+
+
Shares

क्यानबेरामा दसैं सांस्कृतिक कार्यक्रम गरेर बाढीपीडितलाई ११ हजार डलर  

नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दसैं शुभकामना साँझ मार्फत क्यानबेरावासी नेपालीले बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्।

प्रदीप तिमल्सिना प्रदीप तिमल्सिना
२०८३ असोज २५ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानबेरामा आयोजित दसैं शुभकामना साँझबाट संकलित ११ हजार २०० अस्ट्रेलियन डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
  • अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको कार्यक्रममा क्यानबेरावासी नेपालीले बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्।
  • कार्यक्रममा गायक अर्जुन सापकोटा, गायिका भूमिका गिरी र स्थानीय नेपाली कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

२५ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका नेपालीहरूले दसैंको उल्लास मनाइरहँदा मातृभूमिमा बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिलाई पनि बिर्सेका छैनन्। नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दसैं शुभकामना साँझ मार्फत क्यानबेरावासी नेपालीले बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्।

करिब चार दशक लामो इतिहास बोकेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रमबाट संकलित ११ हजार २०० अस्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।

प्रवासमा चाडपर्वको खुसी साटासाट गरिरहँदा देशमा सङ्कटमा परेका नागरिकलाई राहत पुगोस् भन्ने हेतुले यो सहयोग रकम पठाइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालबाट पुगेका चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा र गायिका भूमिका गिरीले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। उनीहरूसँगै क्यानबेराका स्थानीय नेपाली कलाकारहरूले पनि विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति पस्किएर प्रवासमा नेपालकै झल्को दिएका थिए।

दसैं शुभकामना साँझमा अस्ट्रेलियाका स्थानीय राजनीतिक नेतृत्वका प्रतिनिधि र नेपाली समुदायका बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले एकअर्कामा दसैंको शुभकामना आदानप्रदान गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्देश्यबारे संस्थाका अध्यक्ष कुमार सापकोटाले भने, ‘आपसी सद्भाव, सहानुभूति र सामुदायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।’

प्रवासमा रहेर पनि आफ्नो मौलिक चाडपर्वलाई सामूहिक रूपमा मनाउने र देशमा प्राकृतिक विपत्ति पर्दा सहयोगका लागि जुट्ने यस्ता गतिविधिले अस्ट्रेलियावासी नेपाली समुदायको एकता र मातृभूमिसँगको आत्मीय सम्बन्धलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

लेखक
प्रदीप तिमल्सिना

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?