+

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

२०८३ असोज  २२ गते १७:५९ २०८३ असोज २२ गते १७:५९
Shares
आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

‘आँखालाई माया गरौँ’ । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र हाम्रो दैनिक जीवनलाई सहज बनाउँछ । त्यसैले आँखाको स्वास्थ्यप्रति सचेत हुनु भनेको केवल दृष्टि जोगाउनु मात्र होइन, जीवनको गुणस्तर जोगाउनु पनि हो ।

आँखाले संसारलाई हामीसँग र हामीलाई संसारसँग जोड्छ । त्यसैले संस्कृतमा भनिएको छ– ‘सर्वेन्द्रियाणां नयनं प्रधानम्’, अर्थात् सबै इन्द्रीयमध्ये नेत्रलाई प्रमुख मानिन्छ।

हामीमध्ये धेरैले जीवनको कुनै न कुनै समयमा आँखासम्बन्धी समस्या सामना गर्नुपर्ने हुन्छ । कसैलाई जन्मजात समस्या हुन सक्छ, कसैलाई बाल्यावस्थामा दृष्टिदोष हुन सक्छ भने उमेर बढ्दै जाँदा विभिन्न प्रकारका आँखाका रोग देखिन सक्छन् ।

करिब ४० वर्षको उमेरपछि नजिकका अक्षर वा वस्तु धमिलो देखिन थाल्नु सामान्य उमेरजन्य परिवर्तन हो । यसलाई उमेरसँगै नजिकको दृष्टि कमजोर हुने अवस्था भनिन्छ ।

यस्तो अवस्थामा नजिक हेर्नका लागि चस्माको आवश्यकता पर्न सक्छ । तर ४० वर्षपछि आँखाको जाँच गर्नुको उद्देश्य चस्माको नम्बर पत्ता लगाउनु मात्र होइन । आँखाभित्र लुकेर बस्न सक्ने विभिन्न रोगको प्रारम्भिक पहिचान गर्नु पनि हो।

त्यसैले आँखामा समस्या आएपछि मात्र होइन, समस्या आउनुअघि नै नियमित रूपमा आँखाको जाँच गराउनु आवश्यक छ।

बालबालिकाको आँखाको स्वास्थ्य

बालबालिकाको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । बाल्यकालमा दृष्टिको उचित विकास हुन सकेन भने त्यसको असर आँखामा मात्र नभई बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक विकासमा समेत पर्न सक्छ ।

बच्चा जन्मिएपछि उसको आँखाको व्यवहारमा अभिभावकले ध्यान दिनुपर्छ । जन्मेको केही समयपछि प्रकाशतर्फ प्रतिक्रिया जनाउँछ कि जनाउँदैन, केही महिनामा अनुहार वा वस्तुलाई आँखाले पछ्याउँछ कि पछ्याउँदैन, आमाबुबासँग आँखाको सम्पर्क गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बच्चाको आँखाको चाल असामान्य देखिएमा, एउटा आँखा अर्को दिशातर्फ फर्किएको देखिएमा वा आँखा डेढो देखिएमा त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन ।

विशेषगरी समयभन्दा अगाडि जन्मिएका, जन्मदा तौल कम भएका वा जन्मिएपछि लामो समयसम्म अक्सिजन तथा नवजात सघन उपचारको आवश्यकता परेका शिशुहरूमा दृष्टिपटलको विशेष रोग हुने जोखिम हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार समयमै आँखाको परीक्षण गराउनु अत्यन्त आवश्यक हुन्छ ।

बच्चाको आँखाबाट निरन्तर पानी वा कचेरा आउँछ ?

केही बच्चामा जन्मेदेखि नै वा जन्मेको केही समयपछि एउटा आँखाबाट निरन्तर पानी वा कचेरा आउने समस्या देखिन्छ। यसको एउटा सामान्य कारण आँसु बग्ने नली बन्द हुनु हो । चिकित्सकको सल्लाहअनुसार उचित तरिकाले मालिस तथा आवश्यक उपचार गर्दा धेरैजसो अवस्थामा यो समस्या सुधार हुन्छ।

त्यसैगरी बच्चाको आँखा धेरै रातो हुने, चिलाउने वा सुन्निने समस्या भएमा पनि त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन। धुलो, धुवाँ, गर्मी वा एलर्जीका कारण यस्तो हुन सक्छ। तर आँखामा अत्यधिक रातोपन, दुखाइ, प्रकाश हेर्न गाह्रो हुने वा दृष्टि कम हुने जस्ता समस्या भएमा तत्काल आँखा परीक्षण गराउनुपर्छ।

