+
+
Shares

बादलसँग लुकामारी खेल्दै भेटिएको ‘माछा पोखरी’

यात्राका क्रममा कतै पुराना चौंरीगोठ भेटिन्थे । कतै टाढाबाट चौरीका घण्टी बजेको आवाज सुनिन्थ्यो । कहिलेकाहीँ आकाशमाथि डाँफेको आवाज गुन्जिन्थ्यो । चिलिमेहरू खुला चौरमा चञ्चल हुँदै उडिरहेका देखिन्थे ।

जीवन लामा जीवन लामा
२०८३ असोज १७ गते १७:४०
Listen News
0:00
0:00
🔊

दोलखामा कति पोखरी र ताल छन् ? कहाँ–कहाँ छन् ? तिनको नाम के हो ? यस्ता प्रश्नको जवाफ खोज्दै म लामो समयदेखि दोलखाका डाँडाकाँडा, हिमाल, पहाड चहारिरहेको छु । गुगल नक्सामा हेर्दा मात्रै पनि दोलखामा दुई दर्जनभन्दा धेरै ठूला पोखरी, कुण्ड, ताल देखिन्छन् । मेरो आफ्नै रेकर्डमा भने करिब डेढ दर्जन बढी पोखरी, कुण्ड समेटिएका छन् । अझै केही पोखरी भौगोलिक कठिनाइका कारण पुग्न नसकिएको अवस्थामा छन् । त्यसैले मेरो पोखरी खोज्ने यात्रा अझै रोकिएको छैन ।

करिब एक महिनाअघि पर्यटन अभियन्ता लिलाराम खड्का र म जिरी नगरपालिका–१, श्यामामा रहेका पाथीभरा, सातधारा र सयधारा पुगेर फर्किंदै थियौं । धुपिनीमा गेल्जी शेर्पासँग कुराकानीको क्रममा उहाँले नजिकै एउटा नयाँ पोखरी रहेको सुनाउनुभयो । ‘त्यहाँ एउटा पोखरी छ, तर नाम थाहा छैन । अहिलेसम्म चौरीपालकबाहेक अरूले खासै देखेका पनि छैनन्,’ गेल्जीले भन्नुभएको थियो । त्यो कुरा सुनेपछि मनमा कौतूहल जाग्यो । नयाँ पोखरी ! त्यो पनि अहिलेसम्म धेरैको नजरमा नपरेको। त्यतिबेलै त्यहाँ पुगेर हेर्न मन लागेको थियो । तर समय र परिस्थितिले साथ दिएन ।

यसपटक भने त्यो अधुरो इच्छा पूरा गर्ने मौका मिल्यो । असोज ८ गतेदेखि करिब ११ गतेसम्म देशमा पानी परिरह्यो । त्यसपछि एकाएक मौसम खुल्यो । खुला मौसमको यही अवसर छोपेर म चेर्दुङडाँडातिर लागेँ । साथमा थियो—नयाँ पोखरी खोज्ने रहर पनि । शिवालयमा रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयमा शंकर थामीको आतिथ्यतामा बसेँ । भोलिपल्ट बिहानै गेल्जी शेर्पा र म ग्वाङखोलाको उकालो लाग्यौँ । यो उकालो मेरो लागि नयाँ थिएन । २०६९ सालमै यही बाटो हिँड्दा वाक्क लागेको सम्झना ताजै थियो । तर यसपटक भने बाध्यता मात्रै थिएन, रहर पनि थियो ।

नयाँ पोखरी हेर्ने उत्साहले पुरानो थकानलाई बिर्साइदिएको थियो । बिहान मौसम सफा थियो । आकाश खुलेको थियो । तर पहाडको मौसमको भर हुँदैन । कतिबेला बादल लाग्छ र कतिबेला कुहिरोले डाँडाकाँडा ढाक्छ, भन्न सकिँदैन । मनको एउटा कुनामा ‘पोखरी पुग्दा बादलले छोपिदियो भने ?’ भन्ने डर पनि थियो । त्यसैले उकालोमा पाइला केही छिटो चलाएँ । मानेडाँडा पुग्दा भोकले सताउन थालिसकेको थियो । बर्खायाममा चौरी गोठ राखिएका पुराना गोठहरू यत्रतत्र देखिन्थे । तर अहिले भने अधिकांश गोठ सुनसान थिए । चौरीपालनको परम्परागत व्यवसाय पनि पछिल्लो समय क्रमश: घट्दै गएको दृश्य ती सुनसान गोठहरूले सुनाइरहेका थिए । धारा नजिकै केहीबेर थकाइ मार्न बस्यौँ । गेल्जीले साथमा ल्याउनुभएको भुटेको मकै, भटमास निकाल्नुभयो । लेकको चिसो हावामा धाराको पानीसँगै भुटेको मकै भटमासको स्वाद बेग्लै थियो । दुई–चार गाँस के खाएका थियौँ, एक्कासि चारैतिरबाट बादल ओइरिन थाले । अब भने मकैभन्दा पोखरी महत्त्वपूर्ण भयो । हतार–हतार उठ्यौँ र बाटो लाग्यौँ ।

कतै बाटो ठाडो उकालो थियो, कतै साँघुरो तेर्सो । कतै ढुंगा र चट्टान छिचोल्दै अघि बढ्नुपर्थ्यो । बाटो अप्ठेरो भए पनि वरिपरिको प्राकृतिक सौन्दर्यले थकान भुलाइरहेको थियो । चारैतिर सुनपाती धुपीका बोटहरू थिए । हावासँगै फैलिएको सुनपातीको सुगन्धले आँखा, नाक र मन मात्रै होइन, सिंगो मस्तिष्कलाई नै आनन्दित बनाइरहेको थियो । तर लेकमा सुनपातीको अत्यधिक सुगन्धले लेक लाग्ला कि भन्ने डर पनि मनमा थियो । कतै बाटो राताम्मे फूलहरूले सजिएको थियो । कतै फुलबारीजस्तै लाग्थ्यो । प्रकृतिले आफैँ सजाएको त्यो बाटोमा हिंड्दा लाग्थ्यो—हामी पोखरी खोजिरहेका छैनौँ, कुनै गोप्य स्वर्गको ढोका खोजिरहेका छौँ ।

यात्राका क्रममा कतै पुराना चौंरीगोठ भेटिन्थे । कतै टाढाबाट चौरीका घण्टी बजेको आवाज सुनिन्थ्यो । कहिलेकाहीँ आकाशमाथि डाँफेको आवाज गुन्जिन्थ्यो । चिलिमेहरू खुला चौरमा चञ्चल हुँदै उडिरहेका देखिन्थे । मान्छेको चहलपहल कम भएको त्यो उचाइमा चराचुरुङ्गी र चौरी नै यात्राका सहयात्रीजस्ता लाग्थे । पोखरी नजिकिँदै जाँदा उकालो झन् अप्ठेरो हुँदै गयो । शरीर थाकिसकेको थियो । भोक र प्यास पनि लागिरहेको थियो । तर मौसमले दिएको चुनौती ठूलो थियो । बादलले पोखरी छोपिदियो भने यत्रो यात्रा व्यर्थ हुन सक्थ्यो । त्यसैले थकाइ, भोक र प्यास सबै बिर्सेर पाइला अघि बढाएँ ।

अन्तत: पोखरी भएको ठाउँमा पुग्यौँ । तर दुर्भाग्य ! पोखरीको रूप हेर्न नपाउँदै बाक्लो बादलले चारैतिरबाट छोपिसकेको थियो । अगाडि केही मिटरभन्दा पर देखिँदैनथ्यो । पोखरी कहाँ छ भन्ने अनुमानका भरमा केही तस्बिर खिचेँ । त्यसपछि सुरु भयो—बादल खुल्ने प्रतीक्षा । करिब आधा घण्टा चिसोमा उभिएर कुरिरह्यौँ । शरीर कठ्यांग्रिँदै थियो । तर मन भने मानिरहेको थिएन । यत्रो दु:ख गरेर आएको ठाउँलाई नदेखी कसरी फर्कनु ? बल्ल बादल केही फाट्यो । झन्डै चार मिनेटजति मात्र मौसम खुल्यो । हामीसँग त्यही चार मिनेट थियो । हतार–हतार क्यामेरा निकालेर पोखरीका तस्बिर कैद गर्न थालेँ । बादल फेरि फर्किनुअघि पोखरीलाई आँखाले पनि नियाल्न भ्याएँ, क्यामेरामा पनि कैद गर्न भ्याएँ । समुद्री सतहबाट करिब ४ हजार २ सय १५ मिटरको उचाइमा रहेको यो पोखरीको अहिलेसम्म न नाम छ, न थर । स्थानीय चौरीपालकहरूलाई बाहेक यसको अस्तित्वबारे धेरैलाई जानकारी छैन । पोखरीको आकार र बनोट नियाल्दा मलाई यो माछाजस्तै लाग्यो । त्यसैले त्यही क्षण मैले यसको नाम राखेँ—‘माछा पोखरी’ । यसअघि पनि दोलखाका केही पोखरीको नामकरण गर्ने अवसर पाएको छु । नामकरण गर्नुको अर्थ पुरानो नाम मेट्नु होइन, बरु स्थानीय पहिचान नभएका यस्ता प्राकृतिक सम्पदालाई चिनाउने एउटा प्रयास हो । स्थानीय रूपमा यस पोखरीलाई ‘रक्त पोखरी’ भनेर पनि चिनिने रहेछ ।

जिरी नगरपालिका–१, श्यामामा पोखरीहरूको आफ्नै संसार छ । जटापोखरी, पाँचपोखरी र भूतपोखरी अर्थात् तारापोखरी यहाँका परिचित पोखरी हुन् । जनैपूर्णिमाका अवसरमा यी पोखरीहरूमा ठूलो मेला लाग्छ । जिरी, ठोसे, शिवालय, गर्जाङ, ग्वाङखोला, पानीपाखा, फोक्टे हुँदै मानेडाँडा पुगेर ती पोखरीतिर जाने यात्रुहरूको लर्को लाग्ने गर्छ । मानेडाँडाबाट करिब साढे दुई घण्टा पैदल हिँडेपछि पुगिने ‘माछा पोखरी’ भने अहिलेसम्म तीर्थालु र पर्यटकको रोजाइमा परेको छैन । चौरीपालकको यात्राले मात्रै यसको बाटो चिनेको छ । सायद यही नै यसको सौन्दर्य पनि हो । मान्छेको भीडबाट टाढा, सुनपाती धुपीको सुगन्धबीच, डाँफे र चिलिमेको आवाजसँगै बादलको घुम्टोभित्र लुकेको यो पोखरी कुनै रहस्यमय प्राकृतिक सम्पदाजस्तै लाग्यो ।

अझ रोचक कुरा त के भने—जलवायु परिवर्तनका कारण कतिपय कुवा, पोखरी र पानीका मुहानहरू सुक्दै गइरहेका बेला यहाँ भने हामी एउटा नयाँ पोखरीको खोजी गरिरहेका थियौँ । वास्तवमा यो नयाँ बनेको हो कि पहिलेदेखि नै रहेको तर मानिसको नजरमा नपरेको हो, त्यसबारे थप अध्ययन आवश्यक छ । तर यस्ता प्राकृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण र प्रचारप्रसारको आवश्यकता भने निर्विवाद छ । दोलखाका डाँडाकाँडामा अझै कति यस्ता पोखरी लुकेर बसेका छन् ? कति पोखरीको नाम छैन होला ? मलाई लाग्छ, दोलखाको पर्यटन केवल परिचित कालिञ्चोक, शैलुङ, जिरी वा रोल्वालिङसम्म सीमित छैन । हरेक डाँडाको पछाडि, हरेक गोरेटोको अन्त्यमा र हरेक बादलको घुम्टोभित्र कुनै न कुनै कथा लुकेको हुन सक्छ । त्यसैले म अझै पोखरी खोजिरहेको छु । सायद अर्को यात्रामा कुनै अर्को अनाम पोखरीले मलाई कुरिरहेको हुनेछ ।

सप्ताहान्त
लेखक
जीवन लामा

जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?