News Summary
Generated by OK AI. Editorially reviewed.- नाना पाटेकरका ‘शक्ति शालिनी’, ‘इथा’, ‘द कन्फेसन अफ मेरी’, ‘कुकु की कुण्डली’ र ‘वेदान्त’ गरी पाँच फिल्म प्रदर्शनको तयारीमा छन्।
- हरर–कमेडी ‘शक्ति शालिनी’मा नाना तान्त्रिकको भूमिकामा देखिनेछन्, र फिल्म २०२६ डिसेम्बर २४ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ।
- जीवनीमा आधारित ‘इथा’ २०२६ डिसेम्बर ४ मा प्रदर्शन हुने तालिका छ, जसमा नाना पाटेकरले श्रद्धा कपुरसहित महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन् । हरर–कमेडी, जीवनीमा आधारित, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका यी फिल्ममार्फत दर्शकले उनको अभिनयका विभिन्न पाटा हेर्न पाउनेछन् ।
यी फिल्ममा ‘शक्ति शालिनी’, ‘इथा’, ‘द कन्फेसन अफ मेरी’, ‘कुकु की कुण्डली’ र ‘वेदान्त’ रहेका छन् ।
‘शक्ति शालिनी’ : तान्त्रिकको भूमिकामा नाना
नाना पाटेकर म्याडक फिल्म्सको हरर–कमेडी शृङ्खलाअन्तर्गतको फिल्म ‘शक्ति शालिनी’मा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । आदित्य सरपोतदारको निर्देशनमा बनेको यस फिल्ममा अनीत पड्डा र विशाल जेठवा मुख्य भूमिकामा छन् ।
नानाले यस फिल्ममा तान्त्रिकको भूमिका निर्वाह गरेका छन् । फिल्म ‘शक्ति’ नामकी साधारण महिलाको कथामा आधारित छ, जो ‘शालिनी’ नामकी प्रतिशोधी आत्माको संरक्षक बन्छिन् ।
नानाले फिल्मको छायाङ्कन पूरा गरिसकेका थिए । उनले फिल्मको अन्तिम संस्करण हेरेपछि आफ्नो संवादको डबिङ गर्ने इच्छा व्यक्त गरेका थिए । फिल्म सन् २०२६ डिसेम्बर २४ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।
‘इथा’ : लावणी कलाकार विठाबाईको जीवनमा आधारित
लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘इथा’ महाराष्ट्रकी चर्चित तमासा तथा लावणी लोककलाकार विठाबाई नारायणगाउँकरको जीवनबाट प्रेरित फिल्म हो।
जीवनीमा आधारित यस फिल्ममा श्रद्धा कपुर मुख्य भूमिकामा छिन्। नाना पाटेकर, रणदीप हुड्डा र अनन्त जोशी पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।
महाराष्ट्रको लोककला परम्परामा विशिष्ट योगदान पुर्याएकी कलाकारको जीवनयात्रालाई फिल्ममा प्रस्तुत गरिएको छ। यो फिल्म सन् २०२६ डिसेम्बर ४ मा प्रदर्शन हुने तालिका छ।
‘द कन्फेसन अफ मेरी’ : हत्याकाण्डमा आधारित अपराध नाटक
अनन्त नारायण महादेवनको निर्देशनमा बनेको ‘द कन्फेसन अफ मेरी’मा नाना पाटेकरले ‘फादर बेनेडिक्ट’ नामका क्याथोलिक पादरीको भूमिका निर्वाह गरेका छन्।
यो फिल्म केरलाको सन् १९६६ को चर्चित मादथारुवी हत्याकाण्डबाट प्रेरित छ। उक्त घटनामा मरियाकुट्टी नामकी महिलाको हत्या भएको थियो भने एक पादरीमाथि आरोप लागेको थियो।
फिल्ममा आदिल हुसेन, आशिष विद्यार्थी, गौतम रोडे, जोय सेनगुप्ता र नेहा महाजन पनि छन् । यो फिल्म टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनका लागि छनोट भएको समाचार प्रकाशित भएको थियो।
‘कुकु की कुण्डली’ : भुवन बाम र वामिका गब्बीसँग अभिनय
नाना पाटेकरका प्रदर्शन हुन बाँकी फिल्मको सूचीमा शरण शर्माको निर्देशनमा बनेको ‘कुकु की कुण्डली’ पनि छ ।
रोमान्टिक कमेडी विधाको यस फिल्ममा डिजिटल क्षेत्रमा चर्चित भुवन बाम र अभिनेत्री वामिका गब्बीसँगै नाना पाटेकर पनि देखिनेछन् ।
फिल्मको कथा कुण्डली मिलाउने विषयसँग सम्बन्धित छ। कुण्डली मिलाउने क्रममा उत्पन्न हुने जटिलताले एक जोडी र उनीहरूको परिवारबीच द्वन्द्व सिर्जना गर्छ । यस फिल्ममा नानालाई पारिवारिक परिवेशको हल्का रमाइलो भूमिकामा देख्न पाइने बताइएको छ।
‘वेदान्त’ : विक्रान्त मेसीसँग स्क्रिन शेयर
नाना पाटेकरको पाँचौँ फिल्म ‘वेदान्त’ हो । राजेश्वर पाण्डे राजको निर्देशनमा बन्ने यस फिल्ममा नानासँगै विक्रान्त मेसी, सन्दीपा धर र मुकेश तिवारी पनि देखिनेछन् ।
फरक–फरक विधाका यी पाँच फिल्ममार्फत नाना पाटेकरको अभिनयलाई दर्शकले आगामी दिनमा पनि ठूलो पर्दामा हेर्न पाउनेछन् । उनका प्रशंसकका लागि यी फिल्म उनको लामो अभिनय यात्रालाई सम्झिने अवसर बन्न सक्छन् ।
प्रतिक्रिया 4