News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशकी मन्त्री कल्याणी खड्काको रुकुम पश्चिम चौरजहारी–३ स्थित जन्मघर २०८० कात्तिक १७ को भूकम्पले पूर्ण रूपमा क्षति गरेको छ।
- घर पुनर्निर्माण नहुँदा खड्का अहिले अस्थायी टहरामा बस्दै आएकी छन्, र डिडिएको पूर्ण पुनर्निर्माण सूचीबाट उनको घर छुटेको छ।
- खड्काले गाउँको धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन १५ लाख रुपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण गराएकी छन्।
२६ असोज, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा । टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी । घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिर । न भव्य घर छ, न पर्याप्त बस्ने ठाउँ, न त सहज जीवनयापनका लागि आवश्यक सबै सुविधा । तर यही हो कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको जन्मघर ।
मन्त्री बनेपछि पहिलोपटक जन्मघर फर्किएकी खड्कालाई स्वागत गर्न कुनै भव्य भवन तयार थिएन । बरु, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्काएको घरको अवशेष र त्यसपछि बनाइएको अस्थायी टहराले उनको विगत र वर्तमान सम्झाइरहेको थियो । घर पूर्ण रूपमा क्षति भएपछि उनी अहिले अस्थायी टहरामा बस्दै आएकी छन् ।
मन्त्रीको घर भव्य र सुविधासम्पन्न होला भन्ने धेरैको अनुमान थियो । तर, वास्तविकता फरक देखियो। राज्यको जिम्मेवार पदमा पुगेकी मन्त्री खड्काको आफ्नै घरसमेत भूकम्पपछि पुनर्निर्माण हुन सकेको छैन । टहराको सीमित ठाउँ, शौचालयको अभाव र खानेपानीको समस्याबीच उनको दैनिकी बितिरहेको छ । घर पुग्ने सडक भने कालोपत्रे छ । सडकले गाउँसम्म पुग्ने बाटो सहज बनाए पनि घरभित्रको अभाव र भूकम्पले दिएको पीडा भने अझै उस्तै छ ।
भूकम्पले भत्काएको घर, पुनर्निर्माणको प्रतीक्षामा परिवार

२०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा ठूलो जनधनको क्षति पुर्यायो । धेरै परिवारको घर भत्किए, कतिपयको जीवन नै बदलियो । त्यही विनाशको चोट मन्त्री खड्काको परिवारले पनि बेहोर्नुपर्यो ।
घर पूर्ण रूपमा क्षति भएपछि अस्थायी टहरामा बस्दै आएकी खड्काको घर राज्यले भूकम्प प्रभावितका घर निर्माणका लागि गरेको विस्तृत क्षति मूल्याङ्कन (डिडिए) मा समेत पूर्ण पुनर्निर्माणको सूचीबाट छुटेको पाइएको छ । राज्यको जिम्मेवारीमा रहेकी मन्त्रीकै घर पुनर्निर्माणको प्रक्रियाबाट छुट्नुले भूकम्प प्रभावितको आवास पुनर्निर्माणको अवस्था र प्रक्रियामाथि प्रश्न उठाएको छ ।
आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा मन्त्री खड्का घर पुग्दा बस्ने र सुत्ने ठाउँको समेत अभाव हुने गरेको छ । उनीसँगै पुग्ने सुरक्षाकर्मी तथा सचिवालयका कर्मचारीलाई राख्ने व्यवस्था गर्नसमेत कठिन हुने गरेको छ । पद र जिम्मेवारीले उनको परिचय बदलिए पनि जन्मघरको अवस्था भने बदलिएको छैन ।
दिवङ्गत परिवारका तस्बिरले बनायो भावुक
घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिरले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छन् । मन्त्री खड्का पनि ती तस्बिर देख्दा भावुक बनिन् । अस्थायी टहराको सीमितता र घरको भग्नावशेषबीच रहेका ती तस्बिरले उनको पारिवारिक स्मृति र गाउँसँगको सम्बन्धलाई झल्काइरहेका थिए ।
अहिलेसम्म अविवाहित खड्काका लागि जन्मघर केवल बस्ने ठाउँ मात्र होइन, बाल्यकाल, परिवार र जीवनका सम्झनासँग जोडिएको स्थान पनि हो । मन्त्री बनेर घर फर्कँदासमेत सुविधासम्पन्न आवासको सट्टा टहराको जीवनमा रमाउनुपर्ने बाध्यता उनका लागि सहज छैन । तर जन्मथलोप्रतिको मोह र गाउँलाई राम्रो बनाउने चाहना भने उस्तै रहेको उनी बताउँछिन् ।
आफ्नै घर अधुरो, गाउँमा मन्दिर निर्माण

