+
+
Shares

स्वास्थ्य क्षेत्रको चित्र र चरित्र देखाउने अस्पतालका ४ दृश्य  

गरिब, विपन्न र पहुँचविहीनका लागि सरकारी अस्पतालहरू पनि सास्तीका केन्द्र बनेका छन्। हप्तामा दुई दिन बिदा दिने हतारो गर्ने सरकारले बिदाका दिन अस्पतालमा बिरामीले भोग्नुपरेको यो मध्यरातिको सास्ती कहिले देख्ने ?

वैकुण्ठ ढकाल वैकुण्ठ ढकाल
२०८३ असोज ११ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक सेन्टरमा ६ महिने शिशुको मुटुको अपरेसनपछि मध्यराति १ बजे ड्रेसिङ गर्दा शिशु र अभिभावकले सास्ती भोगे।
  • अस्ट्रेलियामा एसिड पिउँदा अन्ननली डढेका एक युवकको अपरेसन सफल भएपछि उनी मुखबाट खान थालेका छन्।
  • बाँकेकी ११ वर्षीया बालिका भाषा र कागजातको झन्झटबीच अपरेसनको पालो पर्खिरहेकी छन्, भने कैलालीका एक बिरामीले ५ लाख रुपैयाँ उपचार खर्च जुटाउन सकेका छैनन्।

आज म कुनै नयाँ, अस्वाभाविक वा अनौठो कुरा गर्न खोजिरहेको छैन। हामीले समाजमा दिनहुँ देखिआएको, सुनिआएको र आफन्त वा आफ्नै ज्यानमाथि भोगिआएको तीतो यथार्थ नै हो।

गत साउन ८ गतेदेखि १५ गतेसम्म मेरी आमाको पेसमेकरको ब्याट्री रिप्लेस गर्नका लागि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एक हप्ता बस्नुपर्ने भयो। त्यहाँ रहँदा आमाको बेड वरिपरि भेटिएका बिरामी, उनीहरूका आफन्तको रोदन, सास्ती र डाक्टरहरूको ब्रिफिङले सिङ्गो नेपाली स्वास्थ्य क्षेत्रको चित्र र नागरिकले भोग्नुपरेको सास्तीलाई छताछुल्ल पारिदिएको छ।

केही प्रतिनिधि घटना हेरौं है त !

घटना १ : मध्यरातिको ड्रेसिङ र ६ महिने शिशुको चीत्कार

आमाको बेडको दाहिनेपट्टि सानो ६ महिने शिशु पल्टिरहेको थियो। बुझ्दै जाँदा थाहा भयो— त्यो बच्चाको छाती वा हृदयको ठूलो शल्यक्रिया गरिएको दुई हप्ता हुन लागेको रहेछ। त्यो रात म कहिल्यै बिर्सन सक्दिनँ; जसले मेरो मनमा गहिरो पीडा र आक्रोश भरिदियो।

राति ठीक १ बजेको थियो। उता सानो बच्चा अनेकौं सास्तीपछि ढिलो गरी भर्खर निदाएको थियो। दिनभरिको थकान र तनावले रन्थनिएका उनका आमा र बुबा पनि बल्लतल्ल निदाएका मात्रै थिए। त्यत्तिकैमा ड्रेसिङका लागि भन्दै डाक्टर र स्वास्थ्यकर्मीहरूको टोली आइपुग्यो।

मध्यरातिको १ बजे ड्रेसिङ शुरु भएपछि ६ महिने शिशु चिच्याएर रुन थाल्यो। शिशुका साथै उनका आमाबाबुको निद्रा खलबलियो। सँगै आमाको कुरुवा बसेको मेरो पनि निद्रा बिग्रियो।

मैले तत्काल ड्युटीमा रहेका नर्सहरूलाई सोधें— “ड्रेसिङ पनि यस्तो मध्यरातिको १ बजे हुन्छ र ?”

