+
+
Shares

अज्ञातलाई सम्झिनु इतिहास उल्ट्याउनु होइन, फराकिलो बनाउनु हो

हामीले स्कुलका किताबमा पृथ्वीनारायण शाह पढ्यौँ । सेनापति पढ्यौँ । युद्धहरू पढ्यौँ । तर त्यो युद्धमा हिँड्ने सबै मानिसको कथा पढेनौँ ।

गणेश कार्की गणेश कार्की
२०८३ असोज ३ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘अज्ञात’ उपन्यासले नालापानी युद्ध र गोर्खा राज्य विस्तारलाई आममानिसका दृष्टिबाट देखाउँदै नाम नभएका मानिसलाई केन्द्रमा राखेको छ।
  • लेखकले मन्या पात्रमार्फत कमारा-कमारी, किसान, झराली, तिलङ्गा, हुलाकी र माझीको जीवन, शोषण र युद्धको प्रभाव चित्रण गरेका छन्।
  • पुस्तकले इतिहास राजाका होइन, भुइँमानिसका कथा पनि हो भन्ने देखाउँदै तलका मान्छेको नजरबाट माथि हेर्ने दृष्टि प्रस्तुत गरेको छ।

म किशोरावस्थामा पुग्न लाग्दै थिएँ । घरको काम गर्नु भन्दा खेल्नमा बढी ध्याउन्न हुन्थ्यो । गाउँका दाइहरूको पनि यसो हेर्दा म जस्तै खेलमा मात्रै ध्याउन्न भएझैं लाग्थे । उनीहरू स्कुलको टिफिनमा फुटबल खेल्थे । स्कुल सकिए पछि चोकमा र त्यही स्कुलको चौरमा बरालिएका देखिन्थे ।

उनै दाइहरूले एकदिन एउटा बोर्ड बनाएर चोकको एउटा घरमा झुन्ड्याएका रहेछन् । बिहान सबेरै चियापसलमा दूध पुर्याउन जाँदा देखेँ । बोर्डमा लेखिएको थियो– एकता पुस्तकालय, शनिश्चरे ८, मोरङ ।

मलाई पढ्न पनि खेल्नजत्तिकै मज्जा लाग्थ्यो । तर पढ्ने कुराहरू सीमित थिए । गाउँको पसलमा महिनामा एउटा मुना, एउटा सुनक्रेसा पत्रिका आउँथे । चोकमा किताब हात पारेको मैले ५०० मिटर परको घर पुग्दा पढिसकेको हुन्थेँ । कोठेपद, अंकजाल भर्न र बाटो पत्ता लगाउने चित्रमात्रै बाँकी रहन्थे।

मट्टीतेल जस्तो हो कि भन्ने सम्झना आउँछ, त्यस्तो गन्ध भएका पातला घुर्मैलो रङका कागजमा काला अक्षरले लेखेका, डिजाइनमा खासै ध्यान नदिइएका जस्ता छलफल, बुधबार नामका राजनीतिक पत्रपत्रिकाहरू बुबाले बेलाबेला ल्याउनु हुन्थ्यो । मुलकुरा नबुझे पनि पढ्ने गर्थेँ । दिदी दाइहरूले अलि चिल्ला पत्रिका भेटे ल्याइहाल्थे र भित्तामा टाँस्थे । ती पनि बेलाबेलाका पढ्ने साधन बन्थे ।

त्यस्तो अवस्थामा पुस्तकालयको बोर्ड देख्नु मेरा लागि मिठो ‘सप्राइज’ बन्यो । थोरै किताब भएको त्यो पुस्तकालयका धेरै जसो किताब पढ्न भ्याएँ । त्यसमध्ये एउटा किताब थियो, बसन्ती । डायमन शमशेरले लेखेको त्यो किताब भर्खर ६-७ कक्षा पढ्दै गरेको मेरा लागि उमेर र ज्ञान सुहाउँदो थिएन तर किताबमा आएका स-साना पात्रका कुराहरूले भने मन लोभ्याएको थियो ।

‘पुतली मैयाँले जंगबहादुरलाई खबर नगरिदिएको भए नेपालको इतिहास अर्कै हुने रहेछ ।’ मलाई त्यस्तै लागेको थियो । आख्यान र गैरआख्यानको समझ आफ्नै ठाउँमा छ । तथ्य र कल्पनाको अन्तर पनि आफ्नै ठाउँमा होला । बसन्तीले इतिहासलाई दरबारमै कैद गर्न सहयोग गरेको भन्ने आरोपमा अर्कै बहस होला तर त्यो किताबकी पुतली मैयाँको प्रसंगले इतिहासमा आम मान्छेका कथा र योगदान पनि हुँदा रहेछन् भन्ने कुरा मलाई बुझायो । आम मानिसले शासनसत्तामा पारेका फरक, गरेका योगदान र भोगेका व्यथाहरू हत्तपत्त लेखिँदैनन् ।  त्यसपछि पनि तिनै किसिमका पुस्तक, कथा खोजेँ तर पाउन सकिनँ ।

