+

भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?

२०८३ कात्तिक  १७ गते १८:०० २०८३ कात्तिक १७ गते १८:००
भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निद्रा र जागरणबीचको अवस्थाका कारण स्लिप प्यारालाइसिस हुँदा शरीर चलाउन नसक्ने, आवाज ननिस्कने र कसैको उपस्थिति महसुस हुने अनुभव हुन सक्छ ।
  • अँध्यारोमा प्यारिडोलिया र डिसोसिएसनका कारण झुन्डिएको कपडा, छाया वा आफ्नै अनुभूति नै भूतजस्तो देखिन वा महसुस हुन सक्छ ।
  • विशेषज्ञहरूका अनुसार तनाव, निद्राको कमी, पहिल्यैको विश्वास र एजेन्सी डिटेक्सनले पनि मानिसलाई असामान्य अनुभवलाई अलौकिक ठान्न प्रेरित गर्न सक्छ ।

रातको सुनसान समय । अचानक निद्रा खुल्छ । कोठामा आफू एक्लै भए पनि कसैले नजिकै उभिएर हेरिरहेको जस्तो लाग्छ ।

बोल्न खोज्दा आवाज निस्किँदैन, शरीर चलाउन खोज्दा हातखुट्टा चल्दैनन् । आँखा अगाडि कुनै आकृति देखिएझैं हुन्छ । केही क्षणपछि सबै कुरा सामान्य हुन्छ ।

यस्तो अनुभव गर्ने व्यक्ति कम छैनन् । कतिपयले यसलाई भूत देखेको भन्छन् त कतिपयले अदृश्य शक्तिको उपस्थिति महसुस गरेको ठान्छन् ।

तर, के साँच्चै त्यो भूत नै हुन्छ ? कि, हाम्रो मस्तिष्कले सिर्जना गरेको एउटा अनुभव मात्र हो ?

भूतप्रतिको मानवीय चासो आजको होइन । सदियौंदेखि भूतका कथा सुनिँदै आएका छन् । चीन मेसोपोटामियाका कथादेखि चार्ल्स डिकेन्सको चर्चित कृति ‘ए क्रिसमस क्यारोल’ सम्म भूतका प्रसंग भेटिन्छन् ।

समय बदलियो, विज्ञान र प्रविधि विकसित भए, तर भूतप्रतिको मानिसको जिज्ञासा भने घटेको छैन ।

अमेरिकाको युनिभर्सिटी अफ वेस्ट जर्जियाकी मनोविज्ञान प्राध्यापक क्रिस्टिन सिमन्ड्स मुरका अनुसार मानिसले असामान्य अनुभव गर्ने गरेका छन्, जसलाई उनीहरू अलौकिक मान्छन् ।

त्यस्ता अनुभव व्यक्तिका लागि वास्तविकजस्तै हुन्छन् र तिनले उसको जीवनमा गहिरो प्रभाव पनि पार्न सक्छन् । तर, कुनै अनुभव वास्तविक लाग्दैमा त्यसको कारण अलौकिक शक्ति नै हो भन्ने हुँदैन ।

निद्रा र जागरणको बीचमा के हुन्छ ?

भूत देखेको वा कोही नजिकै भएको महसुस हुने अनुभवको एउटा कारण निद्रा र जागरणबीचको अवस्था हुन सक्छ । यसलाई ‘हिप्नागोगिक स्टेट’ भनिन्छ ।

यो निदाउन लाग्दा वा निद्राबाट ब्युँझने क्रममा हुने अवस्था हो । यही समयमा कतिपयलाई ‘स्लिप प्यारालाइसिस’ अर्थात् निद्राजन्य पक्षाघात हुन सक्छ ।

यस्तो अवस्थामा निद्रा खुले पनि केही समयसम्म शरीर चलाउन सकिँदैन । बोल्न खोज्दा आवाज निस्कँदैन ।

तर, वरिपरि भइरहेको कुरा थाहा भइरहेजस्तो लाग्छ । लन्डनस्थित गोल्डस्मिथ्स युनिभर्सिटीका प्राध्यापक क्रिस फ्रेन्चका अनुसार यस्तो अवस्थामा शरीर ब्युँझिए पनि मस्तिष्क भने पूर्ण रूपमा ब्युँझिएको हुँदैन ।

त्यसैले, कोठामा अरू कसैको उपस्थिति रहेको गहिरो अनुभूति हुन सक्छ ।

कतिपयले आफूले केही नदेखे पनि कोही नजिकै उभिएको महसुस गर्छन् । कसैले आकृति देख्ने, आवाज सुन्ने वा शरीरमा कसैले छोएजस्तो अनुभव गर्ने पनि गर्छन् । यस्तो अनुभव निकै डरलाग्दो हुन सक्छ ।

तर, ती अनुभूति वास्तविक उपस्थितिका प्रमाण नभई निद्रा र जागरणबीच मस्तिष्कले सिर्जना गरेका भ्रम हुन सक्छन् ।

सन् २०११ मा प्रकाशित एक समीक्षात्मक अध्ययनले सामान्य जनसंख्याका ७.६ प्रतिशत मानिसले जीवनमा कुनै न कुनै बेला ‘स्लिप प्यारालाइसिस’ अनुभव गरेको अनुमान गरेको थियो ।

अँध्यारोमा किन देखिन्छ अनौठो आकृति ?

कहिलेकाहीँ अँध्यारो कोठामा झुन्डिएको कपडा, झ्यालको पर्दा वा भित्तामा परेको छायालाई मानिसको आकृति ठानिन्छ । रूखका हाँगा वा कुनै वस्तुको छायामा अनुहार देखेजस्तो पनि हुनसक्छ ।

मनोविज्ञानमा यस्तो प्रवृत्तिलाई ‘प्यारिडोलिया’ भनिन्छ । यसको अर्थ कुनै आकृतिमा परिचित आकार, अनुहार वा ढाँचा देख्नु हो ।

क्यानडाको म्याकइवान युनिभर्सिटीका प्राध्यापक रड्नी स्माल्ट्जका अनुसार मानिसको दृश्य प्रणालीले कहिलेकाहीँ आँखाको कुनाबाट देखिएको अस्पष्ट वस्तुलाई पनि अनुहारका रूपमा बुझ्न सक्छ ।

जबकि, त्यहाँ वास्तवमा कुनै अनुहार हुँदैन ।

विशेषज्ञहरूका अनुसार तनावमा रहेका बेला यस्तो अनुभव हुने सम्भावना अझ बढी हुन्छ । डर, चिन्ता र अस्पष्ट वातावरणले सामान्य वस्तुलाई पनि असामान्य वा भयावह देखाउन सक्छ ।

एक्लै हुँदा कसैको उपस्थिति महसुस हुनुको कारण

कहिलेकाहीँ घरमा एक्लै हुँदा पनि कसैले पछ्याइरहेको वा आफू नजिकै अर्को व्यक्ति रहेको अनुभूति हुन सक्छ । यसको एउटा सम्भावित कारण ‘डिसोसिएसन’ हो ।

डिसोसिएसन भनेको व्यक्तिले आफ्नै अनुभव, भावना वा व्यक्तित्वका केही पक्ष आफूबाट अलग भएको महसुस गर्ने अवस्था हो ।

अत्यधिक तनाव वा कुनै दुर्घटनाको समयमा मानिसलाई आफू आफ्नै शरीरभन्दा बाहिर रहेको जस्तो अनुभव हुन सक्छ । यो अवस्था दैनिक जीवनमा पनि सामान्य रूपमा देखिन सक्छ ।

उदाहरणका लागि, परिचित बाटोमा गाडी चलाएर घर पुग्दा बाटोमा भएका सबै घटना स्पष्ट रूपमा याद नहुन सक्छन् । किनकि, त्यसबेला मानिसको मस्तिष्कले धेरै काम स्वचालित रूपमा गरिरहेको हुन्छ ।