लाचार भावमा जवाफ दिए— “बिदाको दिन यस्तै हुन्छ।”

मेरी आमाको दिन बिराएर ड्रेसिङ गर्नुपर्थ्यो। यसलाई मलाई भित्रैदेखि डर थियो। बिदाको दिन यस्तै हुन्छ भन्नुको मतलब अरू दिन त्यस्तो हुँदैन भन्ने बुझेर आफैंलाई सान्त्वना दिएँ।

त्यो रात आइतबारको मध्यरात थियो। पछिल्लो समय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि सरकारी अस्पतालहरूमा बिदाको दिन जनशक्ति कम हुने र भएका थोरै कर्मचारीले धेरै काम गर्नुपर्ने बाध्यता रहेछ। त्यसैको परिणति दिउँसै हुनुपर्ने ड्रेसिङ जनशक्तिको अभावमा मध्यराति १ बजे पुग्थ्यो ! एउटा ६ महिने बिरामी शिशु र उसका कुरुवालाई मध्यराति उठाएर ड्रेसिङ गर्नु कुन स्वास्थ्य मापदण्डभित्र पर्छ ? यो त बिरामीमाथिको अत्याचार भयो।

यो घटनाबारे विस्तृत बुझौं है त। धागोमा गाँठो पर्‍यो भने तपाईं–हामी के गर्छौं ? शुरुमा फुकाउने कोसिस गर्छौं। भएन भने धागो वा डोरी छिनाल्छौं, काटेर फ्याँकिदिन्छौं। तर यदि त्यो गाँठो मानिसको नसामा पर्‍यो भने ? त्यो पनि मुटुको नसामा ! रक्तसञ्चार गराउने ती सूक्ष्म, संवेदनशील नसाहरू आपसमा गाँठो परेर जेलिए भने के गर्ने ?

उमेर पुगेको ठूलो मान्छे भए त “मलाई यहाँ दुख्यो, यसो भयो” भनेर आफ्नो पीडा पोख्न सक्ला। तर भर्खर ६ महिना पुगेको एउटा अबोध शिशुले के भन्न सक्छ ? ऊ त केवल छट्पटाउन सक्छ, आफ्ना सानासाना आँखाबाट आँसु खसाल्न सक्छ र रोएर आफ्नो सास अड्किएको सङ्केत मात्र दिन सक्छ।

आमाबाबुको पहिलो सन्तान। घरमा छाएको खुशीको सीमा नै थिएन। तर जब बच्चा ६ महिनाको भयो, एकाएक उसलाई सास फेर्न गाह्रो हुन थाल्यो। बच्चा नीलो हुने, सास अड्किने र निरन्तर रोइरहने हुन थाल्यो। काठमाडौं बाहिरका अस्पतालहरूमा धाउँदाधाउँदै अभिभावकहरू थाकिसकेका थिए। डाक्टरहरूले अन्दाजकै भरमा “यो भएको हो कि !” भन्दै कडा–कडा एन्टिबायोटिक चलाउँथे। केही दिनमा डिस्चार्ज गर्थे, “ठीक छ” भनेर घर पठाउँथे। तर बच्चाको समस्या जस्ताको तस्तै ! रोग पहिचान हुनै सकेन।

अन्ततः अन्तिम आशा बोकेर काठमाडौं आए। गहन परीक्षणपछि बल्ल सत्य बाहिर आयो— ६ महिनाको त्यो सानो बच्चाको मुटुका नसाहरू आपसमा गाँठो परेका रहेछन्, नराम्ररी जेलिएका रहेछन्। अभिभावकको खुट्टामुनिको भुइँ नै भासियो।

यो समस्याको एउटै मात्र विकल्प थियो— अपरेसन गरेर जेलिएको नसा फुकाउने। तर यो चिकित्सा विज्ञानकै अति जटिल र जोखिमपूर्ण अपरेसनहरूमध्ये एक थियो।

वरिष्ठ डाक्टरहरूको टोलीले अभिभावकलाई काउन्सिलिङ गर्दै भने— “यो अपरेसन असाध्यै जोखिमपूर्ण छ। अपरेसनका क्रममा बच्चा नरहने सम्भावना ९५ प्रतिशत छ, र बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्रै !”

