News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंमा मासुको हड्डी अड्किएर नाक, कान तथा घाँटीरोग विभागमा बिरामीको चाप बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
दशैंमा प्राय व्यस्त रहने विभाग हो, नाक, कान तथा घाँटीरोग विभाग । किनभने अरू समयभन्दा यो बेला मासुको हड्डी अड्किएर आउने बिरामीको चाप बढ्ने गर्छ । दशैंमा लगातार मासुका परिकार पाक्नु सामान्य हो । होस नपुर्याउँदा राम्रोसँग चपाएर नखाँदा जोखिम बढ्न सक्छ ।
मासुको हड्डी अड्किएर अस्पताल आउनेमा वयस्कसँगै ज्येष्ठ नागरिक पनि हुन्छन् । मासु खाँदा मदिरा पिउने र खानामा भन्दा कुराकानी वा मोबाइलमा बढी ध्यान दिने व्यक्तिमा असावधानीका कारण यस्तो समस्या हुन सक्छ ।
कसरी अड्किने जोखिम हुन्छ ?
हतारमा खाना निल्नु, मासु राम्ररी नचपाउनु र हड्डी छुट्याउन ध्यान नदिनेहरूमा यो समस्या हुनसक्छ । यसको सबैभन्दा जोखिम ज्येष्ठ नागरिकमा हुन्छ । उनीहरूको दाँत झरेको वा कमजोर भएको अवस्थामा मासु राम्ररी चपाउन कठिन हुन्छ । उमेर बढ्दै जाँदा निल्ने प्रक्रियामा पनि परिवर्तन आउन सक्छ।
यस्तो अवस्थामा मासुसँगै सानो हड्डी निलिने वा घाँटीमा अड्किने जोखिम हुन्छ । त्यसैगरी, मासुसँगै रक्सी खानेहरूमा पनि जोखिम त्यत्तिकै हुन्छ । मासु खाएर त्यससँगै रक्सी खानेहरूमा पनि यो जोखिम बढ्न सक्छ ।
कसरी अड्किए के हुन्छ ?
मासुको हड्डी मुख तथा घाँटीको भाग, खाना नली वा श्वासप्रश्वास नलीमा अड्किन सक्छ । हड्डी खाना नलीमा अड्किएमा घाँटी वा छाती दुख्ने, निल्न कठिन हुने, र्याल बग्ने र खाना वा पानी निल्न नसक्ने समस्या देखिन सक्छ ।
हड्डी श्वासप्रश्वास नलीमा पुगेमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा सास नै बन्द हुने अवस्था आउन सक्छ । यस्तो अवस्था तत्काल उपचार आवश्यक पर्ने आपत्कालीन अवस्था हो । हड्डी अड्किएको आशंका भए पनि बाहिरबाट हेरेर त्यसको स्थान र गम्भीरता थाहा पाउन सकिँदैन । त्यसैले लक्षण देखिएमा घरमै पर्खेर बस्नु हुँदैन ।
बान्ता गराउने जस्तो उपाय अपनाउनु हुँदैन
धेरैले हड्डी अड्किएमा भातको डल्लो, रोटी वा अन्य खानेकुरा निलेर हड्डी तल धकेल्ने प्रयास गर्नु हुँदैन । औँला वा अन्य वस्तु घाँटीभित्र हालेर हड्डी निकाल्न खोज्दा पनि चोट लाग्न सक्छ ।
त्यस्तै, घाँटी वा ढाडमा जोडले हिर्काउने, जबर्जस्ती पानी खुवाउने वा बान्ता गराउने काम गर्नु हुँदैन । हड्डीको धारिलो भागले खाना नलीमा चोट पुर्याएको अवस्थामा यस्ता प्रयासले समस्या झन् बढाउन सक्छन् ।
यदि व्यक्ति बोल्न, खोकी गर्न वा सास फेर्न नसक्ने गरी सासको बाटो बन्द भएको छ भने तत्काल आपत्कालीन सहायता बोलाउनुपर्छ । यस्तो अवस्थामा तालिमप्राप्त व्यक्तिले उमेरअनुसार उपयुक्त चोकिङ प्राथमिक उपचार गर्नुपर्छ । तर खाना नलीमा हड्डी अड्किएको अवस्थामा पेटमा दबाब दिने विधि आफैँले प्रयोग गर्नु हुँदैन ।
अस्पताल पुग्न ढिला गर्नु हुँदैन
खाना नलीमा अड्किएको हड्डी लामो समयसम्म रहँदा घाउ, संक्रमण र खाना नलीमा प्वाल पर्ने जोखिम हुन्छ । प्वाल परेमा छाती दुख्ने, ज्वरो आउने, मुटुको धड्कन बढ्ने तथा अन्य गम्भीर जटिलता देखिन सक्छन् ।
हड्डी अड्किएको आशंका भएमा जतिसक्दो छिटो नजिकको अस्पताल पुग्नुपर्छ । चिकित्सकले आवश्यकताअनुसार घाँटीको परीक्षण, इन्डोस्कोपी वा अन्य जाँच गरेर हड्डीको स्थान पत्ता लगाउँछन् । आवश्यक परे इन्डोस्कोपी वा शल्यक्रियामार्फत हड्डी निकालिन्छ ।
हड्डी अड्किन नदिन के गर्ने ?
-हतारमा खाना नखाने र खानामा ध्यान दिने ।
-मासु खाँदा हड्डी छुट्याएर सानो गाँस बनाई राम्ररी चपाउने।
-मासु खाँदा मोबाइल हेर्ने वा अन्य गतिविधिमा ध्यान केन्द्रित नगर्ने ।
-मासु खाँदा मदिरा सेवन नगर्ने वा सेवनका कारण खानामा ध्यान नघट्ने सुनिश्चित गर्ने ।
-ज्येष्ठ नागरिक तथा चपाउन कठिन हुने व्यक्तिलाई हड्डी नभएको, नरम र सानो टुक्रा पारिएको मासु दिने ।
-घाँटीमा हड्डी अड्किएको आशंका भएमा घरेलु उपाय अपनाएर समय खेर नफाल्ने, तुरुन्त स्वास्थ्य संस्था जाने ।
प्रतिक्रिया 4