म अस्कलमा बिएस्सी पढ्दै थिएँ । ६२ सालतिरको कुरा हो । प्रज्ञाप्रतिष्ठानमा पुस्तक मेला लागिरहेको छ भन्ने थाहा पायौँ । प्रज्ञाको पुस्तक मेला हाम्रा लागि विशेष बन्थ्यो किनभने प्रज्ञाले निकै छुटमा किताब दिन्थ्यो । आफ्ना पुराना किताबहरू त एक रूपैया, दुई रूपैयामा समेत दिन्थ्यो ।

त्यही मेलामा २० रूपैयाँमा १ दर्जन भन्दा बढी किताब किनेको थिएँ । पढ्दै जाँदा एउटा किताब हात पर्‍यो, माटोका केही बुँदाहरू । थोरै पेज भएको त्यो किताबमा इतिहासका अज्ञात व्यक्तिहरूको बारेमा विवरण थिए, जसका बारेमा मैले अहिले धेरै सम्झिन सकेको छैन तर मामाघरमा हजुरआमाले दिनुभएको कुनै मिठाइको स्वाद जिब्रोमा झुन्डिएजस्तै त्यो सानो किताबको मिठास भने दिमागमा अझैँ बाँकी छ ।

अर्थात्, सानैमा पढेको बसन्तीले पारेको साना मान्छेहरूको ऐतिहासिक अज्ञात भूमिकाप्रतिको मेरो झुकाव फेरि माटोका केही बुँदाहरूले सतहमा ल्याइदियो । यो किताबका बारेमा धेरै जनासँग धेरै पल्ट कुरा गरेको छु ।

उपन्यासले इतिहासमा नाम नआएका मान्छेलाई नायक बनाउने लोभ गरेको छैन । बरु उनीहरूलाई मान्छे बनाएको छ । मलाई लाग्छ, अज्ञातको सबैभन्दा ठूलो उपलब्धि यही हो ।

त्यसको लगभग २ दशकपछि मेरो हातमा अर्को किताब पर्यो, अज्ञात । उपन्यासको सुरुवातको पेजमा एकापट्टी मापन निश्चित नभएको मन्याको बाटोको नक्सा छ । अर्कोपट्टी नालापानी किल्लाको नक्सा छ । र लगत्तै आउँछन् ने मुनि । उनको चेतना फर्किन्छ । ‘म फेरि आउनेछु, भुक्तमान’ भनेर गएको केयौँ हजार वर्षपछि । अनि आउँछ मन्या ।

तर उपन्यासमा मन्या मात्रै छैन । मन्यासँगै उपन्यासमा भेटिने थुप्रै मानिस छन् । कोही गोविन्दे खवास भएर आउँछन्, कोही नर्सिङ केसी । हिरा, गोपाल, पाँडेकाजी, विराज, जोगी, चन्द्रकान्त, देवु, वनदेवीहरू पनि छन् । राजा, महाराजहरू, तिनका रानी र प्रेमिकाहरू छन् । तिनका लागि ज्यान फ्याल्ने र तिनको ज्यान लिनेसम्म छन् । किनबेच हुँदै गरेका कमारा-कमारी छन् । झराली र किसानहरू छन् । तिलङ्गा, हुलाकी र माझीहरू छन् । त्यो समय र समाजका दु:खसुख, अफ्ठ्यारा र जीवनशैली पनि छन् ।

तर, कथाको केन्द्रमा मन्या छ । कमारो भएर बस्न बाध्य मन्या आफ्ना बाबुबारे थाहा पाएपछि उनलाई खोज्न घरबाट निस्किन्छ । बाबुको खोजीमा निस्किएको उसको यात्रा अर्को खोजीका लागि अगाडि बढ्छ । यात्रामा उसले शोषण, मान्छेको खरिद-बिक्री, मृत्यु, लुटपाट, विस्थापन र युद्धको आदेश मान्न बाध्य मानिसहरू भेट्छ । मान्छेहरू देशलाई ढुंगो भन्छन् । पुजिरहेको भगवानको मूर्ति मानिएको ढुंगो जस्तो । ढुंगो जोगाउने र ढुंगो बढाउने ध्याउन्नमा लागेको राज्यको मन पनि ढुंगोकै भएको देख्छ मन्याले ।

बाटो पछ्याउँदै जाँदा उसको यात्रा नालापानीसम्म पुग्छ । त्यहाँ पुगेर ऊ आफूले बुझ्न खोजिरहेको युद्धकै हिस्सा बन्न पुग्छ । उ युद्धमै सकिन्छ कि फर्किन्छ ? फर्किएर पर्खेर बसेकी प्रेमिका र मन्यालाई पर्खिएर बाँचिरहेकी आमालाई भेट्छ कि भेट्दैन ? जवाफमा धेरै विकल्पहरू छन् ।

जवाफको प्रासंगिकता सशर्त हुन्छ, पात्र आवधिक । तर आममान्छेका आँखाबाट इतिहासका घटनाहरू हेर्न मन्या उपयुक्त पात्र छ । उसले भोगेको इतिहासका घटनाहरू वा ऊ जस्तैले भोगेको इतिहास ठूलो कि सानो भन्ने छुट्याउनतिर किताब लागेको छैन । सायद यो छुट्याउनै नसकिने घटना हो ।

मान्छेका लागि हारेर पनि जिउँदै फर्किएको युद्ध ठूलो हो कि मरेर पनि जितिएको युद्ध ठूलो हो ? कसलाई सोध्ने हो जवाफ ? परिवारलाई कि सत्तालाई ? मान्छेलाई कि भूमिलाई ?

मन्याले इतिहास भन्दैन । भन्न नै खोज्दैन । ऊ मात्र बाटो थाहा पाउन खोज्छ । ऊ राजा होइन । सेनापति होइन । कुनै दरबारको ठूलो मान्छे पनि होइन । उसको र दरबारको कोसौँ टाढाको सम्बन्ध पनि छैन । ऊ आफ्नो जीवनको सामान्य समस्याबाट पेलिएको मान्छे हो । उसको समस्या पनि त्यो बेलाका लागि असाधारण हैनन् । आफ्ना समस्या जस्तै धेरैका समस्या भइगए पछि मान्छेका जस्तासुकै समस्या पनि साधारण बन्छन् ।

इतिहासमा अनेकौँ युद्ध, अनेकौँ घटना हुन्छन् । तर कुनै मानिसका लागि एउटा युद्ध नै पूरै जीवन हुन सक्छ ।

मन्यालाई पनि त्यही साधारण समस्या पन्छाउनु छ । र खोज्नु छ परिवार । आफ्ना बाबु खोज्नु छ । आमा खोज्नु छ । आफ्नो परिवारको बारेमा जान्नु छ । तर त्यो खोजी जुन समयभित्र भइरहेको छ, त्यो असाधारण छ । ऐतिहासिकता त्यहाँनेर छ । देश बनिरहेको समय छ । राज्य बिलाइरहेको र फैलिरहेको समय छ । युद्ध भइरहेको समय छ । मानिसहरू आफ्नो इच्छाले भन्दा आदेशले बढी चल्नुपर्ने समय छ ।

यहीँनेर व्यक्तिगत कथा र इतिहास जोडिन्छ । मलाई अज्ञातको यही कुरा सबैभन्दा रोचक लाग्यो । हामी इतिहासलाई माथिबाट हेर्ने बानीमा छौँ । राजाका नजरबाट इतिहास तल हेर्छौँ । सेनापतिका नजरबाट तल हेर्छौँ । युद्ध जित्ने मान्छेका नजरबाट तल हेर्छौँ । अज्ञातले तलका मान्छेको नजरबाट माथि हेर्न खोज्छ ।  त्यो फरक दृष्टि हो । इतिहासको अवलोकनमा त्यो इतिहासभर अपाच्य कुरा हो ।

हाम्रो इतिहास राजा, काजी र सेनापतिको घोडाबाट ओर्लिनै मानेको छैन । हाम्रो इतिहासले दरबारको कोठी र आँगन नाघ्न जानेको छैन । हाम्रो इतिहास वीरतापूर्ण अन्त्यमा पुग्नै पर्ने मानसिकतामा अड्किएको छ।

हामीले स्कुलमा नेपालको इतिहास पढ्यौँ । गोर्खा राज्यको विस्तार पढ्यौँ । पृथ्वीनारायण शाह पढ्यौँ । सेनापतिहरू पढ्यौँ । युद्धहरू पढ्यौँ । जित र हार पढ्यौँ । तर त्यो युद्धमा हिँड्ने सबै मानिसको कथा पढेनौँ।

हामीले सायदै सोच्यौँ, युद्धमा बन्दुक बोक्ने को-को थिए ? घोडाका पछि पछि दौडिँदै कसले बोक्यो खाना ? कसले देखायो बाटो ? कसले पुर्‍यायो र ल्यायो खबर ? कसले तार्‍यो सिपाहीलाई खोला ? कसले बोक्यो घाइतेलाई ? कसले लगायो घाउमा औषधि ? को-को थिए नालापानीबाट नाङ्गो तरबार लिएर बलभद्रसँगै निस्किएका वीरवीरङ्गनाहरू ? को-को हुन् नालापानीको माटोमा मिसिएर आफ्नै छातीमाथि नेपालीको बहादुरीको स्तम्भ थामिरहेकाहरू ? कसले लगायो खुकुरीमा साँध ? कसले हान्यो जिलेस्पीलाई गोली ?

इतिहासमा अनेकौँ युद्ध, अनेकौँ घटना हुन्छन् । तर कुनै मानिसका लागि एउटा युद्ध नै पूरै जीवन हुन सक्छ । कुनै मान्छे युद्धमा जान्छ । उसको श्रीमती पर्खिन्छे । छोरा हुर्किन्छ । बाबु फर्किँदैन । कोही फर्केर आए पनि पहिलेजस्तो हुँदैन । तर इतिहासमा युद्धको एउटा शब्द लेखिन्छ, जित या हार । मान्छेको बाँकी कथा कहाँ जान्छ ? अज्ञात त्यही बाँकी कथातिर फर्किएको किताब हो ।

यी प्रश्नहरू किताबमा छन् । लेखकले हरेक प्रश्नको उत्तर दिएका छैनन् । सायद दिनु पनि पर्दैन । कहिलेकाहीं किताबले उत्तर दिनुभन्दा प्रश्न छोडिदिँदा बढी काम गर्छ । मलाई लाग्छ, अज्ञातको एउटा राम्रो पक्ष यही हो ।

यसले गोर्खा राज्य विस्तारलाई वीरताको कथा बनाएर छोड्दैन । त्यस समयका मानिसले भोगेको दुःख पनि देखाउँछ । अनि युद्धलाई दुःखको कथा मात्रै बनाउँदैन । मानिसहरू किन त्यसमा होमिए, त्यो पनि देखाउँछ । इतिहास एउटा रङको मात्रै छैन भन्ने महसुस हुन्छ ।

अज्ञात उपन्यासले इतिहासको फैसला सुनाउन खोजेको छैन । इतिहासको एउटा अँध्यारो कुनामा बत्ती बाल्न खोजेको छ । त्यहाँ धेरै मान्छे छन् – नाम नभएका, पहिचान नभएका तर देशको भूगोल निर्माण गर्ने क्रममा पसिना र रगत छोडेका । उनीहरूलाई सम्झनु भनेको इतिहासलाई उल्ट्याउनु होइन । इतिहासलाई अलि फराकिलो बनाउनु हो । हामीले पढेको इतिहास गलत छ भन्नु पनि होइन । त्यो इतिहासमा भन्न बाँकी अझै धेरै छ भन्नु हो ।

यो सबै समेट्दै उपन्यासले इतिहासमा नाम नआएका मान्छेलाई नायक बनाउने लोभ गरेको छैन । बरू उनीहरूलाई मान्छे बनाएको छ । मलाई लाग्छ, अज्ञातको सबैभन्दा ठूलो उपलब्धि यही हो ।

मन्याको कथा पढ्दै जाँदा मलाई सानैमा पढेको बसन्तीको फेरि सम्झना भयो । त्यतिबेला पुतली मैयाँलाई मैले कति ठूली वा सानी मान्छे ठानेको थिएँ, सम्झना छैन । तर उनले जंगबहादुरलाई खबर गरेको प्रसङ्गले मेरो बालमनमा एउटा कुरा चाहिँ छिराएको थियो, इतिहास बदल्ने काम इतिहासमा नाम भएका मानिसले मात्रै गर्दैनन् । त्यो भाव अझ गाढा भएर आयो ।

इतिहासको फेरबदल कहिलेकाहीँ एउटा सुसारेले पनि गर्न सक्छे । एउटा सामान्य मान्छेले पनि गर्न सक्छ । कुनै यस्तो मान्छेले पनि गर्न सक्छ, जसको नाम हामीले कहिल्यै नसुनेका हुन सक्छौँ । माटोका केही बुँदाहरूका कथा र प्रसंगले त्यो कुरा झनै बलियो बनाएको थियो । अहिले अज्ञातले फेरि त्यही कुरालाई गहिरो बनाइदियो ।

अनि, बाल्यकालमा बसन्ती पढ्दा इतिहासमा नलेखिएका तर योगदान दिएका भुइँमान्छेहरूको कथा पढ्न जागेको रहर र माटोका केही बुँदाहरूले झन् थपिदिएको तृष्णालाई अज्ञातले धेरै हदसम्म तृप्त पारिदिएको छ । यसका लागि लेखकलाई धन्यवाद छ ।

लेखक
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?