२४ असोज, काठमाडौं । भारतको पश्चिम बंगाल र दिल्लीका पूर्वमुख्यमन्त्रीद्वयलाई प्रहरीले हिरासतमा लिएको छ ।
कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा हुने भनिएको प्रदर्शनलाई निष्प्रभावी बनाउन दिल्ली प्रहरीले पश्चिम बंगालीक पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हिरासतमा लिएको हो ।
तृणमूल कांग्रेस (टीएमसी) का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समार्फत बनर्जीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका छन् ।
‘ममता दिदीसहित हामी पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले उहाँको निवासबाहिरबाट हिरासतमा लिएर प्रहरी भ्यानमा राखेको छ,’ उनले लेखेका छन्, ‘हामीलाई कुनै अज्ञात स्थानमा लगिँदै छ । यो भारतमा लोकतन्त्रको मृत्यु हो ।’
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार टीएमसी प्रमुख बनर्जी र पार्टीका अन्य नेताहरूले दिल्लीको साउथ एभेन्युस्थित बस बिसौनीमा धर्ना दिएका थिए । त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो ।
हिरासतमा लिनुअघि बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले जान नदिएको बताएकी थिइन् । ‘हामी जन्तरमन्तर जान चाहन्थ्यौं, तर हामीलाई जान दिइएन,’ उनले भनेकी थिइन्, ‘यस्तो लाग्छ, अहिलेको अवस्था संकटकाल (इमर्जेन्सी) भन्दा पनि खराब छ ।’
यसैबीच, दिल्ली प्रहरीले आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि हिरासतमा लिएको छ । पार्टीका नेताहरू साथ जन्तर–मन्तरतर्फ मार्च गरिरहेका बेला उनलाई प्रहरीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।
भिडियोमा प्रहरीले केजरीवाललाई लैजाँदै गरेको देखिन्छ । भिडियोमा केजरीवालसँगै राज्यसभा सांसद संजय सिंह देखिएका छन् ।
प्रतिक्रिया 4