+
+
Shares

६ मंसिरमा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ७:५०

२० कात्तिक, जनकपुरधाम । मिथिलाको भाषा, दर्शन, संस्कृति र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले राजर्षिजनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ आयोजना हुने भएको छ ।

आगामी ६ मंसिर बिहान ११ बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने उक्त कार्यक्रममा मिथिलाको प्राचीन सभ्यता, समृद्ध बौद्धिक परम्परा, दार्शनिक चिन्तन, सांस्कृतिक चेतना तथा कलात्मक पहिचानका विविध पक्षमा गहन छलफल तथा विचार–विमर्श गरिने छ ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समेत सहभागी हुने आयोजकले जनाएको छ ।

वरिष्ठ मिथिला चित्रकार एससी सुमनले मिथिलाको कला, संस्कृति तथा सम्पदाका विविध पक्षमा आफ्नो विचार प्रस्तुत गर्ने छन् ।

राजर्षिजनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबीचको प्राज्ञिक सहकार्यलाई थप सुदृढ बनाउँदै मिथिलाको गौरवशाली इतिहास, भाषा, दर्शन, संस्कृति र कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले यो संवाद शृङ्खला सुरु गर्न लागिएको हो ।

मिथिलाको सभ्यता र सांस्कृतिक पहिचान नेपालको अमूल्य सम्पदा भएकाले यसको संरक्षण, अनुसन्धान, अभिलेखीकरण र पुस्तान्तरणमा विश्वविद्यालयहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको छ ।

यस शृङ्खलाले प्राज्ञिक विमर्श, सांस्कृतिक अन्तरक्रिया तथा ज्ञानको आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्नुका साथै मिथिलाको बौद्धिक र सांस्कृतिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी, संस्कृतिकर्मी, कलाकार तथा मिथिला सम्पदाप्रेमीहरूको सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?