News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपालका हलमा नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ तथा हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ प्रदर्शनमा आएका छन्।
- माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले लाहुरे श्रीमानको निधनपछि पेन्सन लिन पत्नीले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ।
- सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ ड्रामा विधाको १७५ मिनेट लामो फिल्मका रूपमा शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’सँगै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ रिलिज भएका हुन् ।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यसमा दयाहाङ राई र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् । लाहुरे श्रीमानको निधनपछि पेन्सन प्राप्त गर्न उनकी पत्नीले गर्नुपर्ने संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।
१२८ मिनेट रनटाइमको यो फिल्म गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित रहेको बताइएको छ । थुप्रै गुरुङ भाषाका फिल्म निर्देशन गरिसकेका माओत्सेको ‘दयारानी’पछि यो दोस्रो नेपाली कथानक फिल्म हो ।
सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा पारस बम ठकुरी र दिब्या रायमाझीको मुख्य भूमिका छ । ड्रामा विधाको यो फिल्मको रनटाइम १७५ मिनेट छ ।
हलिउड फिल्म ‘फल २ : डेड प्वाइन्ट’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । ९८ मिनेट लामो अंग्रेजी भाषाको यो फिल्मलाई माइकल स्पिरिग र पिटर स्पिरिगले निर्देशन गरेका हुन् । फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ ।
फिल्मको कथा आफ्नी बहिनी शिलोको मृत्युको शोकमा रहेकी ज्याक्स हन्टरको वरिपरि घुम्छ । यस क्रममा उनी शिलोकी साहसी साथी लुससँग नजिकिन्छिन् । दुवै जना मिलेर थाइल्यान्डको जोखिमपूर्ण माउन्ट क्वान आरोहण गर्न निस्कन्छन् ।
आरोहणका क्रममा पहिरो जाँदा उनीहरू जमिनबाट चार हजार फिट उचाइमा रहेको साँघुरो फल्याकमा फस्छन् । जीवन जोगाउन संघर्ष गरिरहेकी ज्याक्सले त्यसपछि आफ्नै डरको सामना गर्नुपर्ने हुन्छ । फिल्मलाई एड्भेन्चर र थ्रिलर विधामा राखिएको छ ।
त्यस्तै, बलिउड फिल्म ‘हनुमान अंश’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । १५० मिनेट रनटाइमको फिल्मलाई विशाल चतुर्वेदीले निर्देशन गरेका हुन् । यसमा शोभिनव सत्या, चन्दन आनन्द र पूर्णिमा तिवारीको मुख्य अभिनय छ । फिल्मलाई पीजी रेटिङ दिइएको छ ।
फिल्मको कथा आफ्नी दिवंगत आमालाई भेट्ने चाहनामा भगवानको खोजीमा निस्किएको एक शोकाकुल बालकको जीवनयात्रामा केन्द्रित छ । ईश्वरको खोजी गर्दै जाँदा उसले मानवताको सेवा नै जीवनको महत्वपूर्ण उद्देश्य भएको अनुभूति गर्छ ।
प्रेम, भोजन र मौन आशीर्वादमार्फत मानिसको सेवा गर्दै आध्यात्मिक यात्रा तय गर्ने त्यही बालक पछि ‘हनुमान अंश’ अर्थात् नीम करोली बाबाका रूपमा चिनिन्छ । जीवनी विधाको फिल्मले उनको आध्यात्मिक यात्रा र मानव सेवाको कथालाई प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4