मोबाइलभन्दा बाहिरको संसार पनि देखौँ

आजको समयमा बालबालिकाको जीवन मोबाइल, ट्याब्लेट, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणसँग निकै नजिकिएको छ । लामो समयसम्म नजिकको वस्तु हेर्ने, घरभित्र मात्र बस्ने र प्राकृतिक उज्यालोमा कम समय बिताउने बानीले बालबालिकामा निकटदृष्टिदोष अर्थात् टाढाका वस्तु धमिलो देखिने समस्या बढ्ने जोखिम हुन्छ।

बालबालिकालाई दैनिक रूपमा बाहिर खेल्ने र प्राकृतिक उज्यालोमा समय बिताउने अवसर दिनु आँखाको स्वास्थ्यका लागि निकै महत्वपूर्ण छ ।

साथै पढ्दा पर्याप्त प्रकाशको व्यवस्था गर्ने, किताब आँखाको धेरै नजिक नराख्ने, लामो समयसम्म लगातार नजिकको काम नगर्ने र चिकित्सकले सिफारिस गरेको चस्मा नियमित प्रयोग गर्ने बानी बसाल्नुपर्छ।

आँखाको स्वास्थ्यका लागि हरियो सागसब्जी, फलफूल, गेडागुडी, दूध तथा अन्य पोषिलो खाद्य पदार्थसहित सन्तुलित भोजन आवश्यक हुन्छ । कुनै एउटा मात्र खाद्य पदार्थले आँखाको शक्ति बढाउँछ भन्ने सोच राख्नु भने उचित हुँदैन ।

वयस्क अवस्थामा आँखाको हेरचाह

वयस्क अवस्थामा लामो समयसम्म कम्प्युटर, ल्यापटप वा मोबाइलमा काम गर्दा आँखामा थकान, पोल्ने, सुख्खापन, पानी आउने, टाउको दुख्ने वा असहजता हुन सक्छ।

यस्तो अवस्थामा लामो समयसम्म लगातार पर्दा हेर्नुभन्दा बीचबीचमा आँखालाई आराम दिनुपर्छ । यसका लागि २०–२०–२० नियम उपयोगी हुन सक्छ। अर्थात् प्रत्येक २० मिनेटमा करिब २० फिट टाढाको वस्तुतर्फ कम्तीमा २० सेकेन्ड हेर्ने बानी बसाल्न सकिन्छ ।

लामो समय घाममा काम गर्ने व्यक्तिले पराबैजनी किरणबाट आँखालाई जोगाउन उपयुक्त सुरक्षात्मक चस्मा प्रयोग गर्नुपर्छ । धुलो, धुवाँ, रसायन वा अन्य जोखिमयुक्त वातावरणमा काम गर्ने व्यक्तिले कामअनुसार आँखाको सुरक्षात्मक साधन प्रयोग गर्नुपर्छ ।

४० वर्षपछि आँखाको जाँच झनै महत्वपूर्ण

४० वर्ष पार गरेपछि धेरै मानिसलाई नजिकका अक्षर पढ्न गाह्रो हुन थाल्छ । किताब वा मोबाइल केही टाढा लगेर हेर्नुपर्ने, सानो अक्षर पढ्दा आँखा थाक्ने वा नजिकको काम गर्दा टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन् ।

यो उमेरसँगै आँखाको नजिक हेर्ने क्षमता घट्दै जाने सामान्य प्रक्रिया हो। आवश्यक परेमा नजिक हेर्नका लागि चस्मा प्रयोग गर्न सकिन्छ।

तर ४० वर्षपछि नियमित आँखाको जाँच गर्नुको अर्को महत्वपूर्ण कारण जलविन्दु लगायतका रोगको प्रारम्भिक पहिचान हो । जलविन्दु सुरु हुँदा धेरैजसो मानिसलाई कुनै स्पष्ट लक्षण नदेखिन सक्छ । दृष्टि सामान्यजस्तै देखिए पनि आँखाको दृष्टि स्नायुमा बिस्तारै क्षति पुगिरहेको हुन सक्छ ।

वृद्ध उमेरमा देखिने प्रमुख आँखाका समस्या

उमेर बढ्दै जाँदा आँखामा विभिन्न समस्या देखिन सक्छन् । तीमध्ये मोतीबिन्दु, जलविन्दु, दृष्टिपटलका उमेरजन्य रोग तथा मधुमेह र उच्च रक्तचापका कारण हुने आँखाका समस्या प्रमुख हुन्।

मोतीबिन्दु

मोतीबिन्दु हुँदा आँखाको प्राकृतिक लेन्स धमिलो हुँदै जान्छ । यसका कारण टाढाका वस्तु धमिलो देखिने, घाम वा उज्यालोमा हेर्न गाह्रो हुने, राति देख्न कठिन हुने तथा बत्ती वरिपरि उज्यालो घेरा देखिने जस्ता समस्या हुन सक्छन् ।

मोतीबिन्दुका कारण दैनिक काममा उल्लेखनीय असर पर्न थालेपछि यसको प्रभावकारी उपचार शल्यक्रिया हो । शल्यक्रियामा धमिलो भएको प्राकृतिक लेन्स हटाएर कृत्रिम लेन्स राखिन्छ । आधुनिक प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रिया सुरक्षित र प्रभावकारी भएकाले आवश्यक परेमा अनावश्यक रूपमा ढिला गर्नु हुँदैन ।

जलविन्दु

जलविन्दु आँखाको दृष्टि स्नायुलाई क्रमशः क्षति पुर्‍याउने रोग हो । यसको सबैभन्दा ठूलो समस्या के हो भने सुरुका अवस्थामा धेरैजसो बिरामीलाई कुनै स्पष्ट लक्षण हुँदैन।

त्यसैले ‘मलाई राम्रोसँग देखिरहेको छ, मेरो आँखामा समस्या छैन’ भनेर मात्र ढुक्क हुनु हुँदैन । नियमित परीक्षणबाट मात्र धेरै अवस्थामा जलविन्दुको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ ।

परिवारमा कसैलाई जलविन्दु भएको छ भने अन्य सदस्यमा पनि यसको जोखिम बढ्न सक्छ । त्यसैले यस्तो पारिवारिक इतिहास भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार नियमित आँखा परीक्षण गराउनु आवश्यक हुन्छ ।

मधुमेह र उच्च रक्तचापले आँखामा पार्न सक्छ असर

मधुमेह तथा उच्च रक्तचापले शरीरका विभिन्न अंगमा असर पार्न सक्छन् । आँखाको दृष्टिपटलमा पनि यी रोगका कारण परिवर्तन आउन सक्छ । मधुमेह भएका व्यक्तिमा दृष्टिपटलका रक्तनलीमा क्षति पुगेर मधुमेहजन्य दृष्टिपटल रोग हुन सक्छ । यसको सुरुवाती अवस्थामा बिरामीलाई दृष्टिमा खासै परिवर्तन महसुस नहुन सक्छ। तर समयमै परीक्षण र उपचार नगरेमा दृष्टिमा गम्भीर असर पर्न सक्छ ।

त्यसैगरी लामो समयसम्म नियन्त्रणमा नरहेको उच्च रक्तचापले पनि आँखाको दृष्टिपटलका रक्तनलीमा असर गर्न सक्छ । त्यसैले मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा आँखाको परीक्षण गराउनुपर्छ।

आँखाको जाँच भनेको चस्माको नम्बर जाँच्नु मात्र होइन

धेरै मानिसले आँखा परीक्षण भन्नासाथ चस्माको नम्बर जाँच्ने कुरा मात्र बुझ्छन् । वास्तवमा सम्पूर्ण आँखा परीक्षणमा दृष्टिको क्षमता जाँच्नुका साथै आँखाको अगाडिको भाग, आँखाभित्रको चाप, दृष्टि स्नायु तथा दृष्टिपटलको अवस्थासमेत आवश्यकताअनुसार जाँच गरिन्छ।

आँखा दुखेपछि वा दृष्टि धमिलो भएपछि मात्र अस्पताल जाने बानी परिवर्तन गर्नुपर्छ।

आँखालाई माया गर्ने केही सरल उपाय

१. बालबालिकालाई दैनिक रूपमा बाहिर खेल्ने र प्राकृतिक उज्यालोमा समय बिताउने अवसर दिने।

२. मोबाइल, ट्याब्लेट, टेलिभिजन तथा कम्प्युटरको अनावश्यक प्रयोग कम गर्ने।

३. लामो समय नजिकको काम गर्दा बीचबीचमा आँखालाई आराम दिने।

४. आवश्यक परेमा २०–२०–२० नियम अपनाउने।

५. चिकित्सकले सिफारिस गरेको चस्मा नियमित प्रयोग गर्ने।

६. घाम, धुलो, धुवाँ तथा कार्यस्थलका जोखिमबाट आँखालाई जोगाउने।

७. आँखामा आफैँ औषधि, विशेषगरी चिकित्सकको सल्लाहबिना औषधियुक्त थोपाको प्रयोग नगर्ने।

८. मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने।

९. परिवारमा जलविन्दु वा अन्य आँखाका रोगको इतिहास भए चिकित्सकलाई जानकारी दिने।

१०. उमेर र स्वास्थ्य अवस्थाअनुसार नियमित सम्पूर्ण आँखा परीक्षण गराउने।

आँखा
अजित कुमार ठाकुर
लेखक
अजित कुमार ठाकुर
दृष्टि विशेषज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय