+
+
Shares

तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि भिरमा ‘नेलिङ’ गरिँदै

वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो ।

रासस रासस
२०८३ भदौ २८ गते १५:२३
फाइल तस्वीर

२८ भदौ, नारायणगढ । सडक डिभिजन कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्ने भएको छ ।

गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो ।

सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ ।

सडक डिभिजन भरतपुरका प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको बताए । ‘सात दिनयता माथिका ठूला ढुङ्गा काटेर फाल्ने काम भइरहेको छ । अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन्,’ उनले भने, ‘ठूला ढुङ्गा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ ।’

उनका अनुसार तुइनखोलामा गर्न लागिएको पहिरो रोकथामको कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ ।

स्लोपको प्रकृतिअनुसार टू–डाइमेन्सनल (द्वि–आयामी ढाँचा) र त्रि–आयामी ढाँचा (थ्री–डाइमेन्सनल रेट) प्रयोग गरी बायोइन्जिनियरिङमार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उनले बताए ।

अहिले पहिरोको भिर काटेर ढुङ्गा फाली स्लोप बनाउने काम भइरहेको छ । त्यसपछि उक्त स्थानमा ‘नेलिङ’ प्रविधि अपनाइने इञ्जिनियर लामिछानेले बताए ।

पहिरो जाने क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई कमजोर बनाउने भएकाले पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’को समेत व्यवस्थापन गरिने उनको भनाइ छ ।

‘मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ,’ उनले भने ।

इञ्जिनियर लामिछानेले एक महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताउँदै माथिका ठूला ढुङ्गा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने जानकारी दिए ।

उक्त खण्डमा बिहान ८:३० देखि बेलुकी ६:०० बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६:०० देखि बिहान ८:०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?