केवल ५ प्रतिशत आशा ! ९५ प्रतिशतको मृत्युको त्रास अगाडि ५ प्रतिशतको आशामा टेकेर आफ्नो ६ महिनाको छोरोको शल्यक्रिया गर्न तयार हुनु अभिभावकलाई सहज थिएन।

बच्चा अपरेसन थिएटरभित्र छिर्‍यो। सौभाग्य ! डाक्टरहरूको टोलीले सफलता हासिल गर्‍यो। तर अर्को ठूलो परीक्षा बाँकी नै थियो— बच्चाको होश कहिले खुल्छ ? १६ घण्टाको कहालीलाग्दो र सातो जाने प्रतीक्षापछि त्यो चमत्कार भयो— बच्चाको होश खुल्यो !

आमा र बुबा पालैपालो काँप्दा गोडा र थर्कंदो छाती बोकेर भेन्टिलेटर कक्षभित्र छिरे। मेसिनहरूको बीचमा, पाइपहरूले घेरिएर सोझो आँखाले हेरिरहेको आफ्नो सानो सन्तानलाई देख्नासाथ उनीहरूको आँखाबाट आँसुको भेल बग्यो। त्यो पीडाको आँसु थिएन; आफ्नो पहिलो सन्तानले मृत्युलाई जितेर फर्किंदाको हर्षाश्रु थियो।

त्यसपछिका केही दिनहरू भेन्टिलेटरमा बिते, त्यसपछि बच्चालाई एनआईसीयूहुँदै जनरल वार्डमा सारिएको छ। अहिले जनरल वार्डको बेडमा त्यो बच्चालाई हेर्दा कसैले पत्याउनै सक्दैन कि— केही दिनअघि मात्रै यसले मृत्युको मुखबाट फर्केर पुनर्जन्म पाएको हो !

बच्चाको अनुहारमा बिरामी छ वा कुनै समस्या थियो भन्ने नामोनिसान केही पनि छैन। ऊ त सधैं झैं मुस्कुराइरहन्छ, हातखुट्टा उफारेर खेलिरहन्छ र केवल भोक लागेको बेला मात्रै रुने गर्छ। यी पङ्क्तिहरू लेखिरहँदा सुर्खेतको ६ महिने अबोध बालक आँखैअघि घुमिरहेको छ।

घटना २ : एसिडले डढेको अन्ननली र भोकको क्रूर रूप

मेरी आमाको बेडको बायाँपट्टि एक युवा बिरामी थिए। उनको पीडा त सम्झिंदा पनि आङै काँपेर आउँछ।

वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पुगेका एक लक्काजवान केटो कामबाट फर्केर कोठामा पस्नेबित्तिकै साह्रै तिर्खा लागेकाले टेबलमा राखिएको बोतलको चिसो पानी सम्झेर एक घुट्को मुखमा हालेछन्। तर विडम्बना ! साथीले ट्वाइलेट सफा गर्ने एसिड किचनमै राखेका रहेछन्।

त्यो एक घुट्को एसिडले उनको अन्ननलीका सम्पूर्ण भाग डढाइदियो र नली पूर्ण रूपमा ब्लक भयो। अस्ट्रेलियाका महँगा अस्पतालमा महिनौं उपचार गरेपछि जसोतसो ज्यान त बच्यो र हिंड्न सक्ने भए; तर त्यहाँको अस्पतालको महँगो बिल तिर्न नसक्ने स्थिति भएपछि अभिभावकले रुँदै नेपाल फर्काए।

नेपाल आएपछि पनि उनीहरूले धेरै सरकारी र निजी अस्पतालहरू चहारे। अन्ततः मनमोहन कार्डियोथोरासिक पुगेर अन्ननलीको अपरेसनको चाँजोपाँजो मिलाउन थाले।

तर अपरेसनका लागि तौल पुग्नुपर्ने, पेटमा पाइप राखेर सीधै खानेकुरा पठाउँदै मुस्किलले केही तौल बढाएपछि मात्र उनी अपरेसनका लागि तयार भए। अपरेसन सफल पनि भयो।

