News Summary
Generated by OK AI. Editorially reviewed.- फोनपेले ललितपुरको द सोल्टीमा ‘फोनपे अनर्स २०८३’ को पहिलो संस्करण आयोजना गरी डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ।
- कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले डिजिटल भुक्तानीको भूमिका बढ्दै गएको उल्लेख गर्दै नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासमा जोड दिनुभयो।
- फोनपेले अटोपे बाइ फोनपे, फोनपे सर्कल, टक टु पे र फोनबिज नामका चार नयाँ सुविधा सार्वजनिक गरेको छ।
२५ असोज, ललितपुर । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न ‘फोनपे अनर्स २०८३’ को पहिलो संस्करण आयोजना गरेको छ।
डिजिटल भुक्तानी प्रणालीमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, प्रविधि क्षेत्र, व्यवसाय, फिनटेक, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा डिजिटल प्रभावकर्तासहित ४०० भन्दा बढी प्रतिनिधि सहभागी थिए।
काठमाडौंस्थित द सोल्टीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा डिजिटल भुक्तानीको भूमिका बढ्दै गएको उल्लेख गर्दै नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
चार नयाँ सुविधा सार्वजनिक
सम्मान समारोहअघि फोनपेले डिजिटल भुक्तानीलाई सहज, पहुँचयोग्य र समावेशी बनाउने उद्देश्यसहित विभिन्न नयाँ सुविधा सार्वजनिक गरेको छ।
कम्पनीले ‘अटोपे बाइ फोनपे’मार्फत नियमित तथा दोहोरिने भुक्तानी स्वचालित रूपमा व्यवस्थापन गर्न सकिने सुविधा ल्याएको छ। यसबाट विद्युत्, खानेपानी लगायतका उपयोगिता बिल, सदस्यता शुल्क तथा नियमित रकम स्थानान्तरणका लागि पटक–पटक भुक्तानी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने कम्पनीको भनाइ छ।
त्यस्तै, ‘फोनपे सर्कल’ले परिवार, व्यवसाय तथा समुदायमा समूहगत खर्च व्यवस्थापन र रकम बाँडफाँटलाई सहज बनाउनेछ।
‘टक टु पे’ सुविधामार्फत ग्राहकले आवाजको निर्देशन प्रयोग गरेर भुक्तानी कारोबार सुरु गर्न तथा सम्पन्न गर्न सक्नेछन्। यसले टाइप गरेर कारोबार गर्नुभन्दा आवाजमार्फत प्रविधि प्रयोग गर्न सहज मान्ने ग्राहकलाई डिजिटल भुक्तानीमा थप पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
फोनपेले आफ्नो फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गर्दै ‘फोनबिज’ नामबाट सार्वजनिक गरेको छ। यो व्यवसायका दैनिक गतिविधि व्यवस्थापन गर्न तयार पारिएको व्यावसायिक समाधानमूलक एप हो।
फोनबिजमार्फत व्यवसायीले ग्राहकबाट प्राप्त हुने भुक्तानीको विवरण हेर्न, कर्मचारीको तलब तथा विक्रेतालाई रकम भुक्तानी गर्न, व्यावसायिक प्रतिवेदन हेर्न, व्यावसायिक कर्जाका लागि आवेदन दिन तथा ग्राहक निष्ठा कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन्। यी सुविधा एउटै एपबाट उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।
सात विधामा २५ सम्मान
फोनपे अनर्स २०८३ अन्तर्गत सात विधामा कुल २५ वटा सम्मान प्रदान गरिएको थियो।
डिजिटल भुक्तानी क्षेत्रमा विभिन्न संस्था तथा साझेदारले पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।
सम्मानका विधामा क्यूआर भुक्तानी, एटीएम रकम स्थानान्तरण, बिल भुक्तानी, अन्तर्राष्ट्रिय तथा सीमापार भुक्तानी, क्रेडिट कार्ड सञ्जाल, व्यापारी भुक्तानी स्वीकृति तथा समग्र डिजिटल भुक्तानी प्रणालीमा उत्कृष्ट योगदानलगायत क्षेत्र समेटिएका थिए।
फोनपेले यस कार्यक्रमलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने वार्षिक मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया 4