१३ असोज, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी नैनसी राम छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकमा जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई जानकी मेडिकल कलेज, रमदैयामा सामान्य उपचार पश्चात् थप उपचारका लागि रामजानकी अस्पताल जनकपुर लगिएको थियो ।
त्यहाँ चिकित्सकले साँझ ८ः५० बजे बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ बस्ने करिब ३६ वर्षीय उमेशसिंह दनुवारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ ।
प्रतिक्रिया 4