त्यसपछि जब उनले मुखबाट खानेकुरा खान पाउने भए, उनको खानपान देखेर म चकित परें। एउटा मानिसले बिहानीको नास्तामै यत्ति धेरै कसरी खान सक्छ भनेर ! अनि ती युवकलाई भेट्न जानेहरूले बोकेर लगेका खानेकुरा देखेर पनि छक्क पर्थें। सबैको हातमा कोकको जम्बो बोतल हुन्थ्यो, केएफसीका आइटमहरू हुन्थे।

राउन्डमा आउने डाक्टरहरू “थोरैथोरै खानु है” भनेर सम्झाउँथे। खाना अड्कियो वा सर्कियो भने गाह्रो हुने भन्थे। तर युवक थोरै मात्रै खाएको भनेर डाक्टरलाई आश्वस्त पार्ने प्रयास गर्थे। तर डाक्टरको भावले युवकको कुरामा शङ्का गरेको स्पष्ट झल्किन्थ्यो।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ। तर व्यावहारिक धरातलमा स्वास्थ्य सेवा केवल थैली हुनेहरूका लागि मात्र सुलभ छ। गरिब, विपन्न र पहुँचविहीनहरूका लागि सरकारी अस्पतालहरू पनि सास्तीका केन्द्र बनेका छन्।

महिनौंसम्म मुखबाट खान नपाएको, भोकले तड्पिएको त्यो युवाले जसरी खाना खाइरहेका थिए— त्यो दृश्य जङ्गलमा कुनै भोको बाघले शिकारमाथि जाइलागेको शैलीसँग मिल्दो थियो। भोक र अकाल मृत्युको मुखबाट फर्केको एउटा युवाको त्यो तस्बिरले अस्पतालको बेडमा बस्ने जोकोहीको मुटु पगाल्थ्यो।

चार वर्ष विदेश बसाइको कमाइ त रहेन, झन्डै ज्यान पनि रहेन ! अस्ट्रेलियाको अस्पतालको पूरै बिल भुक्तानी गर्न नसकेकाले ऊ कालोसूचीमा परेको कुरा सुन्दा निकै नमज्जा लाग्यो।

घटना ३ : बाँकेकी बालिकाको सास्ती र भाषाको पर्खाल

हामी केही दिनपछि एनेक्स वार्डमा सर्‍यौं। वार्डमा डिस्चार्ज र नयाँ भर्ना हुने क्रम चलिरहेको थियो। त्यही वार्डमा बाँकेकी ११ वर्षकी बालिका भर्ना भएर आइपुगिन्। बालिका र उनकी आमा नेपाली नबुझ्ने। उनका बुबा भने नेपाली बुझ्ने, तर फर्काउन उनलाई पनि कठिन।

मैले उनका बुबासँग सोधपुछ गर्दा थाहा भयो— उनीहरू शुरुमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुगेका रहेछन्। त्यहाँ जाँच गराउँदा आन्द्रामा सिस्टहरू छन् भन्ने पत्ता लाग्यो। त्यहाँबाट उनलाई काठमाडौंको कान्ति बाल अस्पताल रिफर गरियो। कान्तिमा एक हप्ता भर्ना गरेर राखे पनि त्यहाँ अपरेसन हुन नसक्ने भन्दै पुनः मनमोहन अस्पताल रिफर गरियो।

काठमाडौं आएपछि उनीहरूले भोगेको सास्तीको सीमा नै थिएन। भाषागत समस्याका कारण डाक्टर र नर्सले भनेका कुरा बुझ्न नसक्दा उनीहरू अस्पतालका कोठाकोठामा भौंतारिरहे। अर्कातर्फ, विपन्न नागरिक उपचार कोषबाट पाइने सहयोग र छुट लिनका लागि सरकारी कागजात मिलाउन उनीहरूले अनेकन् झन्झट व्यहोर्नुपर्‍यो।

पहुँच र भाषा नहुँदा एउटा गरिब परिवारले आफ्नी छोरीको अपरेसनको पालो पर्खिनका लागि ठूलै सङ्घर्ष व्यहोर्नुपर्‍यो। काठमाडौंमा आफन्त त परै जाओस्, चिनजानको मानिस समेत कोही नभएको सुन्दा नमज्जा लाग्यो। मैले कुरा गरेको १० दिनपछि अपरेसनको पालो पाएकी बालिका र अभिभावकले अझै कति दिन अस्पतालको चक्कर लगाउनुपर्ने हो ?

घटना ४ : भारतमा ५ लाख भारु स्वाहा, अब फेरि ५ लाखको जोहो कसरी गर्ने ?

कैलालीका कार्की। उमेर ४० नजिक। उनी नसासँग सम्बन्धित गम्भीर समस्याले पीडित थिए। रोगको सही उपचार नपाउँदा नपाउँदै उनले यसअघि नै एउटा गोडाका दुईवटा औंला गुमाइसकेका रहेछन्। अब अर्को गोडाको अवस्था पनि त्यस्तै भएपछि अन्तिम आशा बोकेर काठमाडौं आएका हुन्।

काठमाडौं आउनुअघि उनीहरूले भारतका अस्पतालहरूमा धाएर ५ लाख भारतीय रुपैयाँ (आईसी) भन्दा बढी स्वाहा पारिसकेका थिए। तर रोग निको हुनुको सट्टा झन् बल्झियो। मनमोहनका सिनियर डाक्टरहरूको टोली राउन्डमा आयो, गोडाको नसा जाँच्यो र भन्यो— “अपरेसन गर्नुपर्छ, ५ लाख रुपैयाँ खर्च लाग्न सक्छ।”

डाक्टरहरूको टोली यति भनेर कोठाबाट निस्कियो। डाक्टरहरू निस्कनेबित्तिकै ती बुढाबुढीको अनुहारमा छाएको छाँगाबाट खसे झैं निराशा र छटपटी हेरिनसक्नु थियो। ५ लाख आईसी भारतमा सकेर कङ्गाल भइसकेका उनीहरूसँग अब ५ लाख नेपाली रुपैयाँ कहाँबाट ल्याउने ? कुनै उपाय थिएन।

उनकी पत्नी गुनासो गर्न थालिन्— “डाक्टरले शुरुमै जेजे नियम पालना गर, यसो गर भनेका थिए; यिनले मानेनन्। त्यही भएर अहिले यो दुःख पाइयो।”

उनको अर्को गहिरो पीडा र गुनासो स्वास्थ्य बीमाप्रति थियो। उनले भनिन्— “बुढाको उपचार होला कि ! भनेर मैले विगतका वर्षहरूमा निरन्तर स्वास्थ्य बीमाको किस्ता तिरिरहेकी थिएँ। तर विडम्बना ! ठ्याक्कै यो वर्ष घरायसी आर्थिक सङ्कटले गर्दा बीमा नवीकरण गर्न सकिएन। जुन वर्ष बीमा छुट्यो, त्यही वर्ष बुढालाई अस्पताल ल्याउनुपर्‍यो !”

अब खर्च कसरी जुटाउने ? न बीमा छ, न हातमा नगद छ, न त जमिन बेचेर पैसा ल्याउने अवस्था छ।

यी चारवटा घटना त प्रतिनिधि उदाहरण मात्र हुन्। मनमोहन अस्पतालको एक हप्ताको बसाइमा मैले दर्जनौं यस्ता बिरामी र तिनका आफन्तहरू भेटें; जो उपचारभन्दा पनि प्रक्रियागत झन्झटले मनैदेखि मरिसकेका थिए।

अहिले नेपालका सरकारी तथा प्रख्यात अस्पतालहरूमा उपचारको ढिलासुस्ती सामान्य जस्तै बनेको छ। कुनै गम्भीर अपरेसनका लागि बिरामीले ६ महिनादेखि १ वर्षसम्मको डेट पर्खिनुपर्छ। त्यो पालो आउन्जेल बिरामीको रोग कति बल्झिसक्छ वा बिरामी जीवित रहन्छ कि रहँदैन भन्ने कुराको ग्यारेन्टी कसैले लिन सक्दैन।

अर्कोतर्फ, राज्यले ठूलो ढोल पिटेर ल्याएको स्वास्थ्य बीमा कार्यक्रम आज पूर्ण रूपमा थलिएको छ। बीमा गराएका बिरामीलाई अस्पतालहरूले दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्छन्। बीमाको काउन्टरमा घण्टौं लाइन बस्नुपर्ने, बीमाबाट पाइने औषधिहरू अस्पतालका फार्मेसीमा छैन भनेर फर्काइने र बाध्य भएर निजी फार्मेसीबाट महँगोमा किन्नुपर्ने बाध्यता छ।

अस्पतालहरूमा सेवाको गुणस्तर खस्किंदै गएको छ। बिरामीलाई मान्छे होइन, एउटा केस वा फाइलका रूपमा मात्र हेर्ने प्राविधिक मानसिकता मौलाएको छ।

आमाको निष्कर्ष : “म त बिरामी नै होइन रहेछु !”

यो सबै घटनाक्रम, वरपरका बिरामीको रुवाबासी, एसिडले नली डढेको युवाको अत्तालिंदो भोक, ६ महिने शिशुको मध्यरातिको चीत्कार र ५ लाख जुटाउन नसकेर छटपटाएका दम्पतीको हालत मेरी आमाले पनि बेडमा बसेर चुपचाप हेरिरहनुभएको थियो। डाक्टरहरूले विभिन्न बिरामीका आफन्तलाई बोलाएर दिने कठोर ब्रिफिङ आमाको कानमा पनि परिरहेको थियो।

अस्पतालको एक हप्तापछि त आमाको सोचाइ नै बदलियो।

“बाबु, म त केही बिरामी नै होइन रहेछु ! मेरो त खाली यो ब्याट्री मात्र त फेरिएको हो। यहाँका मान्छेको दुःख हेर्दा त मेरो रोग केही पनि होइन।”

आमाको यो भनाइमा अरूको ठूलो पीडा देखेपछि आएको आत्मबोध थियो।

सुधार कहिले ?

मेरी आमा त ब्याट्री फेरेर घर फर्किनुभयो; तर मनमोहन अस्पतालका ती बेडहरूमा अझै पनि कैयौं ६ महिने शिशुहरू मध्यराति १ बजे ड्रेसिङको सास्ती भोग्न बाध्य छन्। अझै पनि कैयौं एसिड पीडित भोकको छटपटीमा छन्, कैयौं बाँकेका बालिकाका बुबाहरू भाषा र कागजातको झन्झटमा भौंतारिइरहेका छन् र कैयौं कैलालीका कार्कीहरू ५ लाख रुपैयाँ जुटाउन नसकेर अस्पतालको कुनामा आँसु बगाइरहेका छन्।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ। तर व्यावहारिक धरातलमा स्वास्थ्य सेवा केवल थैली हुनेहरूका लागि मात्र सुलभ छ। गरिब, विपन्न र पहुँचविहीनहरूका लागि सरकारी अस्पतालहरू पनि सास्तीका केन्द्र बनेका छन्।

हप्तामा दुई दिन बिदा दिने हतारो गर्ने सरकारले बिदाका दिन अस्पतालमा बिरामीले भोग्नुपरेको यो मध्यरातिको सास्ती कहिले देख्ने ? बीमालाई प्रभावकारी बनाउन र उपचारमा हुने ढिलासुस्ती अन्त्य गर्न राज्य कहिले ब्युँझिने ?

यदि समयमै स्वास्थ्य प्रणालीको यो ढिलासुस्ती, गुणस्तरहीनता र प्रक्रियागत झन्झटलाई सच्याइएन भने; सरकारी अस्पतालहरू रोग निको पार्ने थलो होइन, नागरिकका आशा र जीवन सिध्याउने बलिवेदी मात्र बनिरहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?