News Summary
Generated by OK AI. Editorially reviewed.- हरिहर अधिकारीको तेस्रो फिल्म ‘पार्वती’ले बक्स अफिसमा २ करोड २९ लाख रुपैयाँ कारोबार गरेको रिपोर्ट छ।
- अघिल्लो आइतबारसम्मको बक्स अफिस रिपोर्टमा ‘पार्वती’ देखिएको छैन।
- हरिहर अधिकारीले फिल्मले लगानी सुरक्षित गरिसकेको र स्लोली स्लोली चलिरहेको बताएका छन्।
कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी ।
अरूको फिल्मको नाम के राख्ने ? कहिलेबाट मुहूर्त गर्ने ? उनैले तय गरिदिन्थे ।
ज्योतिषीय गणनाबाट फिल्मको न्वारान गर्नेदेखि प्रदर्शनको तिथि तोक्नेसम्मका काम भएपछि फिल्म कसो नचल्दा हुन् ? फिल्ममेकरहरूलाई यस्तै लाग्न थालेको थियो । सबैभन्दा बढी यस्तो चाहिँ स्वयं ज्योतिषी हरिहर अधिकारीलाई लाग्न थालेको थियो ।
त्यही लागेर त हो, उनले फिल्म बनाउन थाले । फिल्म बनाउनुसम्म त ठीकै थियो । हिरो पनि आफैँ बने । अब ज्योतिषी मान्छे हिरो बन्दा कस्तो भयो होला ? यो त उनको पहिलो फिल्म ‘शुभलाभ’ झेल्ने दर्शकलाई थाहा होला । नामअनुसार यो फिल्मले उनलाई शुभलाभ भएन ।
पहिलो फिल्मबाट धक्का लागे पनि उनको जोश थामिएन । श्रीमती नै हिरोइन भएपछि उनमा फिल्मी रङ चढ्नु कुनै आश्चर्यको कुरा पनि थिए न । उनले श्रीमतीसँगै मिलेर अर्को फिल्म बनाए, ‘ह्रस्व दीर्घ’ ।
फिल्ममा उनले दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमलाई समेत अभिनय गराए । अनि फिल्म नेपाली, हिन्दी र तेलुगु भाषामा तयार गरे । यो फिल्मबाट पनि उनलाई ‘लाभ’ मिलेन।
असफलताको यो शृङ्खलाबाट उनी फेरि पनि रोकिएनन् । तेस्रो फिल्म बनाए, ‘पार्वती ’। यो फिल्मले बक्स अफिसमा २ करोड २९ लाख रुपैयाँ कारोबार गरेको देखाउँछ । यो अघिल्लो आइतबारसम्मको रिपोर्ट हो । यसपालि भने चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा ‘पार्वती’ गायब छ ।
एक अन्तर्वार्तामा हरिहर भन्दै छन्, ‘फिल्मले आफ्नो लगानी सुरक्षित गरिसक्यो, स्लोली स्लोली चल्दै छ ।’
६ साता बितिसक्यो, अझै कति स्लोली ?
यसको ग्रहदशा हेर्दा खासै राम्रो छाँटकाँट देखिँदैन !
ज्योतिष विद्याले फिल्म चल्दैन भन्ने कुरा अब त बुझ्नुपर्यो । ज्योतिष विद्याले फिल्म चल्ने भए यतिबेला शाहरुख खानहरू पनि ‘गुरुजी’ भइसक्थे नि ।
प्रतिक्रिया 4