+
+
Shares

लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो

बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको आरोप लगाएका छन्।
  • लिङ्देनले सांसद व्यक्तिगत नभई पार्टीको प्रतिनिधि हुने भन्दै पार्टीविपरीत अन्य दलसँग जाने काम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
  • उनले सांसदमा व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति रहँदासम्म बलियो पार्टी निर्माण नहुने बताएका छन्।

२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाएका छन्। बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए।

एमालेको नामै लिएर आक्रोश पोखेका लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाए। अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै उनले आफ्ना सांसदहरूलाई ‘खसी–बाख्रा’ सँग तुलना गरे।

‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ,’ लिङ्देनले भने, ‘तर आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’

‘सांसद व्यक्तिगत हुँदैन, पार्टीको प्रतिनिधि हो’

पार्टीको टिकट र मनोनयनबाट चुनाव जितेका सांसदहरूले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने अध्यक्ष लिङ्देनले स्पष्ट पारे।

पार्टीको नामबाट चुनाव जितेर जाने तर पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी दिए। ‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ लिङ्देनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

यस्ता राजनीतिक विकृति अन्त्य गर्न सम्पूर्ण कार्यकर्ता पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। जबसम्म सांसदमा व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति कायम रहन्छ, तबसम्म बलियो पार्टी निर्माण गर्न नसकिने र जनताले पनि विश्वास नगर्ने लिङ्देनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?