News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका दलित समुदायको अवस्थाबारे पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ ।
- रोयल एसियाटिक सोसाइटीले शुक्रबार निर्णायक मण्डलको सर्वसम्मत निर्णयमा पुस्तकलाई दलित अध्ययन र नेपाल अध्ययनमा महत्वपूर्ण योगदान गरेको भन्दै छनोट गरेको हो ।
- पुस्तकले दलित समुदायको समकालीन अवस्था, सामाजिक चुनौती र असमानताका पक्षलाई समेटेको छ, र नेपालमै बज्र बुक्सबाट प्रकाशित भएको छ ।
लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ ।
बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो ।
निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै सामाजिक असमानता र श्रेणीगत संरचनासम्बन्धी समाजशास्त्रीय तथा मानवशास्त्रीय बहसलाई समृद्ध बनाएको ठहर गरेको छ ।
पुस्तकमा दलित लेखक तथा अनुसन्धानकर्तासहित विभिन्न विद्वानका अनुसन्धान समेटिएका छन् । यसले नेपालका दलित समुदायको समकालीन अवस्था, उनीहरूले भोगिरहेका सामाजिक चुनौती तथा समाजमा विद्यमान असमानताका विविध पक्षलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ ।
रोयल एसियाटिक सोसाइटीका अनुसार यो पुस्तक शैक्षिक अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिक नेतृत्व तथा नेपालको सामाजिक अवस्थाबारे चासो राख्ने पाठकका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्नेछ ।
निर्णायक मण्डलले पुस्तकका सम्पादक गेल्नर र अधिकारीको योगदानको प्रशंसा गर्दै यसमा लेख तथा अध्ययन समावेश गर्ने अन्य अनुसन्धानकर्ताको भूमिकालाई पनि उच्च मूल्यांकन गरेको छ ।
पुस्तकमा अर्जुन बहादुर, तिलक विश्वकर्मा, स्टिभ फोल्मार, रक्षा राम हरिजन, समृद्धि खरेल, रामप्रसाद मैनाली, पूर्ण नेपाली, जोआना फाफ-जारनेका, कृष्ण श्रेष्ठ, मनोज सुजी र रमेश सुनामलगायतका अनुसन्धानकर्ताका लेख तथा अध्ययन समेटिएका छन् ।
पुस्तक नेपालमै बज्र बुक्सबाट प्रकाशित भएको उल्लेख गर्दै निर्णायक मण्डलले नेपाली पाठकमाझ यसको पहुँच विस्तार गर्न प्रकाशन संस्थाले खेलेको भूमिकाको समेत प्रशंसा गरेको छ ।
प्रोफेसर डेभिड गेल्नर अक्सफोर्ड विश्वविद्यालयका सामाजिक मानवशास्त्रका इमेरिटस प्राध्यापक हुन् । सन् १९७५ मा पहिलोपटक नेपाल आएका उनले चार दशकभन्दा बढी समयदेखि नेपालको धर्म, समाज र संस्कृतिबारे अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् ।
त्यस्तै, डा. कृष्ण अधिकारी अक्सफोर्ड विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीसँग आबद्ध अनुसन्धानकर्ता हुन् । उनले जात, वर्ग र संस्कृतिका साथै दलित समुदायको गरिमासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको नेतृत्व गरेका छन् । उनी बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज यूकेका संस्थापकसमेत हुन् ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।
नेपालसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०२२ मा स्थापित यस पुरस्कारले नेपाल अध्ययनका क्षेत्रमा योगदान पुर्याउने अनुसन्धानकर्ता तथा लेखकलाई सम्मान गर्दै आएको छ ।
गत वर्ष उक्त पुरस्कार बेलफास्टस्थित क्विन्स विश्वविद्यालयको स्कुल अफ लका वरिष्ठ प्राध्यापक डा. प्रत्युष नाथ उप्रेतीलाई प्रदान गरिएको थियो । बासमती चामलको बौद्धिक सम्पत्तिसम्बन्धी अनुसन्धानका लागि उनलाई उक्त पुरस्कार दिइएको हो ।
प्रतिक्रिया 4