+
+
Shares
कविता :

शिला हराएको सूचना

कृष्णराज खनाल कृष्णराज खनाल
२०८३ असोज ३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नर्थ क्यारोलाइनाले बेत्रावती नदी किनारको ‘सन्धिढुंगो’ को आवाजमा बाढी, पहिरो र सुरुङमा थुनिएका पीडितहरूको चीत्कार उल्लेख गरेकी छन्।
  • कवितामा झण्डै दुई शतकअघि दुई देशले सीमा कोर्दा तल नेपाल, माथि तिब्बत भनिएको र त्यसै दिन पत्थरको हृदय चिरिएको भनिएको छ।
  • कविताले सीमाले देश, मानिस, भाषा र पहिरन छुट्याएको पश्चात्तापका कारण सन्धिढुंगो कैलाश पर्वतको जलस्नानपछि विलुप्त भएको बताएको छ।

बेत्रावती नदी किनारमा सयौं वर्षदेखि

इतिहासका पानाहरू च्यापेर

म गजधम्म बसिरहेथें

अचानक मेरै गल्छेडोबाट

उर्लिएको हिमाली सुनामीले

मेरो जरा उखेल्यो,

मलाई क्षत–विक्षत बनायो,

म लड्खडाउँदै निस्कें नदीबाट

फ्याँकिएँ अनकन्टार गर्तमा

पहिचान लुकाएर ।

खासमा म पत्थर थिएँ कि शिला ?

सीमास्तम्भ थिएँ कि इतिहास ?

बर्बरिक एक्लैले देखेथ्यो महाभारत

मैले पनि एक्लै हेरिरहेथें

उर्लेको बेत्रावतीको ज्वालामुखीलाई,

बौलाएको भोटेकोशीको ताण्डवलाई

हेर्दाहेर्दै एकै निमेषमा

विशाल बस्तीहरू खण्डहर बने

बस्ती बस्तीमा किचिएका

पहिरो र बाढीमा बगेका,

सुरुंगभित्र थुनिएका

हजारौं बाल, वृद्ध र बनिताका चीत्कारहरू,

आर्तनादहरू

जिजीविषाका रोदनहरू सुनिरहें

तर, मैले के नै गर्न सक्थें र ?

आफैं ढलेपछि,

आफैं उखेलिएपछि

कसले देख्ला र सुनामीको कथा

कसले लेख्ला र ती आँसुका कथा ?

मेरै रोहवरमा

मलाई नै साक्षी राखी

झण्डै दुई शतक अघि

दुई देशले सीमा कोरेर

भूगोल छुट्याएर भने

तल नेपाल, माथि तिब्बत ।

हो, त्यसैदिन हो मेरो हृदय चिरिएको ।

भन्न त मानिसहरू भन्छन् नि ‘पत्थरको हृदय हुन्न’

तर होइन

म त्यसै दिन रोएको थिएँ

किनकि

मैले नै देश छुट्याएँ

तल र माथि गरेर

मैले नै मानिस–मानिस छुट्याएँ,

मैले नै भाषा–भाषा छुट्याएँ,

मैले नै पहिरन छुट्याएँ

त्यसैबेलादेखि मलाई पश्चात्ताप भइरहेथ्यो

त्यही पश्चात्तापको ज्वालाले

अन्तत: कैलाश पर्वतको जलस्नान गरी

म मुक्त भएँ र विलुप्त भएँ

यस धरामा

मलाई पश्चात्तापको पाप पखाल्न दिनुस्

मलाई इतिहासको गर्तभित्रै लुक्न दिनुस्

मलाई कसैले नखोज्नु

त्यो ‘सन्धिढुंगो’ कहाँ गयो भनेर ?

– नर्थ क्यारोलाइना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?