+
+
Shares

‘परम्परामा आउने परिवर्तनलाई थुन्न सकिँदैन, तर इतिहास जोगाउन सकिन्छ’

परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। समयको गति र परम्परामा आउने परिवर्तनलाई रोक्न सकिँदैन। तर, परिवर्तनको भेलमा बग्नुअघि त्यसलाई अभिलेखमा सुरक्षित राख्न सकियो भने कम्तीमा इतिहास जोगाउन सकिन्छ।

वीणा जोशी राजभण्डारी वीणा जोशी राजभण्डारी
२०८३ असोज २५ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीणा जोशी राजभण्डारीले २०८२ सालको मदन पुरस्कार ग्रहण गर्दै ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ नेवाः समुदाय र मौलिक संस्कृतिप्रतिको सम्मान भएको बताइन्।
  • उनले पाँच दशकको शोधयात्रामा विचार चोरी, सामग्री हराउने चिन्ता र प्राविधिक जटिलताबीच मुकुन्डोनाच र चर्यानृत्यको अध्ययन गरेको उल्लेख गरिन्।
  • उनले पुस्तकले लोपोन्मुख परम्परा, नाच, बाजा र दर्शनलाई नयाँ पुस्तामाझ पुर्‍याएर सांस्कृतिक जरा खोज्न प्रेरित गर्ने बताइन्।

मदन पुरस्कार ग्रहण गर्न यस दबलीमा उभिँदा मनमा अनेक भाव एकसाथ उर्लिरहेका छन्। जीवनभरको साधना र निरन्तरताको कर्मलाई यसरी सम्मानित गरिएको क्षणमा कृतज्ञता व्यक्त गर्न ‘धन्यवाद’ शब्द पर्याप्त लाग्दैन। तर मनमा उम्लिएको भाव व्यक्त गर्ने अर्को सरल शब्द पनि मैले भेट्न सकेकी छैन।

मदन पुरस्कार नेपाली साहित्याकाशमा बलिरहेको त्यस्तो चम्किलो दीपक हो, जसको प्रकाशमा अनेकौँ पुस्ताका विचार, शब्द र सिर्जनाले पहिचान पाएका छन्। त्यही पुरस्कार ग्रहण गर्न आइपुग्दा मन गर्वले भन्दा विनम्रता र जिम्मेवारी बोधले भरिएको छ। जीवनका अनगन्ती दिन, रात, सङ्घर्ष र साधनाहरू एकैपटक आँखाअगाडि आइरहेछन्।

पुरस्कार घोषणा हुँदा लाग्यो- मैले दशकौँ गरेको साधना तथा मेरा गुरु एवं पुर्खाहरूले छोडेर गएको ज्ञान र संस्कृति संरक्षणमा बितेको मेरो जीवनयात्रामाथि गरिएको विश्वास हो। यो क्षण मेरा लागि खुसी त हो नै, त्यसबाहेक आफूलाई यहाँसम्म ल्याइपुर्‍याउने सबै हात, सबै सम्झना र सबै ऋणप्रति नतमस्तक हुने क्षण पनि हो।

वास्तवमा यो सम्मान ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकले मात्र पाएको होइन। यो त नेपाल उपत्यकाको परम्परागत कला, संस्कृति र इतिहासलाई पुस्तौँदेखि आफ्नो जीवनपद्धतिको अङ्ग बनाएर जोगाउँदै आएका सम्पूर्ण नेवाः समुदायप्रतिको सम्मान हो। अझ व्यापक अर्थमा, यो आफ्ना मौलिक गीत, सङ्गीत, नृत्य, भाषा र संस्कृतिलाई जीवन्त राख्दै आएका सबै जातजाति र भाषाभाषीप्रतिको सम्मान हो।

परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। आफ्ना मौलिक कला-संस्कृतिको संरक्षण गर्न सकिएन भने हामी आफ्नो इतिहासको महत्त्वपूर्ण सम्पत्ति गुमाउनेछौँ। यही चेतना आजको बदलिँदो समयसँगै हुर्किरहेको नयाँ पुस्तासम्म पुगोस् भन्ने पवित्र भावनाले यो पुस्तक जन्मिएको हो। हामीले आफ्ना जरा बिर्सिनुहुँदैन, जसबाट हामी पल्लवित, पुष्पित हुँदै फलित भएका हौँ।

