News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको भोटखोला गाउँपालिका–३ हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ ।
- खाँदबारी वितरण केन्द्र प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिका कार्यालय र हाहियास्थित अस्पतालमा थ्रि फेज मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ ।
- प्राधिकरणले चालु आर्थिक वर्षभित्र किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पुर्याउने लक्ष्यसहित ठेक्का प्रक्रिया अगाडि बढाएको छ ।
२७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संखुवासभा उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३ हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागद्वारा सञ्चालित आयोजना मार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजना मार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो ।
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीयवासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योग लगायत विद्युत् उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन् ।
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत आपूर्ति थप भरपर्दो र पर्याप्त भई स्थानीय, सरकारी कार्यालय तथा स्वास्थ्य संस्था, त्यस क्षेत्रका कुटानीपिसानी मिल, घरेलु उद्योग लगायतले प्रत्यक्ष लाभ लिन सक्ने प्राधिकरणले जनाएको छ ।
खाँदबारी वितरण केन्द्र प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिका कार्यालय र हाहियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए ।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त क्षेत्रसम्म विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ । चालु आर्थिक वर्षभित्र किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य छ ।
संखुवासभामा विद्युत् पहुँच विस्तार प्राथमिकता दिँदै प्राधिकरणले विकट तथा दुर्गम बस्तीमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् भने बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्राधिकरणको प्रयासले स्थानीय जनताको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा छ ।
प्रतिक्रिया 4