यस्तै, कहिलेकाहीँ आफ्नै मनका कुनै अनुभूति वा पक्षलाई मानिसले आफूभन्दा अलग अर्को व्यक्ति वा अदृश्य जीवको उपस्थितिका रूपमा अनुभव गर्न सक्छ ।

तनाव र निद्राको कमीले पनि यस्तो सम्भावना बढाउन सक्छ ।

कल्पनाशक्ति र सपनाको प्रभाव

केही अध्ययनले अलौकिक अनुभव र ‘ट्रान्सलिमिनालिटी’ नामक मनोवैज्ञानिक गुणबीच सम्बन्ध देखाएका छन् ।

यो गुण बढी भएका व्यक्तिमा कल्पनाशक्ति बलियो हुने, सपना स्पष्ट रूपमा सम्झने र काल्पनिक संसारमा सजिलै डुब्न सक्ने प्रवृत्ति हुन्छ ।

यस्ता व्यक्ति कला, संगीत र भावनात्मक अनुभवबाट गहिरो रूपमा प्रभावित हुन सक्छन् । उनीहरूलाई कहिलेकाहीँ आफू नजिकै कुनै अदृश्य उपस्थिति रहेको अनुभूति हुने सम्भावना पनि बढी हुन सक्छ ।

यससँग ‘सिनेस्थेसिया’ नामक अवस्थाको पनि सम्बन्ध हुनसक्छ । यसमा एउटा इन्द्रियबाट प्राप्त हुने अनुभूतिले अर्को इन्द्रियलाई पनि सक्रिय बनाउँछ । जस्तो कि, कुनै रंग देख्दा त्यससँग सम्बन्धित सुगन्ध महसुस भएजस्तो हुन सक्छ ।

केही ठाउँ किन बढी डर लाग्दा हुन्छन् ?

पुराना घर, अँध्यारा कोठा, सुनसान गल्ली वा कम उज्यालो भएका ठाउँमा मानिसलाई अनौठो अनुभूति हुन सक्छ । यसको कारण वातावरणसँग सम्बन्धित हुन सक्छ ।

मनोविज्ञानका प्राध्यापक क्रिस फ्रेन्चका अनुसार धेरै उज्यालो ठाउँबाट कम उज्यालो भएको ठाउँमा प्रवेश गर्दा मानिसको अनुभव बदलिन सक्छ ।

त्यस्तै, अग्लो छत भएका ठाउँमा पनि कतिपयले असहज महसुस गर्न सक्छन् ।

यसमा ‘इन्फ्रासाउन्ड’ अर्थात् २० हर्जभन्दा कम आवृत्तिका ध्वनिको पनि भूमिका हुन सक्ने केही विशेषज्ञको धारणा छ । यस्ता ध्वनि मानिसले सामान्य रूपमा सुन्न सक्दैनन् ।

तर, मेसिन, सवारीसाधन, पानीका पाइप र पुराना भवनका विभिन्न प्रणालीबाट उत्पन्न हुन सक्छन् ।

क्यानडाको म्याकइवान युनिभर्सिटीका प्राध्यापक रड्नी स्माल्ट्जले गरेको एक अध्ययनमा इन्फ्रासाउन्डको उपस्थितिले मानिसको र्‍यालमा तनावसँग सम्बन्धित हर्मोन कोर्टिसोलको मात्रा केही बढाएको पाइएको थियो ।

चिडचिडापनसँग पनि यसको सम्बन्ध देखिएको थियो ।

यद्यपि, इन्फ्रासाउन्ड र अलौकिक अनुभवबीच प्रत्यक्ष सम्बन्ध रहेको विषयमा विज्ञहरूबीच एकमत छैन । केही अध्ययनले यस्तो सम्बन्धको प्रमाण फेला पारेका छैनन् ।

त्यसैले, इन्फ्रासाउन्डलाई भूत देखिने वा अदृश्य उपस्थिति महसुस हुने निश्चित कारण मान्न सकिँदैन ।

मानिस किन भूतमा विश्वास गर्छन् ?