विगत पाँच दशक लामो शोधयात्रामा विचार चोरी हुने जोखिम, सङ्कलित सामग्री हराउने चिन्ता र अभिलेखीकरणका अनेकौँ प्राविधिक जटिलता आइपरे पनि मभित्रको अनुसन्धानको हुटहुटी कहिल्यै रोकिएन। मेरो एउटै चाहना रहिरह्यो- हामीले साना-साना पुस्तकहरू त धेरै लेख्यौँ र पढ्यौँ, तर यसको समग्रता सङ्गृहीत गर्नु आवश्यक छ।

पुस्तक प्रकाशनपछि हाम्रा लोपोन्मुख रैथाने परम्परा, अमूल्य नाच, बाजा र तिनका दर्शनलाई नयाँ पुस्तामाझ ल्याएर प्राज्ञिक बहस चलाउने एउटा बाटो खुलेको छ। हाम्रो देश अनेक जातजाति, भाषाभाषी, समूह र समुदायले बनेको साझा सांस्कृतिक घर हो। यी प्रत्येक समुदायका परम्परागत नृत्य, गीत र वाद्यवादनको अनुसन्धान गर्न सकियो भने तिनको मूल वासस्थानदेखि धार्मिक आस्था, सामाजिक परम्परा, भाषा, संस्कार र प्राचीन संस्कृति बुझ्न सकिन्छ।

समयको गति रोक्न सकिँदैन। परम्परामा आउने परिवर्तनलाई पनि थुन्न सकिँदैन। तर परिवर्तनको भेलमा बग्नुअघि त्यसलाई अभिलेखमा सुरक्षित राख्न सकियो भने कम्तीमा इतिहास जोगाउन सकिन्छ।

२०२७ सालमा राष्ट्रिय नाचघरमा काम गर्न थालेपछि सप्तमुनि गुरुसमक्ष मैले नेवार समुदायका परम्परागत मुकुन्डोनाचमा केन्द्रित भएर अनुसन्धान गर्ने आफ्नो इच्छा राखेँ। उहाँबाट प्राप्त आत्मीय सहयोग र प्रेरणाले मेरो अनुसन्धानको औपचारिक यात्रा सुरु भयो।

मुकुन्डोनाचबारेका पुस्तकहरू थोरै थिए। त्यसमाथि यस्तो विषय पुस्तक पढेर मात्र बुझ्न र बुझाउन सम्भव थिएन। नेवाः समुदायको जनजीवनसँग गाँसिएका धार्मिक, सामाजिक, सांस्कृतिक तथा संस्कारगत आस्था, प्रथा र परम्पराहरू नजिकबाट नियाल्नुपर्थ्यो।

नाचको इतिहास धेरैजसो गुरुहरूका सम्झनामा मात्र सुरक्षित थियो। गुरुघर, नासद्यः, विहार, बस्ती, गल्ली र दबलीहरू नै मेरा खुला पुस्तक बने। इतिहासका सङ्केत खोज्दै सत्तल, पाटीपौवा, मन्दिर र तिनका टुँडालहरू चाहारियो। मूर्तिकला र चित्रकलामा कुँदिएका देवदेवीका नृत्यभङ्गीहरू पढियो। सगुन, बलि, खाद्य परिकार र नेवार समुदायको जातीय संरचनासमेत नाचको सैद्धान्तिक अध्ययनसँग जोडिन्छन्।

प्रयोगात्मक पक्ष बुझ्न विभिन्न जातजातिका परम्परागत चाडपर्व, जात्रा, भोज, संस्कार आदिमा सहभागी हुनुपर्थ्यो। नृत्यपूजा, प्रस्तुति, प्रविधि र त्यससँग जोडिएका सूक्ष्म पक्ष बुझ्न पूरै नाचलाई गहनतापूर्वक अवलोकन गर्नुपर्थ्यो। नाचअघि गरिने नृत्यसिद्धि, नृत्याङ्गना अर्थात् मातृकाहरूको जागरणपूजा र नाचपछि सम्पन्न हुने संस्कारसम्म नियाल्नुपर्थ्यो।

