुर्याउँछ । यी कोषहरूले शरीरलाई रोगबाट बचाउँछन् । उचित उपचार पाए भने एचआईभी संक्रमित व्यक्तिले कुनै पनि लक्षणबिना वर्षौंसम्म सामान्य जीवन बिताउन सक्छ ।
एड्स, वा एक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम, एचआईभी संक्रमणको अन्तिम र सबैभन्दा गम्भीर चरण हो । यस चरणमा, शरीरको प्रतिरक्षा प्रणाली धेरै कमजोर हुन्छ । यद्यपि, यो बुझ्नु महत्त्वपूर्ण छ कि एचआईभी भएका सबैलाई एड्स हुँदैन ।
समयमै एचआईभी परीक्षण र एन्टिरेट्रोभाइरल थेरापीको साथ उपचार जारी राख्दा एड्ससम्मको अवस्थामा पुग्न पाउँदैन संक्रमितहरू लामो र स्वस्थ जीवन बाँच्न सक्छन् । एचआईभी अँगालो हाल्ने, खाना जुठो खाने वा एउटै कपडा तथा शौचालय प्रयोग गर्दा सर्दैन । एचआईभी रगत, यौन तरल पदार्थ र एउटै सुईको प्रयोग गर्दा मात्र फैलिन्छ ।
दुवै जना संक्रमित भए यौन सम्पर्क गर्दा सुरक्षा अपनाउनु आवश्यक छ ?
दुवै जना संक्रमित भएको अवस्थामा यौन सम्बन्ध राख्न कुनै सुरुक्षा उपाय अपनाउनु पर्ने अनिवार्य छैन । तर नियमित औषधि खाइरहेको र दुवैको भाइरल लोड सप्रेस्ड हुनुपर्यो ।
भाइरल लोड भनेको एक एमएल रगतमा भाइरसको संख्या कति छ भन्ने हो ।
एचआईभी संक्रमितले औषधि नखाएको खण्डमा भाइरल लोड हजारदेखि लाखौंको संख्यामा हुन सक्छ । औषधि खाएपछि परीक्षण गर्दा भाइरस नै नदेखिने तथा एकदमै कम मात्रै देखिने हुन्छ । यस्तो अवस्थालाई भाइरल लोड सप्रेस्ड भनिन्छ ।
यौन सम्बन्ध बनाउने पार्टनर दुवै जना संक्रमित हो र भाइरल लोड सप्रेस्ड छ भने कण्डमको प्रयोग गरिरहनुपर्छ भन्ने हुँदैन । यो कुरा अहिलेका केही नयाँ अध्ययनहरूले पनि भनेका छन् ।
यदि पार्टनरमध्ये एक जनामा भाइरल लोड बढी भएको अवस्थामा भने सुरक्षा प्रोटोकल अपनाउनु नै उत्तम हुन्छ ।
कुनै अवस्थामा दुई जनामा संक्रमण भएको भाइरसको स्ट्रेन्थ फरक हुन सक्छ । तर यस्तो केस दुर्लभ हुन्छ । कुन स्ट्रेन्थको हो भनेर जाँच गर्ने कुरा अहिले हाम्रोमा छैन । त्यसो भएकाले पनि यतातिर धेरै ध्यान दिनु पर्दैन ।
यसलाई धेरै जटिल तरिकाले बुझ्नु भन्दा एउटै कुरा बुझ्नु उचित हुन्छ दुवैमा भाइरल लोड नभएको अवस्थामा समान्य तरिकाले नै यौन सम्बन्ध बनाउँदा हुन्छ । दुई जनामध्ये एक जनामा भाइरल लोड धेरै देखिएको खण्डमा कण्डमको प्रयोग गर्नु राम्रो हो ।
ध्यान दिनुपर्ने कुरा
एचआईभीबाहेक यौन सम्पर्कबाट सर्ने रोग अरू पनि छन् । यदि यौन सम्बन्घ बनाउने पार्टनर नियमित पार्टनर होइन भने यसमा विचार गर्नुपर्छ । एक भन्दा बढी जनासँग यौन सम्बन्ध बनाएको अवस्था छ अथवा अन्य यौन रोगहरू सर्ने जोखिम छ भने कण्डम प्रयोग गर्नु राम्रो हुन्छ ।
एचआईभी संक्रमितले नियमित जाँच गर्ने, नियमित औषधि सेवन गर्ने र नियमित चिकित्सकको सल्लाह लिनु भने जरूरी छ ।
प्रतिक्रिया 4