+
+
Shares

खगेन्द्र सुनारबारे पार्टीले अनुसन्धान थालिसकेको छ, आवश्यक परे राज्यले पनि गर्नुपर्छ : कबिन्द्र बुर्लाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले सांसद खगेन्द्र सुनारबारे सार्वजनिक विवादित अडियो प्रकरणमा अनुशासन आयोगमार्फत अनुसन्धान सुरू गरिसकेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
  • बुर्लाकोटीले राज्यका निकायले पनि कानुन आकर्षित हुने विषयमा अनुसन्धान गर्नुपर्ने र पार्टीले सहकार्य गर्ने बताए ।
  • उनले कृष्णकुमार कार्की प्रकरणमा प्रमाण नदेखिएकाले जाँचबुझ नगरिएको र सुनारको हकमा प्रमाणसहित विवाद देखिएकाले छानबिन अघि बढाइएको बताए ।

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ ।

पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए ।

यस्तो कुरामा मिति तोक्न सकिंदैन । तत्काल सुरु गर्न भन्ने निर्देशन छ, सुरु भइसकेको छ,’ बुर्लाकोटीले भने, ‘निर्णय गरेर अनुशासन आयोगले काम सुरु गरिसकेको छ । लामो समय जाँदैन । जे छानबिन हुनुपर्ने हो त्यो हुन्छ ।’

साथै, उनले राज्यका निकायले पनि यसबारे अनुसन्धान अघि बढाउनुपर्ने बताए ।

‘राज्यको कानुन कहाँनिर आकर्षित हुन्छ त्यो गर्नका लागि राज्यले गर्नुपर्ने अनुसन्धान गरियोस् । र त्यसमा पार्टीको तर्फबाट सहयोग हुन्छ भन्ने हिसाबमा स्टेटमेन्ट नै दिइएको पनि छ,’ उनले भने, ‘राज्यले गर्ने एउटा पाटो भयो, पार्टीको नेता भएकाले पार्टीले गर्ने पाटोमा अहिले अनुसन्धान सुरु गरिसकेको छ ।’

यसअघि पार्टीका अर्का सांसद कृष्णकुमार कार्कीको सन्दर्भमा आएका विवादबारे कुरा गर्दै उनले केही गर्न नपर्ने देखिएपछि नगरिएको स्पष्ट पारे ।

‘त्यतिखेर पनि सामाजिक सञ्जालमा हल्ला मात्रै थियो । यसमा चाहिँ केही प्रमाणसहित बाहिर देखिएकोले त्यो सहि हो वा होइन भन्ने भएकाले जाँचबुझ गर्नुपर्ने भएकाले पार्टीको जाँजबुझ गर्नका लागि अनुशासन आयोगमा पठाइएको छ,’ बुर्लाकोटीले भने ।

अनुसन्धान गर्ने निकायलाई सबै जिम्मा दिइसकेको उल्लेख गर्दै उक्त निकायबाट केही नआएसम्म आफूहरू प्रतीक्षामा नै रहने उनले बताए ।

‘अनुसन्धान गर्ने निकायले नभनेसम्म हामी प्रतीक्षा गर्छौं । पार्टीले गरेको अनुसन्धान पार्टीले हेर्ने हो । आवश्यक पर्दा सरकारी निकायले पनि अनुसन्धान गर्नुपर्छ,’ बुर्लाकोटीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?