+
+
Shares

भान्सामा भुसुना र साङ्ला भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानामा किरा भेटिएको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीमा संयुक्त अनुगमन टोलीले आकस्मिक निरीक्षण गरी २ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • निरीक्षणमा भान्साकोठा र फ्रिजमा साङ्ला, भुसुना र सरसफाइमा गम्भीर कैफियत भेटिएको विभागले जनाएको छ।
  • पत्रिकामा भण्डारण गरिएको करिब १ किलो फ्राइड आलु नष्ट गरी सात दिनभित्र सुधारको प्रमाणसहित उपस्थित हुन सञ्चालकलाई निर्देशन दिइएको छ।

२५ असोज, काठमाडौं । खानामा किरा भेटिएको उजुरीपछि काठमाडौं महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई सरकारले कारबाही गरेको छ ।

शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत आएको उजुरीका आधारमा विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त रेस्टुरेन्टमा आकस्मिक निरीक्षण गरेको थियो ।

संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा मन्त्र थकालीको भान्सामा खानामा किरा पर्ने सम्भावना अत्याधिक रहेको पाइएको थियो । अनुगमनका क्रममा भान्साकोठा र फ्रिजमा साङ्ला तथा भुसुना जस्ता किटजन्य पदार्थ भेटिएका थिए ।

त्यसैगरी, पकाएको खानेकुरा नछोपी भण्डारण गरेको, भान्साकोठा र ड्रेनेजको सरसफाइ सन्तोषजनक नरहेको, फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा राखिएको र भान्साको डस्टबिन खुल्ला तथा फोहोर अवस्थामा फेला परेको विभागले जानकारी दिएको छ ।

साथै, स्वास्थ्यका लागि हानिकारक मानिने मसीजन्य कागज (पत्रिका) मा फ्राइड आलु भण्डारण गरेको समेत पाइएको थियो ।

व्यवसायमा यस्ता गम्भीर कैफियत पाइएपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम मन्त्र थकालीलाई २ लाख ५० हजार रुपैयाँ तत्काल जरिबाना तिराएको छ ।

अनुगमनकै क्रममा पत्रिकामा भण्डारण गरिएको करिब १ किलो फ्राइड आलु टोलीले नष्ट समेत गरेको छ ।

विभागले उक्त रेस्टुरेन्टलाई सरसफाइमा विशेष ध्यान दिन, पकाएको खाना राम्ररी छोपेर राख्न, किट नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन र खाद्य पदार्थ राख्न मसीजन्य कागजको प्रयोग नगर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा देखिएका कैफियतहरु सुधार गरी ७ दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिइएको छ ।

तोकिएको समयमा सुधार नगरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुने चेतावनी विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?