+
+
Shares

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ एफई, मूल्य १ लाख २० हजार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले वान यूआई ९ सहित ग्यालेक्सी एस २६ सिरिजको पहिलो फोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ।
  • क्यामेरा, इमेज प्रोसेसिङ र ग्यालेक्सी एआई सुविधासहित आएको फोनमा सुधारिएको ट्रिपल रियर क्यामेरा, माई फ्यानक्याम र नाइटोग्राफी सुविधा छन्।
  • ग्यालेक्सी एस २६ एफईको ८/२५६ जीबी भेरियन्टको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ, र खरिदमा ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ।

५ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ। वान यूआई ९ सहित बजारमा आउने ग्यालेक्सी एस २६ सिरिजको यो पहिलो स्मार्टफोन भएको कम्पनीले जनाएको छ।

पातलो र हल्का डिजाइनमा तयार गरिएको ग्यालेक्सी एस२६ एफईमा क्यामेरा, इमेज प्रोसेसिङ र ग्यालेक्सी एआईका सुविधालाई प्राथमिकता दिइएको छ। दैनिक फोटो खिच्ने, भिडियो बनाउने, सम्पादन गर्ने तथा अन्य कामलाई सहज बनाउने उद्देश्यले फोनमा विभिन्न नयाँ सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितले दैनिक जीवनमा फोनका सुविधाले अर्थपूर्ण फरक पार्ने गरी ग्यालेक्सी एस २६ एफई डिजाइन गरिएको बताए। उनका अनुसार यसले ग्यालेक्सी एस सिरिजका प्रिमियम सुविधालाई थप ग्राहकसम्म पुर्‍याउनेछ।

क्यामेरा र भिडियोमा नयाँ सुविधा

ग्यालेक्सी एस २६ एफईमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ प्रविधि रहेको कम्पनीले जनाएको छ। यसले स्थिर तस्बिरदेखि चलायमान दृश्यसम्म स्पष्ट रूपमा खिच्न तथा फोटो सम्पादन गर्न सहयोग गर्नेछ।

नयाँ ग्यालेक्सी फोल्डेबल फोनमा उपलब्ध गराइएको माई फ्यानक्याम सुविधा ग्यालेक्सी एस २६ एफईमा पनि समावेश गरिएको छ। यसले छनोट गरिएको व्यक्तिलाई स्वचालित रूपमा ट्र्याक गर्दै फ्रेमको बीचमा राख्ने तथा व्यक्ति वा दृश्यको गतिविधिअनुसार भिडियो फ्रेम मिलाउने कम्पनीले जनाएको छ।

त्यस्तै, होरिजोन्टल लकसहितको सुपर स्टेडी सुविधाले भिडियो खिच्दा तीव्र गतिका गतिविधिलाई स्थिर र सीधा रूपमा रेकर्ड गर्न सहयोग गर्नेछ। फोनमा ३ गुणासम्मको अप्टिकल जुम सुविधा पनि रहेको छ। ग्यालेक्सी सिरिजमा उपलब्ध नाइटोग्राफी सुविधाले कम प्रकाश भएको अवस्थामा समेत उज्यालो तथा स्पष्ट तस्बिर खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी एआईमा थप व्यक्तिगत सुविधा

ग्यालेक्सी एस२६ एफईमा नयाँ वान यूआई ९ सहित विभिन्न ग्यालेक्सी एआई सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार यी सुविधाले प्रयोगकर्ताको दैनिक गतिविधि र आवश्यकताअनुसार जानकारी उपलब्ध गराउन तथा कामलाई व्यवस्थित गर्न सहयोग गर्नेछन्।

ग्यालेक्सी एस२५ सिरिजमा प्रस्तुत गरिएको नाउ ब्रीफ सुविधालाई पनि थप व्यक्तिगत बनाइएको छ। प्रयोगकर्ताले मौसम तथा स्वास्थ्यसम्बन्धी जानकारीलगायत आफूलाई आवश्यक पर्ने ब्रीफिङ कार्ड छनोट गर्न सक्नेछन्। सामान्य निर्देशन दिएर आफ्नै कार्डसमेत बनाउन सकिने कम्पनीले जनाएको छ।

१ लाख १९ हजार ९९९ रुपैयाँ मूल्य

सामसङ नेपालका अनुसार ग्यालेक्सी एस २६ एफई (८/२५६ जीबी) को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन पिस्टाचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रंगमा उपलब्ध हुनेछ।

कम्पनीले फोन खरिदमा विभिन्न अफरसमेत सार्वजनिक गरेको छ। ग्राहकले ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, ग्राहकले १८ हजार ३५१ रुपैयाँ मूल्य बराबरको ६ महिनाको गुगल एआई प्रो सब्स्क्रिप्सन निःशुल्क पाउने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २६ एफई खरिदमा २४ महिनाको ईएमआई सुविधा समेत उपलब्ध हुनेछ। कम्पनीका अनुसार मासिक किस्ता ३ हजार २५६ रुपैयाँदेखि सुरु हुनेछ। १२ महिनाको ईएमआई सुविधा भने ६ हजार रुपैयाँ मासिक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?