News Summary
Generated by OK AI. Editorially reviewed.- नर्थ क्यारोलाइनाले बेत्रावती नदी किनारको ‘सन्धिढुंगो’ को आवाजमा बाढी, पहिरो र सुरुङमा थुनिएका पीडितहरूको चीत्कार उल्लेख गरेकी छन्।
- कवितामा झण्डै दुई शतकअघि दुई देशले सीमा कोर्दा तल नेपाल, माथि तिब्बत भनिएको र त्यसै दिन पत्थरको हृदय चिरिएको भनिएको छ।
- कविताले सीमाले देश, मानिस, भाषा र पहिरन छुट्याएको पश्चात्तापका कारण सन्धिढुंगो कैलाश पर्वतको जलस्नानपछि विलुप्त भएको बताएको छ।
बेत्रावती नदी किनारमा सयौं वर्षदेखि
इतिहासका पानाहरू च्यापेर
म गजधम्म बसिरहेथें
अचानक मेरै गल्छेडोबाट
उर्लिएको हिमाली सुनामीले
मेरो जरा उखेल्यो,
मलाई क्षत–विक्षत बनायो,
म लड्खडाउँदै निस्कें नदीबाट
र
फ्याँकिएँ अनकन्टार गर्तमा
पहिचान लुकाएर ।
खासमा म पत्थर थिएँ कि शिला ?
सीमास्तम्भ थिएँ कि इतिहास ?
बर्बरिक एक्लैले देखेथ्यो महाभारत
मैले पनि एक्लै हेरिरहेथें
उर्लेको बेत्रावतीको ज्वालामुखीलाई,
बौलाएको भोटेकोशीको ताण्डवलाई
हेर्दाहेर्दै एकै निमेषमा
विशाल बस्तीहरू खण्डहर बने
बस्ती बस्तीमा किचिएका
पहिरो र बाढीमा बगेका,
सुरुंगभित्र थुनिएका
हजारौं बाल, वृद्ध र बनिताका चीत्कारहरू,
आर्तनादहरू
जिजीविषाका रोदनहरू सुनिरहें
तर, मैले के नै गर्न सक्थें र ?
आफैं ढलेपछि,
आफैं उखेलिएपछि
कसले देख्ला र सुनामीको कथा
कसले लेख्ला र ती आँसुका कथा ?
मेरै रोहवरमा
मलाई नै साक्षी राखी
झण्डै दुई शतक अघि
दुई देशले सीमा कोरेर
भूगोल छुट्याएर भने
तल नेपाल, माथि तिब्बत ।
हो, त्यसैदिन हो मेरो हृदय चिरिएको ।
भन्न त मानिसहरू भन्छन् नि ‘पत्थरको हृदय हुन्न’
तर होइन
म त्यसै दिन रोएको थिएँ
किनकि
मैले नै देश छुट्याएँ
तल र माथि गरेर
मैले नै मानिस–मानिस छुट्याएँ,
मैले नै भाषा–भाषा छुट्याएँ,
मैले नै पहिरन छुट्याएँ
त्यसैबेलादेखि मलाई पश्चात्ताप भइरहेथ्यो
त्यही पश्चात्तापको ज्वालाले
अन्तत: कैलाश पर्वतको जलस्नान गरी
म मुक्त भएँ र विलुप्त भएँ
यस धरामा
मलाई पश्चात्तापको पाप पखाल्न दिनुस्
मलाई इतिहासको गर्तभित्रै लुक्न दिनुस्
मलाई कसैले नखोज्नु
त्यो ‘सन्धिढुंगो’ कहाँ गयो भनेर ?
– नर्थ क्यारोलाइना
प्रतिक्रिया 4