आफ्नो घर पुनर्निर्माण हुन नसके पनि खड्काले गाउँको धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन पहल गरेकी छन् । स्थानीय वृद्धवृद्धा र बासिन्दालाई धार्मिक आस्थासँग जोड्ने उद्देश्यले उनले १५ लाख रुपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण गराएकी छन् । मन्दिर निर्माण भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
गाउँमा सडक पुगेको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि चासो दिइएको छ । नयाँ सहरका रूपमा विकास भइरहेको चौरजहारीबाट एक घण्टाभन्दा बढी यातायातमा यात्रा गरेपछि उनको जन्मघर पुग्न सकिन्छ । सडक र अन्य भौतिक संरचनाको विकाससँगै गाउँको स्वरूप परिवर्तन हुँदै गएको छ ।
आफू सुविधासम्पन्न ठाउँमा बसेर जीवन बिताउनुभन्दा जन्मस्थानलाई नै राम्रो बनाउने आफ्नो चाहना रहेको खड्का बताउँछिन् । पुराना संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्न सके मात्र समाजको सम्मान र पहिचान कायम रहने उनको भनाइ छ ।
मन्त्रीको घरको अवस्था, पुनर्निर्माणको सुस्ततामाथि प्रश्न

मन्त्री खड्काको घरको अवस्थाले भूकम्प प्रभावितको आवास पुनर्निर्माणमा भइरहेको ढिलाइलाई फेरि चर्चामा ल्याएको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित परिवारले सुरक्षित र स्थायी आवास पाउन नसक्नु गम्भीर विषय बनेको छ ।
संघीय सरकारले जिम्मेवारी लिएको निजी आवास पुनर्निर्माणको काम सुरु हुन नसकेको अवस्थामा भूकम्प प्रभावित नागरिकले कहिले सुरक्षित घरमा बस्न पाउने भन्ने प्रश्न चर्किएको छ । मन्त्री खड्काकै घर पूर्ण क्षतिको सूचीबाट छुटेको पाइएको विषयले क्षति मूल्याङ्कन, लाभग्राही पहिचान र पुनर्निर्माण प्रक्रियाको प्रभावकारिताबारे समेत प्रश्न उठाएको छ ।
यता कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति पुगेका स्वास्थ्य संस्था र विद्यालयको पुनर्निर्माणलाई तीव्रता दिएको छ । सार्वजनिक संरचना निर्माणले गति लिए पनि निजी आवासको समस्या समाधान हुन नसक्दा प्रभावित नागरिकको पीडा भने अझै कम हुन सकेको छैन ।
जन्मथलो बनाउने सपना, तर कहिले फेरिएला टहराको जीवन ?
मन्त्री खड्काका लागि आफ्नो गाउँ राजनीतिक जिम्मेवारीसँग जोडिएको ठाउँ मात्र होइन, जीवनका स्मृति र भावनासँग गाँसिएको जन्मथलो हो । गाउँमा सडक पुर्याउने, धार्मिक परम्परा जोगाउने र स्थानीय बासिन्दालाई सुविधासँग जोड्ने प्रयास भइरहेका छन् । तर आफ्नै घरको पुनर्निर्माण हुन नसक्नुले विकासका प्राथमिकता र भूकम्पपछिको पुनर्निर्माणको वास्तविक अवस्थालाई उजागर गर्छ ।
मन्त्रीसँग अहिले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावित नागरिकको एउटै प्रश्न छ– हाम्रो घर कहिले बन्छ ?
प्रतिक्रिया 4