कहिलेकाहीँ कुनै आवाज सुन्दा, छाया देख्दा वा कसैले नजिकै भएको महसुस हुँदा मानिसले त्यसको कारण खोज्न थाल्छ । तर, किन यस्तो अनुभवलाई भूत वा अदृश्य शक्तिसँग जोडिन्छ ?

यसको एउटा जवाफ मानव विकासक्रमसँग जोडिएको हुन सक्छ ।

अलौकिक मान्यताबारे अध्ययन गर्ने लोककथा विशेषज्ञ डेबोरा हाइडका अनुसार मानिसको मस्तिष्क सत्य पत्ता लगाउन मात्र होइन, आफूलाई सुरक्षित राख्न पनि विकसित भएको हो ।

प्राचीन समयमा कुनै छायालाई खतरनाक जनावर ठान्नु वा अपरिचित आवाजलाई सम्भावित खतराका रूपमा बुझ्नु मानिसको सुरक्षाका लागि उपयोगी हुन सक्थ्यो ।

त्यसैले, अस्पष्ट परिस्थितिमा पनि मस्तिष्कले कुनै खतरा वा त्यसको पछाडि कसैको उपस्थिति रहेको अनुमान गर्न सक्छ । मनोविज्ञानमा यसलाई ‘एजेन्सी डिटेक्सन’ भनिन्छ ।

अर्थात्, कुनै घटना वा असामान्य गतिविधिको पछाडि सोच्ने, निर्णय गर्ने र उद्देश्य राख्ने कुनै व्यक्ति वा जीव रहेको अनुमान गर्ने प्रवृत्ति ।

पहिल्यैको विश्वासको प्रभाव

कुनै व्यक्तिले भूत हुन्छन् भन्ने विश्वास पहिल्यै राखेको छ भने उसले असामान्य अनुभवलाई पनि भूतकै उपस्थितिका रूपमा बुझ्न सक्छ ।

यसलाई ‘कन्फर्मेसन बायस’ भनिन्छ । अर्थात्, आफूले पहिल्यै बनाएको धारणालाई सही साबित गर्ने प्रमाण खोज्ने र त्यसैलाई बढी महत्व दिने मनोवैज्ञानिक प्रवृत्ति ।

उदाहरणका लागि, राति घरमा कुनै आवाज आयो भने भूतमा विश्वास गर्ने व्यक्तिले त्यसलाई भूतको गतिविधि ठान्न सक्छ ।

तर, त्यही आवाज अर्को व्यक्तिले घरभित्रको कुनै सामान्य गतिविधि वा बाहिरी वातावरणको प्रभावका रूपमा बुझ्न सक्छ ।

प्राध्यापक क्रिस फ्रेन्चका अनुसार मानिसले कुनै कुरा पहिल्यै सत्य होस् भन्ने चाहेको छ भने त्यसलाई समर्थन गर्ने प्रमाणमा बढी ध्यान दिन सक्छ ।

मृत्युपछि पनि जीवन रहन्छ भन्ने चाहनाले मानिसलाई भूतको अस्तित्वमा विश्वास गर्न प्रेरित गर्न सक्छ । किनकि, भूतलाई कतिपयले मृत्युपछिको जीवनको प्रमाणका रूपमा पनि हेर्ने गर्छन् ।

यसरी भूत देखेको वा कसैको उपस्थिति महसुस गरेको अनुभवका पछाडि निद्रा, मस्तिष्कको कार्यप्रणाली, तनाव, कल्पनाशक्ति, वातावरण र पहिल्यैदेखि रहेको विश्वासजस्ता विभिन्न कारण हुन सक्छन् ।

कुनै अनुभव व्यक्तिका लागि निकै वास्तविक र भयावह हुन सक्छ । तर, त्यसलाई मात्रै आधार बनाएर अलौकिक शक्तिको अस्तित्व पुष्टि भने हुँदैन ।

बीबीसीबाट

स्लिप प्यारालाइसिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय