+

अचानक मृत्यु सधैं ‘विना संकेत’ हुँदैन

२०८३ असोज  २२ गते १३:०७ २०८३ असोज २२ गते १३:०७
Shares
अचानक मृत्यु सधैं ‘विना संकेत’ हुँदैन

आज बिहानै विख्यात बलिउड अभिनेता नाना पाटेकरको निधन भएको दुःखद खबर फैलियो। केही दिनअघिसम्म राम्ररी हिँडडुल गरिरहेका, साथीभाइसँग भेटिरहेका, भोजभतेरमा सहभागी भइरहेका उनको निधन एक हिसाबले अप्रत्याशित थियो । समाचारहरूमा भनियो पनि, नानाको निधन कार्डियक अरेस्टबाट भयो। अचानक भयो ।

के अचानक निधन हुन्छ ?

वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. राजीव झाले यसबारे विस्तृतमा लेखेका छन् ।

स्वस्थ र सामान्य देखिएको मानिस अचानक ढल्छ र केही क्षणमै जीवन गुमाउँछ । यो मानिसको जीवनमा सबैभन्दा भयावह घटनामध्ये एक हो ।

परिवारसँग हाँसिरहेको, काम गरिरहेको वा सामान्य दिनचर्यामा रहेको व्यक्ति अचानक बेहोस हुनु, मुटु बन्द हुनु वा श्वासप्रश्वास रोकिनु अत्यन्त पीडादायी घटना हो । यस्तो मृत्युलाई हामी ‘अचानक मृत्यु’ भन्छौँ । तर धेरै अवस्थामा मृत्यु अचानक देखिए पनि त्यसको जोखिम भने शरीरभित्र लामो समयदेखि विकसित भइरहेको हुन्छ।

अचानक मृत्युको सबैभन्दा ठूलो कारण हृदयसम्बन्धी रोग हो । कोरोनरी धमनीमा अवरोध, हृदयाघात, मुटुको विद्युतीय प्रणालीमा गडबडी, मुटुको मांसपेशीको रोग, हृदयाघातपछि मुटुमा बनेको दाग तथा केही जन्मजात मुटुरोगले अचानक मुटुको धड्कन असामान्य बनाएर जीवन जोखिममा पार्न सक्छन् । कहिलेकाहीँ मानिसलाई आफ्नो मुटुमा समस्या भएको जानकारी नै हुँदैन ।

त्यसैले छाती दुख्ने, असामान्य धड्कन महसुस हुने, सानो काम गर्दा पनि अत्यधिक सास फेर्न गाह्रो हुने वा कुनै कारणबिना बेहोस् हुनेजस्ता लक्षणलाई सामान्य ठान्नु हुँदैन ।

अचानक मृत्युको चर्चा गर्दा मस्तिष्क र स्नायुसम्बन्धी रोगलाई पनि बिर्सन मिल्दैन । विशेषगरी मस्तिष्कको धमनी फुटेर हुने ‘सब-अराक्नोइड हेमरेज’ अचानक मृत्युको एउटा गम्भीर कारण हो । मस्तिष्कको धमनीमा बनेको एन्युरिज्म फुट्दा बिरामीलाई एक्कासी अत्यन्तै तीव्र टाउको दुख्न सक्छ । धेरै बिरामीले यस्तो पीडालाई ‘जीवनकै सबैभन्दा असह्य टाउको दुखाइ’ भनेर वर्णन गर्छन् । यससँगै बान्ता हुने, घाँटी कडा हुने, दृष्टि धमिलो हुने, बेहोस हुने, छटपटी हुने वा झट्का आउने हुन सक्छ । यस्तो अवस्थामा घरमै बसेर दुखाइ कम हुने प्रतीक्षा गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ ।

त्यसैगरी उच्च रक्तचापका कारण मस्तिष्कमा रक्तस्राव भएर पनि मानिस केही मिनेट वा घण्टामै गम्भीर अवस्थामा पुग्न सक्छ । ठूलो मस्तिष्क रक्तस्राव, ब्रेनस्टेममा हुने रक्तस्राव, ठूलो इस्केमिक स्ट्रोक, मस्तिष्कमा अत्यधिक सुन्निने अवस्था तथा मस्तिष्कभित्रको दबाब बढेर ‘ब्रेन हर्निएसन’ हुने अवस्था पनि ज्यान जाने कारण बन्न सक्छन् । टाउकोमा गम्भीर चोट लागेपछि देखिने एपिड्युरल वा सबड्युरल हेमाटोमा पनि सुरुमा सामान्य देखिएको व्यक्ति पछि अचानक बेहोस भएर मृत्युको अवस्थामा पुग्न सक्छ ।

छारे रोग अर्थात् मिर्गी अर्थात् एपिलेप्सी भएका बिरामीमा पनि एउटा दुर्लभ तर गम्भीर अवस्था हुन्छ, जसलाई ‘सडन अनएक्स्पेक्टेड डेथ इन एपिलेप्सी’ अर्थात् ‘सुडेप’ भनिन्छ । विशेषगरी बारम्बार हुने सामान्यीकृत झट्का, राति हुने दौरा, औषधि नियमित नखाने अवस्था तथा औषधिले नियन्त्रण गर्न नसकिएको एपिलेप्सीमा यसको जोखिम बढी हुन्छ ।

त्यसैले एपिलेप्सीलाई सामान्य झट्का भनेर बेवास्ता गर्नु हुँदैन । औषधि नियमित सेवन, पर्याप्त निद्रा, चिकित्सकीय निगरानी र आवश्यक परे एपिलेप्सी सर्जरी वा अन्य आधुनिक उपचारको मूल्याङ्कनले जोखिम घटाउन मद्दत गर्छ।

अचानक मृत्युको जोखिम सबै उमेरमा समान हुँदैन । वृद्ध उमेरमा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, धूमपान, मोटोपन र पहिले भइसकेको स्ट्रोक प्रमुख जोखिम हुन् । युवामा भने जन्मजात मुटुरोग, मुटुको मांसपेशीका केही रोग, मुटुको विद्युतीय प्रणालीका आनुवंशिक समस्या तथा केही दुर्लभ स्नायुसम्बन्धी रोग महत्वपूर्ण हुन सक्छन् । परिवारमा कम उमेरमै अचानक मृत्यु भएको इतिहास छ भने त्यसलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ।

हामीकहाँ अर्को ठूलो समस्या उच्च रक्तचाप हो । धेरै मानिसलाई वर्षौँसम्म रक्तचाप बढेको थाहा नै हुँदैन । कुनै लक्षण नभएको भन्दै औषधि नखाने, औषधि बीचमै बन्द गर्ने वा नियमित रक्तचाप जाँच नगर्ने बानीले भविष्यमा हृदयाघात र मस्तिष्क रक्तस्रावको जोखिम बढाउँछ। त्यसैले ‘मलाई केही भएको छैन’ भन्ने सोचभन्दा नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुन्छ ।

मस्तिष्काघात अर्थात् स्ट्रोकका लक्षण पनि अचानक देखिन्छन् । मुख बाङ्गिनु, एउटा हात वा खुट्टा अचानक कमजोर हुनु, बोली अस्पष्ट हुनु वा अरूको कुरा बुझ्न नसक्नु, अचानक दृष्टि हराउनु, हिँड्न नसक्नु वा सन्तुलन बिग्रनुजस्ता लक्षण देखिएमा समय खेर फाल्नु हुँदैन । यसको सरल भाषामा ‘फास्ट’ भनेर बुझ्न सकिन्छ ।

फेस अर्थात् अनुहार बाङ्गिएको छ कि छैन, आर्म अर्थात् हात कमजोर भएको छ कि छैन, स्पिच अर्थात् बोली बिग्रिएको छ कि छैन र टाइम अर्थात् तुरुन्त अस्पताल पुर्‍याउने समय । स्ट्रोकमा हरेक मिनेट महत्वपूर्ण हुन्छ ।

त्यस्तै, एक्कासी सुरु भएको अत्यन्त तीव्र टाउको दुखाइलाई पनि सामान्य माइग्रेन वा ग्यास्ट्रिक भनेर घरमै औषधि खाएर बस्नु हुँदैन । विशेषगरी जीवनमै पहिलोपटक यस्तो तीव्र टाउको दुखाइ भएको छ भने मस्तिष्कमा रक्तस्राव भएको सम्भावना हटाउन तत्काल चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।