तर परम्परागत नृत्य अनुसन्धानको बाटो सरल थिएन। म एउटी महिला, त्यसमा पनि अभ्यन्तर दीक्षा नलिएकी वा नृत्य समूहभन्दा बाहिरी व्यक्ति। त्यसैले अभ्यन्तर पूजाजस्ता गोप्य र संवेदनशील विषयबारे दीक्षित गुरुहरू सहजै बोल्न चाहनुहुन्नथ्यो। कहिलेकाहीँ प्रश्नको जवाफ मौनताले पाउँथेँ। कहिलेकाहीँ ढोका बन्द हुन्थ्यो।

तर अनुसन्धानको बाटोले मलाई एउटा अर्को सत्य सिकायो— ज्ञानका सबै ढोका एउटै चाबीले खुल्दैनन्। जहाँ एउटा ढोका बन्द हुन्थ्यो, फेरि अर्को बाटो खोज्थेँ। उदार हृदयका गुरुहरूको सहयोगले सुरुका तीन वर्षमै नेपाल उपत्यकाभित्रका मुकुन्डोनाच र चर्यानृत्य पद्धतिबारे गहिरिएर अध्ययन गर्ने अवसर पाएँ।

त्यसैले आज पनि मलाई लाग्छ- केही पाउन केही गुमाउनुपर्छ। कतिपय अस्वीकारले पनि ज्ञानको अर्को बाटो देखाउँदो रहेछ।

अन्त्यमा, पुस्तक तयारीदेखि गरिमामय पुरस्कारसम्म पुग्दा सबैभन्दा पहिले ती गुरुहरूको सम्झना आउँछ, जसले मलाई नृत्य सिक्न प्रेरित गर्नुभयो, सिकाउनुभयो र मुकुन्डोनाचका विभिन्न आयाममा प्रवेश गर्ने बाटो देखाउनुभयो। उहाँहरू आज यस संसारमा हुनुहुन्न, तर उहाँहरूले छोडेर जानुभएको ज्ञान, संस्कार र सम्झना यही पुस्तकका पानाहरूमा कतै न कतै जीवित छन्। उहाँहरूप्रति म सधैँ नतमस्तक रहनेछु।

२०२६ सालदेखि नृत्य अध्ययन र अनुसन्धानका क्रममा फोटोग्राफरहरू र अनेकौँ व्यक्तित्वहरूले मलाई साथ दिनुभएको छ। स्मृतिपटलमा रहेका उहाँहरूका नाम पुस्तकका पानामा समेटेर मैले कृतज्ञता व्यक्त गरेकी छु। यहाँ समय अभावले मन र हृदयमा सबैलाई राख्दै संस्कृतिविद् हरिराम जोशीज्यूलाई सम्झन्छु। उहाँको प्रेरणालाई यो पुस्तकले सधैँ स्मरण गरिरहनेछ।

यो पुस्तक विगतको संस्कृति सम्झाउने प्रयासका साथै वर्तमानलाई आफ्नो मौलिकताप्रति सचेत गराउने र भविष्यको पुस्तालाई आफ्ना सांस्कृतिक जरा खोज्न प्रेरित गर्ने एउटा सानो प्रयास मात्र हो। हामीले बचाउन नसकेको संस्कृति इतिहासको विषय बन्ला, तर हामीले पढेर, बुझेर, लेखेर पुस्तान्तरण गरेको संस्कृति भविष्यको पहिचान बन्न सक्छ।

यो सम्मानले मौलिक संस्कृतिको संरक्षणमा केही गर्न खोज्ने हरेक साधकलाई उज्यालो किरण दिएको छ। मेरा लागि योभन्दा ठूलो सम्मान र सन्तोष अरू के हुन सक्छ ? यस स्नेहपूर्ण अनुमोदनलाई म जीवनभर मनमा साँचिरहनेछु।

(२०८२ सालको मदन पुरस्कार प्राप्त कृति नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशी राजभण्डारीले आइतबार पुरस्कार ग्रहण गर्दै राखेको मन्तव्य।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?