News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले गल्छी-रसुवागढी सडक पुनर्निर्माणलाई प्राथमिकता दिँदै बेत्रावतीसम्म सडक पुनःसञ्चालन र त्यहाँ बेलिब्रिज जडान गर्ने तयारी गरेको छ ।
- सडक विभागले भोटेकोशी र त्रिशूली बाढीले पृथ्वी र गल्छी-रसुवागढी राजमार्गमा ठूलो क्षति पुर्याएको बताउँदै पुनर्निर्माणमा करिब ५० अर्ब रुपैयाँ माग गरेको छ ।
- मन्त्री सुनिल लम्सालले नयाँ सडक र पुल बाढीको प्रभाव क्षेत्र बाहिर र उच्च उचाइमा डिजाइन गरिने बताउँदै एक खर्बभन्दा बढी बजेट लाग्ने अनुमान गरेका छन् ।
५ असोज, काठमाडौं । सरकारले गल्छी-रसुवागढी सडक पुनर्निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ ।
सडक विभागका अनुसार अहिले उद्धार तथा राहतको कामलाई तीव्रता दिन विद्यमान सडक रेखामार्फत कनेक्टिभिटीलाई पुन: सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ ।
तर, स्थायी निर्माण क्रममा भने ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार स्तरीय पूर्वाधारमा जोड दिइने विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
आज पूर्वाधार विकास समितिमा आयोजित छलफलमा उनले गल्छी-रसुवागढी सडकलाई प्राथमिकता साथ पुनर्निर्माण गरिने जानकारी दिए ।
पहिलो चरणमा बेत्रावतीसम्म सडक पुन: सुरु गर्ने र बेत्रावतीमा बेलिब्रिज जडान गरी रसुवा सदरमुकाम धुन्चेसँगको सडक सम्पर्क स्थापित गर्ने कामलाई प्राथमिकता दिइएको उनले बताए ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अब नयाँ सडक निर्माण गर्दा वर्तमान बाढीको प्रभाव क्षेत्र बाहिरबाट ट्र्याक खोल्ने तयारी छ ।
स्थायी रूपमा निर्माण हुने पुललाई समेत सोही अनुसार उचाइमा डिजाइन गरिने उनले जानकारी दिए । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार सडकमा १५-२० अर्बको क्षति अनुमान गरिएको छ । तर, यसको पुनर्निर्माणमा तीन गुणा बढीसम्म लाग्न सक्छ ।
यसो हुनुमा अब बन्ने पूर्वाधार जलवायु परिवर्तनका असरसँग जुध्न सक्ने सामर्थ्य सहितको बनाउनुपर्नेे बाध्यता छ । मन्त्री लम्सालका अनुसार सडक, पुल, खानेपानी सहित संरचना पुनर्निर्माणलाई मात्र १ खर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ । उनका अनसार पुलहरू ‘डिजाइन एन्ड बिल्ड मोडेल’ बाट नवनिर्माण गरिने छ ।
खरिद नियमावलीमा राखिएको आपत्कालीन टेन्डर प्रावधानले अहिले संकटको समयमा निकै सकारात्मक काम भएको उनको भनाइ छ । विज्ञले समेत यो सडक र पुल पुनर्निर्माण गर्दा अग्ला र लामो पुलको डिजाइनमा जानुपर्ने सुझाव दिएका छन् ।
त्यसो गर्दा स्वभाविक रूपमा सडक रेखा विगतको सडकभन्दा धेरै माथि जान्छ । अर्कातर्फ, सरकारले नदी करिडोरमा सडक निर्माण गर्ने विद्यमान नीतिमै पुनरावलोकन तयारी समेत गरेको छ ।
सडक/पुल पुनर्निर्माणमा कस्तो छ प्रगति ?
सडक विभागका महानिर्देशक डा. जैसीका अनुसार भोटेकोशी/त्रिशूली बाढीले दुई राजमार्ग पृथ्वी र गल्छी-रसुवागढीमा बढी क्षति गरेको छ । १० भदौको बाढीले पृथ्वी राजमार्गमा बढी असर गरेको हो । बाढीले कृष्णभिरमा सडक भासिएको थियो । त्यस क्षेत्रमा अहिले भिर काटेर तत्कालका लागि सडक सञ्चालन गरिएको छ ।

यसको दीर्घकालीन समाधानका लागि फिस्लिङ र बेनीघाटलाई त्रिशूली पारिबाट जोड्ने गरी विकल्पमा काम भइरहेको छ । यसका साथै कृष्णभिरमा सुरुङ वा नदीमाथि पुल निर्माण गरी दीर्घकालीन समाधान खोज्नेबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।
उनका अनसार त्रिशूलीले धेरै पुलमा क्षति गरेको छ । धादिङ सदरमुकाम जोड्ने फुर्के खोला पुल पुनर्निर्माणमा बेलिब्रिजको सम्भावना नदेखिएपछि स्थायी पुल निर्माणको निष्कर्षमा सडक विभाग पुगेको छ ।
उक्त पुलमा ९४ मिटरको बेलिब्रिज आवश्यक पर्ने र सम्भव नभएपछि नयाँ निर्माणको विकल्प नभएको निष्कर्ष निकालिएको हो । अहिले तादीखोलामा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । गल्छी-बेत्रावती सडक अन्तर्गत विदुरमा स्थायी पुल निर्माणको आवश्यकता छ ।
अहिलेको प्राथमिकता जहाँबाट सम्भव छ, त्यहाँबाट बेत्रावती पुग्ने प्रयास भइरहेको उनले बताए । बेत्रावतीमा बेलिब्रिज निर्माण भएसँगै रसुवा सडक मार्गबाट जोडिने छ ।
महानिर्देशक जैसीका अनुसार बेत्रावतीबाट मैलुङ, टिमुरेसम्मको विद्यमान सडकको अवस्था के छ भन्नेबारे हेलिकप्टर निरीक्षण बाहेक स्थलमार्गबाट सम्भव भइसकेको छैन । तर, त्यहाँ पनि सडकको पहुँच भने खुलाइने छ ।
यसका लागि धुन्चेबाट स्याफ्रुबेसी यात्रा सहज भएसँगै स्याफ्रुबेसीमा बेलिब्रिज राख्ने तयारी छ । उनका अनुसार पहिलो चरणमा बेत्रावतीसम्म सडक पुन: सुरु गर्न सके त्यसभन्दा अगाडि सडक खोल्दै जान सहज हुने अपेक्षा विभागको छ ।
रसुवागढीसम्मको सडक पुन: सुरु गराउन चीन सरकारलाई समेत अनुरोध गरिएको महानिर्देशक डा. जैसीले जानकारी दिए । उनका अनुसार चीन सरकारले रसुवागढीसम्म आफ्नो तर्फबाट सडक पुनर्निर्माण गरिसकेको छ । सोही टीमले नेपालतर्फ समेत सहयोग गरे दुई टिमले काम गर्ने र यो सडक खुलाउन सहज हुने छ ।
चीन सरकारका तर्फबाट सहयोग नभए पनि नेपाल सरकारले भने निरन्तर सडक पहुँचलाई प्राथमिकता दिने उनले बताए । यो राजमार्गलाई पुन: सुरु गराउन मात्र सडक विभागले ५० अर्ब रुपैयाँ हाराहारी बजेट माग गरेको उनले बताए ।
प्रतिक्रिया 4