अचानक बेहोस् हुने अवस्थालाई पनि बेवास्ता गर्नु हुँदैन । सामान्य कारणले पनि बेहोस् हुन सकिन्छ, तर व्यायाम गर्दा बेहोस् हुनु, कुनै चेतावनीबिना बारम्बार बेहोस् हुनु, बेहोस् हुँदा छाती दुख्नु वा मुटु ढुकढुक हुनु तथा परिवारमा कम उमेरमै अचानक मृत्युको इतिहास हुनु गम्भीर मुटुरोगको संकेत हुन सक्छ ।

अचानक मृत्यु रोक्न सबै घटना सम्भव हुँदैनन्, तर धेरै जोखिम घटाउन सकिन्छ । रक्तचाप नियन्त्रणमा राख्ने, धूमपान नगर्ने, मधुमेह र कोलेस्टेरोल नियन्त्रण गर्ने, नियमित शारीरिक गतिविधि गर्ने, स्वस्थ खाना खाने, अत्यधिक मदिरा र लागूपदार्थबाट टाढा रहने, पर्याप्त निद्रा लिने तथा आवश्यक स्वास्थ्य परीक्षण गराउने सरल उपायले ठूलो फरक पार्न सक्छ । मुटुसम्बन्धी समस्या, बारम्बार बेहोस हुने अवस्था वा परिवारमा अचानक मृत्युको इतिहास भएका व्यक्तिले चिकित्सकीय मूल्याङ्कन गराउनुपर्छ ।

एपिलेप्सी भएका व्यक्तिले औषधि नियमित खानु, चिकित्सकको सल्लाहबिना औषधि बन्द नगर्नु र दौरा नियन्त्रणमा नआए विशेषज्ञसँग थप उपचारबारे छलफल गर्नु आवश्यक हुन्छ । केही बिरामीमा औषधिले नियन्त्रण नभएको एपिलेप्सीका लागि सर्जरी वा न्युरोमोडुलेसनजस्ता उपचार जीवनको गुणस्तर सुधार गर्ने मात्र होइन, जोखिम घटाउनसमेत महत्वपूर्ण हुन सक्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको आपत्कालीन अवस्थामा समुदायको तयारी हो । कोही व्यक्ति अचानक ढलेर प्रतिक्रिया नदिएमा पहिले प्रतिक्रिया र सामान्य श्वासप्रश्वास छ कि छैन हेर्नुपर्छ, तुरुन्त आपत्कालीन स्वास्थ्य सेवा बोलाउनुपर्छ र आवश्यक परे सीपीआर सुरु गर्नुपर्छ । उपलब्ध भए स्वचालित बाह्य डिफिब्रिलेटर प्रयोग गर्नुपर्छ । मुटु बन्द भएको केही मिनेटमै गरिने सीपीआर र डिफिब्रिलेसनले जीवन बचाउने सम्भावना उल्लेखनीय रूपमा बढाउन सक्छ ।

अचानक मृत्यु केवल अस्पतालको समस्या होइन, यो परिवार, समुदाय र सम्पूर्ण स्वास्थ्य प्रणालीको विषय हो । एउटा परिवारले रक्तचाप नियमित जाँच गर्नु, अर्को व्यक्तिले धूमपान छोड्नु, कसैले अचानक टाउको दुखाइलाई गम्भीरतापूर्वक लिनु, कसैले स्ट्रोकको लक्षण पहिचान गर्नु र समुदायका केही मानिसले सीपीआर सिक्नु, यी साना कदमले ठूलो विपत्ति रोक्न सक्छन् ।

मृत्यु कहिलेकाहीँ साँच्चिकै अचानक आउँछ । तर धेरै अवस्थामा त्यसअघि शरीरले केही संकेत दिइरहेको हुन्छ । ती संकेत पहिचान गर्ने, जोखिम घटाउने र आपत्कालीन अवस्थामा सही समयमा सही कदम चाल्ने हो भने धेरै जीवन जोगाउन सकिन्छ ।

अचानक मृत्यु हृदयघात
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय