+

नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

२०८३ असोज  २३ गते २२:१७ २०८३ असोज २३ गते २२:१७
नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपालले स्वदेशमै उत्पादित कार–टी सेलबाट त्रिवि शिक्षण अस्पतालका एक एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया बिरामीको उपचार गरेको छ।

२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा यसको सफल प्रयोग भएको छ । यो नेपालको क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि भएको अनुसन्धान तथा बिरामीको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

शिक्षण अस्पतालमा ‘एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’ को उपचार गराइरहेका बिरामीमा यही असोज ११ गते सेल चढाइएको क्लिनिकल टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठले जानकारी दिए ।

डा.श्रेष्ठका अनुसार धादिङकी ती बिरामी हाल अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छिन् ।  उपचारको प्रभावकारिता तथा यसका प्रभावका बारेमा चिकित्सकको टोलीले निगरानी गरिरहेको छ ।

कार–टी सेल थेरापी के हो ?

क्यान्सर उपचारको यो एक अत्याधुनिक विधि हो । यो विधिमा बिरामीकै शरीरमा रहेका रोग प्रतिरोधात्मक कोषहरूलाई निकालेर यसलाई परिमार्जन गरी फेरि बिरामीकै शरीर चढाइन्छ ।

बिरामीको सेतो रक्तकोषमा यी ‘टी-सेल’ निकालिन्छ । यी कोषहरूले शरीरमा भाइरस वा रोगसँग लड्ने काम गरिरहेका हुन्छन्।

वैज्ञानिकहरूले ती टी-सेलहरूमा कृत्रिम जीन थपेर तिनीहरूको सतहमा ‘काइमेरिक एन्टिजेन रिसेप्टर’ नामक विशेष प्रोटिन उत्पादन गराउँछन् । यो प्रोटिनले क्यान्सर कोषलाई चिन्न र पक्रिन मद्दत गर्छ।

यसलाई प्रयोगशालामा परिमार्जन गरेर क्यान्सर कोषहरू नष्ट गर्न सक्षम बनाइन्छ । प्रयोगशालामा यी परिमार्जित कार टी-सेलहरूको सङ्ख्या लाखौँ-करोडौँमा बढाइन्छ । यसरी तयार पारेको कार टी-सेलले बिरामीको शरीरमा चढाइन्छ ।

रक्त क्यान्सरमा अन्य उपचार गराउँदा सफल नभएको बिरामीका लागि यो उपचार पद्धतिको प्रयोग गरिन्छ ।

सीआरएम नेपालको उत्पादनले सीडी–१९ लाई लक्षित गर्छ, जुन केही प्रकारका रगतको क्यान्सरमा पाइने मार्कर हो।

नेपालमा उपलब्ध हुनु ठूलो उपलब्धि

विश्वका सीमित देशमा उत्पादन हुने कार–टी नेपालमा उत्पादन हुनु ठूलो कुरा भएको डा. श्रेष्ठले बताए । ‘अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो । तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं’ डा. श्रेष्ठले भने।

पहिलो बिरामीमा गरिएको प्रयोगको प्रारम्भिक नतिजा उत्साहजनक रहेको सीआरएम नेपालले शुक्रबार काठकमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको छ नेपालमा कार–टी सेल विकासमा संलग्न प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमले बताए ।

‘उपचारको प्रारम्भिक सकारात्मक असर देखिएको हामीले पाएका छौँ’ डा. गौतमले भने, ‘यसले उपचारप्रति सुरुवाती प्रतिक्रिया आशाजनक रहेको संकेत गर्छ । नेपालमै विकसित पहिलो कार–टी सेल उपचारको यो उत्साहजनक सुरुवात हो ।’
सीआरएम नेपालको प्रयोगशालामा उत्पादित सेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको उनले बताए।

डा. गौतमले सन् २०२२ देखि यो अभियानको नेतृत्व गर्दै आएका छन् । यसका सबै प्रक्रियामा उनको उल्लेखनीय सहयोग रहेको छ ।

यस कार्यक्रम सन् २०२२ देखि २०२४ सम्म प्रिक्लिनिकल अनुसन्धानबाट सुरु भएको थियो । सन् २०२५ मा प्रयोगशालाले स्वीकृति पाएपछि जनशक्तिले तालिम लियो र उत्पादनको तयारी पूरा भयो ।

सन् २०२६ मा सीआरएम नेपालको सीडी–१९ कार–टी सेल उत्पादनले नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति पाएको हो।

विदेश गएर उपचार गराउन नसक्ने बिरामीले पनि यस्ता उपचार पाउन सकून् भन्ने संस्थाको दीर्घकालीन लक्ष्य रहेको डा. सुधांशु केसीले बताए ।

विश्वका विकसित मुलुकमा भन्दा ९० प्रतिशतसम्म सस्तोमा नेपालमै कार–टी सेल थेरापी उपचार गर्न सकिने उनको भनाइ छ ।

उपचार कार-टी सेल क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय