News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाललाई आरोग्य गन्तव्य बनाउन सार्वजनिक–निजी साझेदारी, पूर्वाधार, गुणस्तर, वैदेशिक लगानी र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
- सरकारले ‘राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५’ पारित गरी सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।
- लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबले वेलनेस पर्यटनमा वैदेशिक लगानी भित्र्याउन आवश्यक सहजीकरण गर्न बोर्ड तयार रहेको बताइन् ।
२ असोज, काठमाडौं । नेपाललाई विश्वकै प्रमुख ‘आरोग्य गन्तव्य’ का रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी, पूर्वाधार निर्माण, गुणस्तर वृद्धि, वैदेशिक लगानी र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विश्व पर्यटन सञ्जाल र टुरिज्म इन्फो नेपालले संयुक्त आयोजना गरेको कार्यक्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधिको सहभागितामा आयोजित ‘वेलनेस नेपाल इन्भेस्टमेन्ट समिट २०२६’ मा वक्ताले नेपालको हिमालय, प्राकृतिक सम्पदा, आयुर्वेद, योग, ध्यान तथा सांस्कृतिक मौलिकतालाई एकीकृत गरी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।
नेपाल सरकारले ‘राष्ट्रिय वेलनेस पर्यटन रणनीति (२०२६–२०३५)’ पारित गर्दै सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेको छ । कार्यक्रममा रक्षा सचिव इन्दु घिमिरेले आरोग्य पर्यटन रणनीतिले गन्तव्यको प्रतिस्पर्धात्मकता, गुणस्तर तथा मापदण्ड, मानव संसाधन विकास र बजार प्रवर्द्धनसहित पाँच मुख्य लक्ष्य तथा ३७ रणनीति अघि सारेको जानकारी गराइन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबले वेलनेस पर्यटनमा वैदेशिक लगानी भित्र्याउन आवश्यक सहजीकरण गर्न बोर्ड तयार रहेको बताइन् ।
नेपाल पर्यटन बोर्डका पूर्व सीईओ तथा विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य दीपकराज जोशीले वेलनेस पर्यटनको सम्भावना ठूलो भए पनि यस क्षेत्रमा पर्याप्त लगानी र पूर्वाधार विकास हुन नसकेको बताए ।
विश्व पर्यटन सञ्जालका अध्यक्ष जुर्गेन स्टाइनमेत्जले वेलनेस पर्यटकहरू सामान्य पर्यटकको तुलनामा लामो समय बस्ने र बढी खर्च गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले मूल्यमा प्रतिस्पर्धा गर्नुभन्दा मौलिक र प्रामाणिक अनुभवमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
वेलनेस पर्यटन विस्तारसँगै दक्ष जनशक्ति उत्पादनलाई पनि प्राथमिकतामा राखिएको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) का कार्यकारी निर्देशक डा. दिव्यराज पोखरेलले बताए ।
कार्यक्रममा काव्या रिसोर्ट एन्ड स्पाका संस्थापक तथा प्रबन्ध निर्देशक हितेश गोल्छा, दुसित थानी धुलिखेलका प्रबन्ध निर्देशक रमेश हमाल र पार्क भिलेज रिसोर्टका कार्यकारी निर्देशक अमृताञ्जली शाक्य, टुरिज्म इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारी लगायतले नेपाल सरकारले लगानीको वातावरण सिर्जना गर्न झन्झटिलो कानुनी प्रक्रिया सहजीकरण र निश्चित अवधिका लागि केही प्याकेज ल्याउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया 4